कालीकोट । आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएसँगै नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
"दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास" भन्ने मूल नाराका साथ २४ओैँ अन्तर्राष्ट्रिय युवा दिवस कालीकोटको सदरमुकाम मान्ममा पनि मनाइएको छ ।
जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले संयुक्तरूपमा आयोजना गरेकाे कार्यक्रममा सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको सहभागीहरूले बताएका छन् ।
युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको सहभागीहरूको गुनासो छ ।
सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।
साथै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । यद्यपि अझै पनि युवाका मुद्दाहरु सम्बोधन हुन सकिरहेको छैन् ।
शनिबार सदरमुकाम मान्ममा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बनेपनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उहाँले स्पष्ट पार्नुभयो ।
“युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित छ । त्यसैले योजना कार्यान्वयनमा कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “युवा सशक्तीकरण, आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले जुन मात्रामा प्रथामिकता दिनुपर्ने हो त्यो अझै पुग्न सकेको छैन् ।” उहाँले राज्यले पनि युवालाई प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।
आयोजक संस्था लिंगासैनि युथ क्लब कालीकोटका अध्यक्ष हिक्मतजंग मल्लले युवाका क्षेत्रमा माग गरिएका संरचना र कानून बनेपनि योजना कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।
नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ ।
“राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउनसक्नुपर्छ”, उहाँले भन्नुभयो, “राज्यले युवालाई जति सदुपयोग गर्न सक्यो त्यति नै चाँडै मुलुक निर्माण हुनसक्छ ।” राज्यले आगामी १० वर्षलाई युवा दशकका रुपमा मनाएर युवालाई परिवर्तन र राष्ट्रिय पुँजी निर्माणको सम्वाहकका रुपमा लैजानसक्नुपर्ने उहाँको सुझाव छ ।
राज्यले युवालाई लक्षित गरी उद्यम र स्वरोजगारका कार्यक्रम ल्याउन राज्यले ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । “धेरै होइन १० प्रतिशत युवामा मात्र सरकारले लगानी सुनिश्चित गर्ने हो भने मुलुक निर्माणमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।
यस्तै सञ्चारकर्मी तथा रेडियो प्रदेश आवाज कालीकोटका अध्यक्ष रतन बहादुर कार्कीले युवालाई नीति निर्माणको तहमा पुर्याउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताउनुभयो । उहाँले युवामैत्री राजनीतिक दलको संरचना बनाएर युवालाई नीति निर्माणको तहमा पुर्याउन आवश्यक रहेको समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष तथा रेडियो नेपाली आवाजका स्टेसन म्यानेजर नमराज योगीले युवा लक्षित नीति कार्यान्वयनमा सरकारी निकायले प्रभावकारी कार्यान्वयन गर्न नसक्दा युवाका मुद्दा जस्ताको त्यस्तै रहेको बताउनुभयो ।“नीति नियम र संरचना बन्नु ठूलो कुरा भएन । बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयन मुख्य कुरा हो”, उहाँले भन्नुभयो, “ती कार्यान्वयन नहुँदा युवा लक्षित कार्यक्रम युवामा पुग्न सकेको छैन् ।” उहाँले अहिले पनि युवाका मुद्दा कार्यान्वयन गर्न राज्य अलमल भइरहेको बताउनुभयो ।
यसैगरी आयोजक संस्था तथा किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले समाजमा भइरहेको विकृति र विसंगतिलाई न्यूनीकरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवाका समस्या समाधानका राज्यको ध्यान जान नसकेको समेत बताउनुभयो । “राज्यको चासो युवामा कति छ भन्ने कुरा वार्षिक बिनियोजित बजेटले देखाउनसक्छ उहाँले भन्नुभयो ।
यस्तै मानवअधिकारकर्मी एवम् नागरिक कार्य समूह कालीकोटका जिल्ला संयोजक कालीबहादुर मल्लले “सङ्घ, प्रदेश र स्थानीय तह तीनवटै सरकारले समन्वय गरेर युवालाई उद्यमशिलतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो । त्यसका लागि सहुलितयपूर्ण कर्जा र वित्तीयरुपमा साक्षर बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल बार एसोसिएसन कालीकोटका पूर्व अध्यक्ष एवम् कानुनी अधिवक्ता दमनराज बमले युवाका समस्या पहिचान भएपनि उजागर हुन नसकेको बताउनुभएको छ ।
उहाँले परिषद्ले युवाका सवालमा थुप्रै कानुन र कार्यक्रम ल्याएपनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा अझै सम्बोधन नभएको बताउनुभयो ।
यस्तै आयोजक संस्था दलित महिला संघ फेडो नेपालका केन्द्रीय कार्यालयका कार्यक्रम ब्यवस्थापक सुरेश बिश्वकर्माले फेडो नेपालद्वारा जिल्लामा गठन गरिएका समुह र पालिकामा लागु गरिएका परियोजनाले पनि दलित, महिला, र युवाले आफ्नो अधिकारको सुनिश्चितता गर्न पाएको बताउनुभएको छ ।
युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याएपनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न सकेको छैन् । अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको बिकले बताउनुभयो । युवाका कार्यक्रम छरिएर रहेकाले युवाका क्षेत्रमा काम देखिए पनि परिमाण आउन नसकेको उहाँको भनाइ छ ।
यस्तै दलित महिला संघ फेडो नेपाल कालीकोटका परियोजना अधिकृत रमेश नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा दलित अधिकारकर्मी तथा कार्यक्रमका सभाअध्यक्ष हजा सुनारले कालीकोटमा दलित, महिला र युवाका क्षेत्रमा फेडो नेपाल लगायत अन्य संघ संस्थाले विभिन्न किसिमका उपलब्धि मुलक काम गरिरहेको बताउनुभयो । राज्यले दलित महिला र पिछडिएका वर्गलाई उपेक्षा गरेपनि नेपालको आन्दोलन र क्रान्तिमा दलितहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा फेडो नेपालद्वारा सञ्चालित "हाम्रो आवाज, हाम्रो रोजाइ" कार्यक्रम अन्तर्गत जिल्लाका चारवटा पालिकामा गठित नागरिक कार्य समुहका पदाधिकारी जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज लगायत युवाहरूको बाक्लो सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच