सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।

उहाँले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार अपरान्नदेखि परेको अविरल बर्षाले देशका बिभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

उहाँले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभएको छ । अविरल बर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको छ ।

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिनुभयो । निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अबरुद्ध बनेको छ । अबरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धीत क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिनुभएको छ ।

मकवानपुरको वाग्मती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङतानको निधन भएका थियो । बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले पनि चार राष्ट्रिय राजमार्ग ठप्प रहेको सडक विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?