बेनी-दरबाङ सडकको ठाउँ ठाउँमा पहिरो, यातायात अबरुद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी  । शुक्रबार रातीदेखिको लगातार वर्षाका कारण बेनी दरबाङ सडकको तीन ठाउँमा पहिरो गएपछि आइतबार (आज) बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भीर र दरबाङ नजिकैको बाङ्गेभीरमा पहिरो गएकोले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकोले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुनेहुँदा पश्चिम म्याग्दीका वासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताउनुभयो ।

१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका ६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

यसै गरि पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् । शनिवारदेखि लगातार पानी परिरहेकोले पश्चिम म्याग्दीको दरवाङ–बिम सडक बाहेक अन्य सडकहरु अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका २ रुमका बेलबहादुर विकले जानकारी दिनुभयो ।

बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उहाँले भन्नुभयो “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”

सडक अवरुद्ध भए पछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँहरुमा जाने यात्रु र यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका यातायात व्यवसायीहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?