पक्षवर्णसने तु राजा भर्ता स्त्रिया मतः

Read Time = 16 mins

✍️ मणि शर्मा
सन् १९५७ मा प्रकाशित भारतीय साहित्यकार कृष्ण चन्दरको एउटा व्यंग्यात्मक उपन्यास ‘एक गधे की आत्मकथा’ आएको थियो । उक्त उपन्यासमा समाजको विभिन्न पक्षमाथि व्यंग्य गरिएका कथाहरू छन्, जसमा सुन्दरी प्रतियोगितामाथि पनि व्यंग्य छ । सुन्दरी प्रतियोगितामा बुद्धिको पनि परीक्षा गरिन्छ तर त्यो देखावटी हो । अचेल त सुनिन्छ कसलाई सुन्दरी घोषणा गर्ने हो त्यो पूर्वनिर्धारित नै हुन्छ । सबै सेटिङ हुन्छ । एउटा पुस्तकालयको मालिकले आफ्नो पुस्तकालयमा भएका सबै पुस्तक, जसमा शेली, शेक्सपियर, प्लेटो, सुकरात, पाश, खलील जिब्रान आदिका पुस्तकहरू सडकमा फालेर त्यहाँ फलफूलको पसल खोल्न फलफूलहरू राख्न लागेको देखेर एउटा गधाले ती पुस्तकहरू बोकेर लग्न खोज्छ ।

यो देखेर पुस्तकालयको मालिकले आफ्नो नोकरलाई बोलाएर गधाले बोकेकालगायत सडकमा भएका सबै पुस्तक एउटा लरीमा राखेर पशु बजारमा लगेर बेच्न भन्छ । नोकरले मालिकको आदेशको पालन गर्दै साँझसम्म सबै पुस्तकहरू लरीमा गधाबाट लोड गराइसकेपछि गधालाई लात्तले हानेर लखेट्छ । गधाले सोच्छ, जुन शहरमा पुस्तक र महापण्डितहरूको अपमान हुन्छ त्यो शहरमा बस्न हुँदैन । ऊ त्यो शहर छोडेर जान लाग्छ ।

यही गधा एकदिन सुन्दरी प्रतियोगिताको जज भएर जान्छ । उसले त्यहाँ देख्छ कि सुन्दरी प्रतियोगितामा आएका सुन्दरीहरूको शिरदेखि पाउसम्म सबै अंगहरूको विभिन्न कथित विज्ञहरूले नाप लिइरहेका छन् । अन्तिममा जब जजको हैसियतले विजेता सुन्दरीको घोषणा गर्न जान्छ तब उसले भन्छ ‘महिला तथा सज्जनवृन्द, यस अवसरमा भारतका कुना कुनाबाट सुन्दरीहरू सौन्दर्य प्रतियोगितामा भाग लिनका लागि यहाँ आएका छन्, यसमा मलाई खुशी लागेको छ, तर दुःख ती सुन्दरीहरूका लागि छ जसले कारणवशः यस प्रतियोगितामा भाग लिन सकेनन् ।

म एक गधा हूँ, यस कारण मेरो स्पष्टोक्तिका लागि क्षमा चाहन्छु, स्पष्टरूपमा भन्दा मलाई दुःख ती मजदुर स्त्रीहरूको छ, जो दुई बच्चाकी आमा हुन र कानपुर टेक्सटाइल मिलमा काम गर्छिन् । दुई बच्चाकी आमा हुँदा हुँदै उनी यति सुन्दर छिन कि यदि उनले यो प्रतियोगितमा भाग लिएकी हुन्थिन् भने तपाईंहरू तीन छक पर्नु हुन्थ्यो । तर, उनले यो प्रतियोगितामा भाग लिन सकिनन्, किनकि उनी दुई बच्चाकी आमा हुन् । यहाँसम्म आउनका लागि न त उनीसँग समय थियो न त पैसा ।

उनीसँग यो सुन्दरी प्रतियोगितामा भाग लिन प्रवेश शुल्क पच्चीस रुपैयाँ पनि थिएन । मानिलिनुस् कि कुनै तरिकाले उनी रुपैयाँको प्रबन्ध गरेर यहाँसम्म आइहालिन् र यहाँ सुन्दरी प्रतियोगिताकी ‘रानी’ चुनिन्थिन् र लस एनजेल्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि प्रश्न उठी रहन्थ्यो किनकि उनका दुई बच्चालाई लस एन्जेल्सको भ्रमण कसले गराउँथ्यो ? यदि उनले बच्चाहरूलाई यहीँ छोड्थिन भने उनीहरूको खानपिन कसले गराउँथ्यो ?

म एक स्वर्गीय धोबीको गधा हूँ । मेरी मालिक्नीका दुई मायालु बच्चाहरू छन् । उनी यदि झुक्किएर यहाँ आइन् भने तपाईंहरू सबै आदरवश उठनु हुनेछ र एकमतले उनलाई भारतकी रानी उपाधि दिन राजी हुनु हुनेछ । तर, दुःखको कुरा उनले यो प्रतियोगितामा भाग लिन सकिनन् । तर, दुःखको कुरा उनी यति बेला लुगाहरू धोइरहेकी होलिन्, यस्ती केटीका लुगा जो स्वयं यस प्रतियोगितामा उपस्थित छिन् । मेरो आशय यस प्रतियोगितामा उपस्थित सौन्दर्यको बदख्वाइँ गर्नु होइन ।

मलाई माफ गर्नु होला, यो सिविल लाइन र माल रोडको सौन्दर्य हो । यो सौन्दर्यले कहिल्यै पनि भोको बस्नु परेन, कहिले दुःख देखेन, कहिल्यै फाटेको लुगा लगाउन परेन । कहिले सडकमा रोएनन् । यो खुला हावाको सौन्दर्य होइन । यो त एउटा सुन्दर झालरमा बलिरहेको मैनबत्तीको सौन्दर्य हो ।

के यो भारतको सौन्दर्य हो वा त्यो सौन्दर्य जुन यमुना घाटमा लुगाहरू धुन्छन्, तोरीबारीमा गीत गाउँछन्, जो उखुको रस निकाल्छन् र कालो खुर्सानीको लहरामा ताजा फल टिप्छन् । जो मानिसको प्रेम र परिश्रमले उत्पन्न हुन्छ । ती सौन्दर्यको मूल्यलाई मूल्यांकन नगरिकन, त्यसको महानतालाई नबुझिकन के सौन्दर्य प्रतियोगिता अधुरो रहँदैन ? म सौन्दर्यको मूल्यांकन गर्ने यो परिपाटी नै गलत भन्ने ठान्दछु । एउटी महिलाको सौन्दर्य उसको व्यवहारबाट चिनिन्छ । यो व्यवहार जसको सम्बन्ध उनी आफैँसँग मात्र होइन, उसको घरसँग, उसका बच्चाहरूसँग, उसको कारखानासँग, उसको खेतसँग छ ।

स्त्री सौन्दर्य कुनै शून्यमा राखिने वस्तु होइन कि हामीले उसलाई स्त्रीको वातावरणसँग अलग राखेर, एउटा स्वीमिङ पुलमा उभ्याएर, त्यसलाई नाप जाँच गरेर सुरु गरिदियौँ । सौन्दर्यलाई शून्यमा नाप्न सकिँदैन । मलाई यो देखेर आश्चर्य लाग्छ, तपाईंहरू यस सौन्दर्य प्रतियोगितामा कान त हेर्नुहुन्छ तर त्यो आवाजलाई सुन्न सक्नुहुन्न जुन त्यो कानको भित्र जान्छ । तपाईं आँखालाई त देख्नुहुन्छ तर आँखाको लज्जालाई हेर्नुहुन्न, छातीको उभारलाई त हेर्नुहुन्छ, त्यसभित्र लुकेको आमाको ममतालाई देख्नुहुन्न ।

