विद्यार्थीलाई सामाजिक विविधता बुझाउन जातीय भेषभुषामा पढाइ (तस्वीरसहित)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । सोमबार (आज) बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो ।
विद्यार्थीहरु आआफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा विद्यालयमा बोलाएको थियो ।

विद्यालयले कक्षा ७ का विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषय अन्तर्गत सामाजिक विविधता बुझाउन जातीय पहिरनमा विद्यार्थीहरुलाई हप्ताको एक दिन मौलिक जातीय पहिरनमा विद्यालयमा बोलाउने गरेको जनाएको छ ।

शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, विभिन्न जातजातिको भेषभुषा, रहनसहन र कला संस्कृतिको बारेमा पढ्दै/पढाउँदै आएको प्रधानाध्यापक बिमल शर्माले बताउनुभयो ।

विद्यालयको यो प्रयासले सामाजिक विविधता, कला, संस्कृति, रहनसहन, पहिरनबारे बालबालिकालाई बुझाउन सहज भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हामीले पाठ्यक्रममा भएको कुरा पढाउँदा मात्रै भन्दा प्रत्यक्ष देखाएर, विद्यार्थी आफैलाई आफ्नो पूर्खा, कला, संस्कृतिबारे भन्न लगाएर पढाउँदा मजाले बुझ्छन् । सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्छ ।”

यसले विद्यार्थीबीच एक अर्काको भाषा, कला, संस्कृति, पहिरन र सामाजिक विविधताबारे जानकार मात्रै नभएर सम्मान गर्न सिकाउने प्रधानाध्यापक शर्माको भनाइ छ ।

कार्यक्रमको दिन जातीय पहिरनमा भएको विद्यार्थीलाई पूर्खालाई सम्झेर मौनधारण गर्न लगाउनुका साथै आफ्नो जाति, संस्कृति, कला, भाषाबारे जानकारी दिन लगाउने गरिएको छ । दुई अथवा तीन पिरियडमा सुन्ने/सुनाउने कक्षापछि सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।
विद्यालयको यो कार्यक्रमले विद्यार्थीमा आफ्नो भाषा, संस्कृति, पहिरनबारे चासो तथा प्रेम बढाएको प्रधानाध्यापक शर्माले बताउनुभयो । अन्य दिन विद्यार्थीलाई विद्यालयमा मोबाईल फोन ल्याउन प्रतिवन्ध गरिएको छ । तर जातीय भेषभूषामा आउने कार्यक्रमको दिन विद्यार्थीलाई कक्षामा केही समय मोबाइल हेर्न र तस्वीर खिच्न समेत अनुमति दिएको छ ।

प्रधानाध्यापक शर्माले भन्नुभयो “विद्यार्थी खुशी हुन्छन्, विविधता सहितको फोटो खिच्छन् भनेर यो दिन चाँहि मोबाईल फोन ल्याउन दिएका छौं” ।
“हामीले विभिन्न मञ्चमा हामी प्रस्तुतिका लागि मात्रै बालबालिकालाई पस्कने गर्छौं तर विद्यालयमै पहिरनको व्यवस्था भएपछि उनीहरूमा आफ्नो संस्कृतिप्रति पनि चासो बढ्छ,” सामाजिक विषयका शिक्षक विकल सेनले भन्नुभयो “आफ्नो भेषभूषाप्रतिको चासो र महत्व पनि यसले बुझाउन सघाउँछ ।” हप्तामा एक दिन विद्यार्थीहरुलाई मौलिक पोशाकमा बोलाइने गरिएको शिक्षक सेनले बताउनुभयो ।

मगर भेषभूषामा सजिएर आएकी ७ कक्षामा अध्ययनरत इन्द्रा गुरुङले जातजातिको पहिरनले आफ्नो धर्म संस्कृतिप्रतिको मोह बढाउने बताउनुभयो । ”हामी नेपाली हौं, नेपालका धर्म संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो,“ उहाँले भन्नुभयो ”जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।”

त्यसैगरी सोही कक्षाका पवन बूढाथोकीले आफ्नो भेषभूषाप्रति गर्व रहेको बताउनुभयो । उहाँ दौरा, सुरुवाल, कोट र टोपीमा सजिएर आउनुभएको थियो ।

महिनाको अन्तिम सोमबार र शुक्रबार विद्यार्थीका लागि संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । अन्य दिन नेपाली बोले जरिवाना गर्ने विद्यालयले यो दुई दिन भने नेपाली भाषा बोल्न छुट दिएको छ । हाल सबैजसो विद्यार्थीले जातीय पोसाक लगाउने गरेको र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल शर्माले बताउनुभयो ।

विद्यालयमा गुरुङ, तामाङ, मगर, क्षेत्री, बाहुन, दलित, नेवार, भुजेललगायत जातजातिका विद्यार्थी पढ्छन् । विद्यालयमा चार सय ५० विद्यार्थी रहेका विद्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?