लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको बिरोधमा आजको दिनलाई देशभर कालो दिवसका रूपमा मनाइँदै छ ।

वि.सं. २०१७ पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवात गर्नुभएको थियो ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला वि।पि। नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बीपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रहबाहेकका साहित्यको रचना गनुृभएको थियो । ‘दोषी चश्मा’ कथा संग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो ।

पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिनुभएको थियो ।

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बीपी संग्रहालयका रूपमा घोषणा गरिएको छ । संग्रहालयमा बीपी एवं यहाँ राखिएका नेताहरूले जीवनमा प्रयोग गरेका महत्त्वपूर्ण चीजबीच प्रदर्शनमा राखिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालयको मुख्य भवन पुनःनिर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । संग्रहालयलाई पुरातत्व विभागले पुरानै स्वरूपमा पुनःनिर्माण सम्पन्न गरेको जनाइएको छ ।

पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुणदललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?