मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान हस्तान्तरण गर्नुभएको छ । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्दै उहाँले विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु प्रदान गर्न प्रदेश सरकार सचेत रहेको र विपद्को समयमा पनि जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील छ भन्नुभयो । मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको जानकारी दिँदै उहाँले सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसेको र डेङ्गु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा लम्पी स्किन रोगबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपायमा असर परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुरेश राउतले विपद् व्यवस्थापनका लागि मन्त्रालयले योजनाबद्ध काम गरिरहेको जानकारी दिनुभयो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङका अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनिबेला हुनसक्ने आगलागी नियन्त्रण एवं रोकथाम गर्न मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने नगर प्रमुख मादेनले उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?