सुनचाँदीसम्बन्धी मापदण्ड जारी गर्न आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुनचाँदी व्यवसायमा आबद्ध तीनवटा महासंघले सुनचाँदी व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड तयार गरी लागू गर्न माग गरेका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुनचाँदी व्यवसायका समस्याबारेमा जानकारी गराउँदै समस्या समाधानको पहलका लागि आग्रह गर्न मंगलबार महासंघहरूको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघमा आबद्ध व्यवसायीले संयुक्त रूपमा यस्तो आग्रह गरेका हुन् । सो अवसरमा समितिका सभापति रणेन्द्र बराइलीले व्यवसायीतर्फबाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सुनचाँदी व्यवसायीका समस्या आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले स्पष्ट निर्देशिकाको अभावमा व्यवसायीले विभिन्न किसिमका समस्या झेल्नुपरेकाले निर्वाध रूपमा व्यवसाय सञ्चालनका लागि निर्देशिका आवश्यक भएको बताउनुभयो । सो अवसरमा प्रतिनिधिमण्डलले सुनचाँदी क्षेत्रको वृद्धि र विकासका लागि आवश्यक पर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा योजनाहरू लिपिबद्ध रूपमा प्रस्तुत गरेको थियो ।

ती योजनामा कच्चा सुनको आपूर्ति, बिक्रीवितरणको व्यवस्थापन, सुन, चाँदी र हिरा जवाहरात जस्ता खानीजन्य वस्तुको उत्खनन्, सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली र सोको व्यवस्थापनलगायतका विषय समेटिएको छ । उक्त भेटमा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य, पदाधिकारी समिति सदस्य रविन शाक्य, हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?