एसपी थापा नेतृत्वको टोलीले अघि बढायो सुन प्रकरणको छानविन

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिनुभयो । ‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु भएको छ, आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ,’ उहाँले भन्नुभयो । आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताउनुभएको थियो । हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो । भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजस्व विभागले बरामद गरेको थियो । यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये एकजनालाई हाजिर जमानीमा छाडेको थियो । यो प्रकरणमा राजस्व छली मात्रै नभएर संगठित अपराध र अन्तरदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिनुभएको थियो । निर्देशनसँगै अनुसन्धानको मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बुझाइएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको हो ।

सुन तस्करीको निष्पक्ष छानविन हुनेमा विश्वस्त छैनौँ : पन्त
नेकपा (एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफूहरू विश्वस्त नभएको बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाँले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नै विश्वास नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताउनुभयो ।

उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि । प्रचण्डजीले जतिसुकै ठूलो कुरा गरे पनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन । राजस्वले राम्रै छानविन गरेको थियो । हामीले संसद् बन्द गरेपछि सिआइबीलाई दिने निर्णय भयो । त्यो पनि ठिकै छ । एउटा उच्चस्तरीय छानविन समिति बनाए भयो नि । राजस्वको छानविन पनि जारी रहन्छ । सिआइबीले गर्ने छानविन पनि जारी रहन्छ । अर्को एउटा कसरी सुन तस्करी रोक्ने भन्ने एउटा नीतिगत निर्णय पनि गर्नुपर्ला । सुन तस्करी सदाका लागि हाम्रो एयरपोर्टबाट तस्करी हुन कसरी रोक्ने भन्नेकुराको लागि पनि त छानविन आयोग बनाउँदा के बिग्रिन्छ र ?’

उहाँले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताउनुभयो । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनु मात्रै भएको उहाँले टिप्पणी गर्नुभयो ।

छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताउनुभएको छ । उहाँले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद् ठप्प गर्नु हुँदैन हामी छिटोभन्दा छिटो संसद् खोल्न चाहन्छौँ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त । त्यो छानविनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला । तर, अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि । बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न सकियो । सकिसकेपछि अनि आवश्यक परे उच्चस्तरीय बनाए हुन्छ ।’ उहाँले संसद्मा धेरै विषयहरूमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद् ठप्प पार्नु नहुने बताउनुभयो । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद् खोल्नका लागि पहल भइरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?