अभिव्यक्तिका कारण लज्जित मेरो देश

Read Time = 20 mins

मौसम र समयले दिनलाई मात्रै प्रभाव पार्दैन, मानिसको मन-विचार र भावनालाई समेत प्रभाव पार्छ । दिन एकनास नभए जस्तै ती दिनहरूमा मन पनि एकनास हुँदैन । प्रकृति र मनबीच अन्योन्याश्रित सम्बन्ध र समानता हुन्छ । गर्मी-ठण्डी, लामा-छोटा दिन, वर्षा-झरीबादल आदिले प्रकृतिको परिवर्तनशीलतालाई प्रमाणित गर्दछन् । मन पनि प्रकृति सँगसँगै परिवर्तनशील छ । विषयवस्तुलाई सम्बन्धित व्यक्तिले कसरी नियाल्छ त्यसकै आधारमा आफ्ना विचार, भावनालाई मौखिक र लिखित रूपमा अभिव्यक्त गरिन्छ ।
व्यक्तिका अनुभव मौखिक, लिखितमा अभिव्यक्त हुँदा हामीले फरक-फरक शैलीमा सुन्न सक्छौं र फरकफरक शैलीमा पढ्न पाउँछौं । मौखिक र लिखित अभिव्यक्तिमा भिन्नता हुन्छ । लिखित भाषा मर्यादित र संयमित हुन्छ । मौखिक भाषामा शिष्टता, मर्यादा बारे धेरैले बेवास्ता गर्दछन् । त्यो बेवास्ताले व्यक्तिको योग्यता, सामाजिक स्तर, शालीनता र शिष्टताको परीक्षण गर्छ । त्यसैले दुवै लिखित र मौखिक अभिव्यक्तिलाई सभ्य समाजमा कसरी मर्यादित र स्तरीय बनाउने भन्ने चिन्तन हुन्छ ।

भाषाको शुद्धता, शिष्टता सभ्य समाजको परिचय हो । जीवनका धेरै वसन्त यस्ता अनुभव, अनुभूतिहरूको संकलनमा बित्छन् तर ती अनुभूतिको समीक्षा कति गर्छौं ? यो विषय व्यक्ति र घटना सापेक्ष हुन्छ । सबै घटनालाई सम्झन र टिप्पणी गर्न साध्य हुँदैन । टिप्पणी मन मात्रैले हुँदैन । मौखिक र लिखित अभिव्यक्ति कलाको आवश्यकता हुन्छ । अभिव्यक्ति कलासम्बन्धी पाठ्यक्रम हाम्रो शिक्षामा नहुँदा हाम्रो समाज औपचारिक अभिव्यक्ति कलाबाट शिक्षित र दीक्षित छैन । त्यसैले होला नेताहरूका लिखित अभिव्यक्ति शून्य प्रायः पढ्न पाउँछौं भने मौखिक अभिव्यक्तिमा पनि सभ्य र शिष्टताको नितान्त खडेरी देखिन्छ । तिक्तता, गालिगलोज, घोचपेच नेपाली नेताहरूको पहिचान बन्यो ।

यो असभ्यता र अपरिपक्वताको परिचय हो, अपरिपक्वताका कारण उनीहरूमा विषयवस्तु बुझ्ने क्षमता कम छ । जसले विषयवस्तु बुझिँदैन, उसले न व्याख्या गर्नसक्छ न समाधान दिनसक्छ । राजनीति, शिक्षा र समाजलाई यस कोणबाट नियाल्ने हो भने थुप्रै कमजोरी भेटिन्छन् । त्यस कमजोरीलाई स्वीकार गर्ने र आत्मसात गर्ने चरित्र नहुँदा वर्षौंसम्मको अभ्यासपछि सांसदको बोली-व्यवहारमा शिष्टाचारको खडेरी देखिन्छ । यो राष्ट्रिय बेइज्जती हो । मानिसको चारित्रिक विकासको प्रत्यक्ष सम्बन्ध भौतिक विकासमा पर्छ । भौतिक विकासको पूर्वाधार मानिसको चारित्रिक विकास हो । त्यसैले देश र समाजको परिस्थितिलाई सुधार्ने पूर्वाधारको रूपमा रहेको चारित्रिक विकासको अभावमा भौतिक विकास पूर्णतः असफल प्रमाणित भएको विषयलाई जिम्मेवारहरूले लाज नमानीकन स्वीकार्नुपर्छ ।

स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई म को हुँ ? कुन पदमा छु ? अहिले म कुन हैसियतमा र कुन विषयमा बोल्दै छु भन्ने न्यूनतम् ख्याल नभएको विषयले देशका सबै नागरिक लज्जित हुनुपरेको थियो ।

भारतीय मूलका ट्रक व्यवसायी सरदार प्रितम सिंहको विषयमा लेखिएको पुस्तकको विमोचन समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सार्वजनिक भएको अभिव्यक्तिले उनी अभिव्यक्ति कलामा कति कमजोर र अपरिपक्व रहेछन्, स्वयंले खुलासा गरे । यस्ता कार्यक्रममा प्रधानमन्त्री जान हुने वा नहुने छुट्टै बहसको विषय हुनसक्छ । एउटा भारतीय मूलको ट्रक व्यवसायीले मलाई प्रधानमन्त्री बनाउन बारम्बार प्रयास गर्ने क्रममा दिल्ली गए । देशभित्र पनि प्रधानमन्त्री बनाउने पहल बारे उनको प्रयासप्रति सार्वजनिक कार्यक्रममै आभार प्रकट गरे । नेपालको प्रधानमन्त्री बनाउन भारतीय राजनीतिको भूमिका रहन्छ भन्ने नेपाली राजनीतिप्रतिको सदावहार लाञ्छनालाई पुष्टि गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति दुर्भाग्यपूर्ण भन्नुपर्छ ।

