‘निर्माण कार्यको भुक्तानी रोक्नु राज्यको लाचारीपन’

हिमालय टाइम्स
Read Time = 4 mins

रोशी शर्मा/हिटा
काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले शंखरापुर नगरपालिकामा रामबहादुर स्याङ्वोको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । संघले काठमाडौं जिल्लाभित्रको एक महानगरपालिका र १० नगरपालिकामा संगठन विस्तार गर्ने योजनाअनुरूप शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको उपस्थितिमा शंखरापुर निर्माण व्यवसायी संघ गठन गरेको हो । सो अवसरमा मेयर नापितले संघमा आबद्ध सदस्यले निर्माण कार्य गुणस्तरीय र इमान्दारितासाथ समयमै सम्पन्न गरेमा नगरपालिकाले भुक्तानी गर्न ढिला नगर्ने बताउनुभयो ।

काठमाडौं जिल्लामा सक्रिय रहेका ६० जना निर्माण व्यवसायीबाट सुरु भएको संघमा हाल पाँच हजारको हाराहारीमा निर्माण व्यवसायी आबद्ध भएका कारण सबै निर्माण व्यवसायीहरू एकजुट गराई राज्यले चाहेको विकास निर्माणको गतिमा सक्रिय योगदान दिन संगठन विस्तार गर्नुपरेको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा अध्यक्ष कृष्णप्रसाद गौतमले बताउनुभयो ।

उहाँले राज्यले विकास निर्माणको जिम्मा निर्माण व्यवसायीलाई दिएको हुँदा इमान्दारिताका साथ कार्य सम्पन्न गर्दागर्दै पनि भुक्तानी दिन सक्दैनौँ भन्ने र निर्माण आयोजनाको काम गर्दागर्दै समय अभाव भएको अवस्थामा म्याद थप गरिदिन आलटाल गरेका कारण निर्माण व्यवसायी सडकमा आउन बाध्य भएको बताउनुभयो । राज्यको विकास निर्माण कार्य निर्माण व्यवसायीले आफ्नो जायजेथा बैंकमा धितो राखेर गर्नुपर्ने र निर्माण कार्य सम्पन्न भई बिल भौचर बुझाएको महिनौँ दिन बितिसक्दा पनि भुक्तानी नहुनु अत्यन्तै दुखद् भएको गौतमको भनाइ थियो ।

विश्वमा जति पनि विकास निर्माणका काम भएका छन्, त्यसका बाहक शक्ति निर्माण व्यवसायी नै भएकाले राज्यले निर्माण व्यवसायीका जायज माग आयोजनाको म्याद थप, निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी र सार्वजनिक खरिद ऐन १२औँ संशोधनलगायत सम्बोधन गर्नुपर्नेमा त्यसो नगरी निर्माण व्यवसायीलाई निर्माण कार्य छोडेर सडकमा आउन बाध्य बनाइनु राज्यको लाचारीपन भएको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङ (विजय)ले बताउनुभयो ।

निर्माण व्यवसायी भनेका निर्माणका खम्बा भएकाले राज्यले अन्याय गर्नु नहुने उपमेयर सविता श्रेष्ठ, प्रहरी प्रमुख फूलमाया घिसिङ, सिटिइभिटिइ शंखरापुरका सुमन श्रेष्ठले बताएका थिए । रामबहादुर स्याङ्वोको अध्यक्षतामा शंखर घलान उपाध्यक्ष, गोपाल ढकाल सचिव, प्रकाश लामा सहसचिव, रमेश लामिछाने कोषाध्यक्ष रहेका छन् । सदस्यमा हितमान तामाङ, राजकुमार घिसिङ, मानबहादुर वाइवा र कृष्ण घलान रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?