राहत व्यवस्थापन र तदारुकता

हिमालय टाइम्स
Read Time = 6 mins

देशमा केही न केही आपत्विपद् परिरहन्छन् । यो हामी कहाँमात्र होइन संसारका जुनसुकै राष्ट्रहरूमा पर्नेगर्छ । यस्तै विपद् हाम्रो देशको पश्चिम पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पर्न गएको छ । प्राकृतिक प्रकोप वा विपद्लाई कसैले टार्न सक्दैन सतर्कताबाट त्यसलाई कम गर्न भने सकिन्छ । विश्वका अति सम्पन्न राष्ट्रहरूमा समेत केही न केही यस्ता विपद् परिरहेको देख्नु र सुन्नु परिरहन्छ । समुद्री आँधी कहिले त सुनामी, भूकम्पलगायत अनेकौं प्रकारका दुर्घटना भइरहन्छन् । मानिसले प्रकृतिसँग सामान्यतया विजय हासिल गर्न सक्दैन । प्राकृतिक प्रकोपको प्रकृति, लाण र स्वरूप हेरेर त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । हाम्रो देशमा २०७२ सालमा महाभूकम्प गएको थियो ।

ठूलो संख्यामा मानिसहरूको हताहती भयो र घाइतेहरूको संख्या निकै बढी थियो भने भौतिक क्षति धेरै भयो । दश हजार मानिसको ज्यान गएको थियो भनिएको थियो । नेपालको पहिचानका रूपमा रहेको काठमाडौंको धरहरालगायत पुराना तथा ऐतिहासिक दरबार घर, मठमन्दिर भत्किए । मानिसका निजी घर धेरै संख्यामा भत्किनाले ज्यान गएको थियो । उक्त महाभूकम्पका पराकम्पन गणनामा पर्नेहरू नै हजारौंको संख्यामा महसुस भएको थियो र तिनका कारणले पछि पनि क्षति थपियो । यो प्राकृतिक विपत्तिको एउटा प्रतिनिधि घटना हो । भूकम्पमात्र होइन बाढी, पहिरो, हावाहुरी, चट्याङ, आगलागी, चक्रवात जस्ता अनेकौं प्रकोप एकातिर हुनसक्छन् भने अर्कातिर रोगजन्य प्रकोप वा महामारी त्यक्तिकै क्षतिकारक हुन्छन् ।

बेलाबेलामा देखापर्ने गरेको बिफर, प्लेग, हैजा, औलो आदि जस्ता रोगले कुनै बेला विश्व आक्रान्त बनेको थियो भने पछिल्लो समयमा केही वर्ष पहिले मात्र कोरोनाको प्रकोप वर्तमानको सबैभन्दा ठूलो प्रकोपका रूपमा रहृयो । यसले विश्वभरि नै प्रभाव देखायो धेरै संख्यामा मानिसहरूको मृत्यु भयो । संक्रमित भएर बाँचेकाहरूको संख्या अझै धेरै छ । कोराना अझै निर्मूल भइसकेको छैन तर औषधिको विकास भएका कारण सुरुमा जस्तो भयग्रस्त मान्न छोडिएको छ । बझाङ केन्द्रबिन्दु भएर हालै गएको भूकम्प पनि सानो होइन । ६ रेक्टर स्केलभन्दा माथिकै हो, त्यसबाट हताहती भएको खबर सुन्नुपरेन । केही मानिस घाइते भए भने घरहरू पनि भत्किए ।

खाद्यान्न, लाउने लुगा, भाँडाबर्तनहरू भत्किएका घरका अवशेषमा पुरिन गएकाले दैनिकीमा असजिलोपन खडा हुन पुगेको छ । यस्ता प्राकृतिक विपद्मा परेकाहरूको उद्धार गर्न र राहत दिन सरकारको विपद् व्यवस्थापनसम्बन्धी निकाय छ । विभाग स्तरीय यस निकायले विपद् हुने सम्भावना भएका ठाउँ र क्षेत्रहरूमा त्यस्तो खतरा देखेमा सो हुन नदिन पूर्वतयारी, पूर्वसावधानी अपनाउँछ । तर, नेपालका सरकारी निकायहरूमा अन्यत्र जे-जसरी भरोसा छैन त्यसरी नै यस्ता निकायले सरकारी काम कहिले जाला घामकै नीति अवलम्बन गर्ने हुन् भन्ने जनमानसमा पर्न गएको छ । घटना हुन नदिन होइन घटना भइसकेपछि उद्धार र राहतमा केही कर्मकाण्ड पूरा गर्ने प्रचनल छ ।

यो परम्पराकै निरन्तरताका रूपमा नेपालमा चल्दै आएको छ । हालै बझाङमा गएको भूकम्पबाट धरै भौतिक क्षति भएको छ । हताहती नभए पनि घाइतेहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था सरकारले गर्नु मानवतामात्र होइन कर्तव्यभित्रै पर्दछ । भूकम्प प्रभावितलाई जतिसक्दो छिटो आवश्यक राहत दिने व्यवस्था हुनुपर्दछ । राहतको व्यवस्था हाम्रो देशमा भएका आजसम्मका यस्ता घटनालाई हेर्दा सुरुमा घोषणा मात्र गरिन्छ र कार्यान्वयन गरिँदैन । सरकारलेमात्र होइन निजी क्षेत्रबाट समेत यस्ता घोषणा एकपछि अर्को गरेर आउने गर्छन् ।

पछि विस्तारै त्यसलाई बिर्सने काम हुन्छ । दिए पनि आवश्यक समयमा नदिएर ढिलो दिइन्छ जुन बेलासम्म पीडितको कुनै व्यवस्थापन भइसकेको हुन्छ र राहतको त्यति धेरै आवश्यकता परेको अवस्था हुँदैन । सरकारी राहतमा प्रक्रिया नै जटिल र त्यसमा कर्मचारीहरूको ढिलासुस्ती, बद्नियत थपिन जाने भएकाले यस्तो हुने गरेको हो । प्राकृतिक प्रकोपमा परेकालाई राहतको व्यवस्था गर्दा छोटो र छिटो बाटोबाट तदारुकता अपनाउनु आवश्यक हुन्छ । यसो भयो भनेमात्र पीडितले राहत पाएको महसुस गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?