वास्तविक सौन्दर्य कुनै ठूला विज्ञापनकर्ताका दासहरूको बजारमा बिक्री हुने चीज होइन, जहाँ तिघ्रा, पिडौंला नापिन्छ, छातीको उभारलाई जाँचिन्छ र कम्मरको मासुलाई तौलिन्छ र स्वीमिङ पुलको किनारैकिनार बाजाका तिखा धुनहरूका साथ सक्कली दाँतका मञ्जनवालाहरू र नक्कली दाँतका सेट बेच्नेवालाहरू, नङ काट्ने र नङ बनाउने यन्त्रवालाहरू, रौं सफा गर्ने पाउडरवालाहरू, कपाल बढाउनेवालाहरू, अग्लो एडीवालाहरू र तल्लो बुद्धिवालाहरू सबै आआफ्ना वस्तुहरूको विज्ञापन गर्ने गर्छन् । यस कारण म तपाईंहरूलाई भन्छु कि तपाईंहरूको यो सौन्दर्य प्रतियोगिता एकदमै फ्रड हो, धोका हो, जालसाजी हो र बेइमानी हो । यसका बारेमा मेरो फैसला यही हो ।’

कृष्ण चन्दरले पैंसट्ठी वर्षअगाडि लेखेको यो कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । पुँजीवादी समाजमा केही पाउनलाई केही दिनुपर्छ र कहिलेकाहीँ दिँदा पनि पाइँदैन । यस्ता महिलाहरू जो सुन्दरी प्रतियोगिता, ब्युटी प्लेजेन्ट, मोडलिङ, ग्लैमर आदिको दुनियाँमा आउँदा केही न केही सम्झौता दुबै पक्षमा हुने गर्छ भन्ने सबैलाई थाहा छ । तैपनि आउँछन्, सम्झौता गर्छन् । कहिलेकाहीँ सम्झौताअनुसारको फल नपाउँदा सौदाबाजी हुन्छ । सौदाबाजी मिले ठीक न मिले एक दशक बितेपछि पनि बलात्कारको मुद्दा दायर गरिन्छ । यसको विकृति गाउँ समाजमा पनि आएको छ विशेषगरी गरिबीले ।

सहमतिमा सहवास हुन्छ पछि सौदाबाजी अनि सौदाबाजी नमिलेपछि बलात्कार । यसमा आगोमा घिउ थप्नका लागि ग्राम ग्र्रामन्तरसम्म एनजिओका सञ्जालहरू छँदैछन् । जो वास्तवमा बलात्कृत हुन्छ त्यस्ताको मुद्दा अदृश्य शक्तिबाट परिचालित प्रशिक्षित कालो कपडावाला ग्याङले सडकमा उचाल्दैनन् । उनीहरूलाई जुन कामको लागि भाडामा लिएर प्रशिक्षित गरिएको छ, प्रायोजकको निर्देशनअनुसार कसलाई बलात्कारी भनेर हाइलाइट गर्ने त्यसैलाई गर्ने गर्छन् । यो कुनै स्वतस्फूर्त ग्याङ होइन । निर्मला पन्तहरू जस्ताको बलात्कार तथा हत्या वा राष्ट्रघात वा मूल्यवृिद्ध तथा महँगीको मुद्दामा यिनीहरू सडकमा आउँदैनन् ।

मोदी आएर लुम्बिनीमा दलाई लामाको गुम्बा शिलान्यास गर्नु, तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री उज्रा भारतमा गएर दलाई लामालाई भेटेर यहाँ आएर तिब्बती शरणार्थीहरूलाई भेट्नु, एमालेले विनाशर्त सदन सुचारु गर्न दिनु, अमेरिकाले फ्रि टिबेट सपोर्ट एक छ २०२२ सदनबाट अनुमोदन गरेर चीनविरुद्ध तिब्बत आन्दोलन नेपालमा गर्न छुट दिन दबाब दिनुसँग कतै यो काले कपडेवालीहरूलाई कथित बलात्कार मुद्दामा युरो र डलरबाट चल्ने अधिकांश मिडियाहरूलाई परिचालन गरेर जनताको ध्यान बाँड्ने उद्देश्य त छैन ? एमसिसीको विरोध प्रदर्शन हुँदा यी काले कपडेवाली कहाँ थिए ?

