नवलपरासीमा दुई सय ४५ उद्योग व्यवसाय बन्द

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ४५ उद्योग व्यवसाय बन्द भएका छन् । बन्द भएका उद्योगमा वाणिज्यतर्फका एक सय ३३ र उद्योगतर्फका एक सय १२ रहेका छन् । सबैभन्दा बढी वाणिज्यतर्फका एक सय ३३ वटै व्यक्तिगत व्यवसाय रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जनाएको छ ।

उद्योगतर्फ सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ४५ र सेवामूलक उद्योग ४५ वटा बन्द भएको कार्यालय प्रमुख गंगाधर पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, उद्योगतर्फ बन्द हुनेमा २० उत्पादनमूलक र दुई पर्यटन उद्योग रहेका छन् । देशको अर्थतन्त्र चलायमान नहुनु र भएका उद्योग, व्यवसायमा लगानी सुरक्षाको वातावरण नहुनुले पश्चिम नवलपरासीमा पनि उद्योग दिनप्रतिदिन बन्द हुँदै गइरहेका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग व्यवसाय दर्तामा समेत कमी आएको छ ।

अघिल्लो वर्ष एक हजार चार सय पाँच उद्योग दर्ता भएकोमा गत वर्ष पाँच सय २७ नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा छ हजार छ सय ९३ साना र ५८ लघु गरी कुल सात हजार सात सय ५१ उद्योग रहेको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिनुभयो । दर्ता भएका उद्योगमा कृषि तथा वन पैदावरमा आधारित रहेको कार्यालयले जनाएको छ ।

उद्योग बन्द हुनु र नयाँ उद्योग दर्ता नहुनुमा आर्थिक मन्दी, युवाहरू विदेश पलायन प्रमुख कारण रहेको कार्यालय प्रमुख पाण्डेयको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अघिल्लो वर्ष प्रदेश सरकारले उद्योग दर्तामा लाग्ने शुल्कमा छुट दिएको थियो । अहिले छैन । यसले पनि उद्योग दर्तामा प्रभाव पर्न सक्छ ।’ कृषि तथा अन्य उद्योग व्यवसायमा युवा आकर्षण बढे पनि व्यावसायिक सुरक्षाको प्रत्याभूति नहुँदा पेशा, व्यवसाय दीर्घकालीन रूपमा अगाडि बढेको देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?