भीमदत्त राजमार्ग अझै खुलेन, पहिरो आउने क्रम नरोकिएपछि समस्या

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका–४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।

डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । सडक डिभिजन कार्यालय महेन्दनगरकाका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताउनु भयो ।

भीमदत्त राजमार्गमा अहिले पनि पहिरो हटाउने कार्य जारी छ । करिब १ सय मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर नरेश भट्टले पहिरो हटाउने काम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले पूर्ण रुपमा सडक सुचारु गर्न अझै केहि दिन लाग्न सक्ने बताउनुभयो । उहाँले आफु अहिले पनि पहिरो प्रभावित क्षेत्रमा रहेको जानकारी दिनुभयो । पहिरोले सडक अबरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आएका सवारी साधन धनगढी आउन सकेका छैनन् । धनगढीबाट छुटेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । केहि व्यक्तिहरू हिँडेरै गन्तव्यमा पुगिरहेका छन् भने केहि अझै अलपत्र छन् । सडक अवरुद्ध हुदाँ सवै भन्दा बढी समस्या विरामी तथा जेष्ठ नागरिकलाई भएको छ ।

पहिरोका कारण यहाँका ९ घरमा क्षति पुगेको छ । उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन् । स्थानीय राईटङ्क राई, वीर बहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे, ईश्वर घिमिरे, दिनेश आले मगरको घर क्षति भएको छ । अहिले पनि झरी परिरहेको हुँदा अझै क्षति हुन सक्ने भन्दै उनीहरु त्रसित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?