सन् २०२० मा दिल्लीको शाहीन बागमा यस्तै खाले मुस्लिम महिलाहरूको ग्रुपले नागरिकता संशोधन विधेयकको विरुद्ध यस्तै शैलीमा गरेको विरोध कार्यक्रम भारतका अन्य राज्यमा फैलिएपछि सुप्रिम कोर्टले सार्वजनिक स्थलमा विरोध प्रदर्शन गर्न रोक लगाएको थियो र प्रहरीलाई बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई हटाउन निर्देश दिएको थियो । तर, यस्ता प्रदर्शनहरूमा नेपालमा सरकारकै अदृश्य समर्थन रहन्छ । आइएनजिओहरूले अहिले प्रचलित कानुन जो स्वयं धेरै कडा छ यसभन्दा पनि कडा बनाउन गगन थापाहरू जस्ता सांसदहरू र पृष्ठबाट सत्ताको र अगाडिबाट एनजिओको बागडोर सम्हालेकी आरजु राणाहरूलाई प्रयोग गरिरहेका छन् ।

हाम्रो धर्मशास्त्र मनुस्मृतिमा भनिएको छ (पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । रक्षन्ति स्थाविरे पुत्राः न स्त्रि स्वातन्यत्र्मर्हति ।। सनातन धर्मावलम्बी विद्वानहरूले गरेको यसको व्याख्या यहाँ दिए महिला स्वतन्त्रता विरोधी कहलिनेछु, त्यसैले एकजना विदेशी विद्वान टेरी ब्रायनले उनको पुस्तक ‘एसेन्सियल टिचिङस अफ हिन्दूइजम’ मा यस श्लोकबारे गरेको व्याख्या यहाँ उदृत गर्न चाहन्छु, हिन्दू धर्ममा एउटी महिलाको रेखदेख यसकारण गरिन्न किनकि ऊ अक्षम वा असमर्थ छे, बरू यसविपरीत यस कारण गरिन्छ कि किनकि ऊ अमूल्य छे । ऊ समाजको शक्ति र गौरव हो ।

जसरी श्रीपेचको आभूषणहरूलाई विनासुरक्षा छोड्नु हुँदैन, त्यस्तै कुनै पनि महिलालाई पनि असुरक्षित छोड्नु हुँदैन । यदि हामीसँग महँगा गहनाहरू छन् भने हामीले त्यसलाई पित्तलका भाँडाहरू झैँ यताउता फाल्दैनौं बरु उसलाई सुरक्षित राख्छौं । मनुस्मृतिको ‘नारी स्वातंत्र्यमर्हति’ को बारेमा उनले लेख्छिन् ‘महिला दासी हो भनेर यसमा भन्न खोजिएको होइन । यसको सट्टा जब ऊ सानी हुन्छे तब उसलाई पिताको संरक्षणको आवश्यकता हुन्छ, जब ऊ विवाहिता हुन्छे तब उसलाई पतिको सुरक्षाको आवश्यकता हुन्छ, जीवनको अन्तिम मोडमा आउँदा पति पनि अन्तिम मोडमा पुगेका हुन्छन्, त्यसबेला उनी आफैं आफ्नो रेखदेख गर्नुपर्ने स्थितिमा हुन्छिन् ।

त्यसैले उनको रेखदेख गर्ने जिम्मा छोराहरूको हो । अर्को शब्दमा भन्नुपर्दा महिलाहरूको रेखदेख गर्ने जिम्मेवारी पुरुषहरूको हो ।’ नारद स्मृतिमा भनिएको छ ‘पक्षवर्णसने तु राजा भर्ता स्त्रियाँ मतः’ यदि महिलाको दुवै पक्ष पति र पितृगृहमा कोही पनि रक्षा गर्नेवाला छैनन् भने उसको रक्षा गर्ने जिम्मा राजाको हो ।’ अर्थात् राज्यले महिलाको सुरक्षाको जिम्मा लिनुपर्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
अयोध्या प्रसाद श्रीवास्तव
अयोध्या प्रसाद श्रीवास्तव
2022-05-30 10:15 am

ज़बरदस्त लेख

रिलेटेड न्युज

छुटाउनुभयो कि ?