स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई म को हुँ ? कुन पदमा छु ? अहिले म कुन हैसियतमा र कुन विषयमा बोल्दै छु भन्ने न्यूनतम् ख्याल नभएको विषयले देशका सबै नागरिक लज्जित भएको विषय लेख्नसमेत लज्जास्पद हुँदाहुँदै विषयवस्तुलाई प्रष्ट पार्न लेख्न बाध्य भएँ । नेपालको सार्वभौम संसद् र नेपाली जनताको स्वाभिमान र प्रतिष्ठासँग जोडिएको गरिमामय संसद्को यो हदको बेइज्जती सायद नै इतिहासमा भएको थियो, न भोलि पनि हुन सक्छ ।

सार्वभौम संसद्को बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री बनाउन प्रयास गरेको भनेर भारतीय मूलका ट्रकका ड्राइभरलाई सार्वजनिक कार्यक्रममा श्रेय दिनु भनेको सम्पूर्ण नेपाली जनता लज्जित हुनु हो । स्वाभिमानी नागरिकको रूपमा आफैंलाई नियाल्दा भने प्रधानमन्त्री स्वयंले लज्जानुभूति गर्नुपर्छ । देशको प्रधानमन्त्रीले आवेगमा, लहडमा वा भावुक भएर जनता, संसद् र देशको प्रतिष्ठालाई आघात पर्ने भाषा किमार्थ बोल्न पाइँदैन । बोली र गोली फिर्ता हुँदैन तसर्थ यो विषय पद त्यागबाहेक माफी दिने र लिने विषय राष्ट्रिय लज्जा हो ।

दुर्भाग्य के हो भने सम्माननीय प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्ति व्यक्तिगत हुँदैन । यस्ता विषयलाई पार्टीका कोणबाट मात्रै एकांकी दृष्टिकोण हुनेहरूले मर्म पहिल्याउने क्षमता गुमाएका हुन्छन् । जहाँ निहित स्वार्थ लुकेको छ त्यहाँ न्याय, निष्पक्षता, सत्य, नैतिकता र विवेक हराउँछ । निष्पक्षता, विवेक, सत्य र न्यायको शत्रु व्यक्तिगत स्वार्थ हो । नेपाली राजनीति र नेपाली समाजलाई नै व्यक्तिगत स्वार्थले प्रदुषित गरेको छ । राज्यका सबै निकायमा स्वार्थान्धको संक्रमण कहालीलाग्दो छ । राजनीतिमा व्यक्तिगत स्वार्थले राष्ट्रिय स्वार्थलाई अलपत्र पार्छ । अहिलेको राजनीति व्यक्तिगत स्वार्थको अगाडि राष्ट्रिय स्वार्थ लज्जवती भएको अवस्था हो ।

स्वार्थलाई एकछिन पन्छाएर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई स्वाभिमानी नागरिकको कोणबाट हेर्नुभयो भने सबै नेपाली लज्जित भएको स्वयंलाई अनुभूति हुन्छ । हुन त नेपाली राजनीतिको विशेषता लज्जाहीनता भएको छ । यदि लज्जित हुन जानेको भए र जवाफदेही हुने संस्कार र संस्कृतिको विकास भएको भए अहिले सत्तामा हुनेहरूमात्रै होइन प्रमुख प्रतिपक्षको नेतृत्व पंक्तिमा हुनेहरू पनि जेलमा हुन्थे । यहाँ निर्लज्जता, धोखाधडी, भ्रष्टाचारलाई राजनीति भन्ने र त्यसको आधारमा राजनीति गर्नेहरू राजनीतिज्ञ ठहरिने अवस्थाले राजनीतिमा निर्लज्जता, धोकाधड, भ्रष्टाचारजस्ता विषय अहिले राजनीतिको आदर्श र पर्यायवाची शब्द भएका छन् । सत्तामा र प्रतिपक्षमा सीमित दलबीच आलोपालो, गठबन्धनको संस्कृतिले विकृतिलाई ढाक्ने, सत्तारुढ हुँदा लुट्ने प्रवृत्ति, संस्कृति नै नेपाल र नेपालीको दुर्भाग्यको परिणाम हो । ठूला पार्टीहरूको संसद्मा भ्रष्टाचारको कारबाहीको स्वर र भाषा भ्रष्टाचार गर्ने अवसरबाट वञ्चित भएको असन्तुष्टि सिवाय विकृति रोक्ने चिन्ता र चासो हुँदै होइन ।

राजनीतिमा नैतिकता, इमानदारी, विवेक, ज्ञान, चेतनाको कति खडेरी छ भनेर यस्ता घटनालाई जोडेर समीक्षा र अनुसन्धान गर्ने हो भने हाम्रो राजनीतिले अध्ययन र अनुसन्धानका लागि अनगिन्ती विषय दिन सफल भएको छ । यसलाई उपलब्धि भन्ने कि ? असफलता भन्ने कि ? दुर्भाग्य ! प्रधानमन्त्रीको भाषणमा भएको त्रुटिलाई प्रमुख प्रतिपक्षी दलले सदनलाई अवरोध गर्नुपर्ने अवस्था भनेको प्रधानमन्त्रीको अपरिपक्वता र अविवेकको प्रमाण हो । प्रतिपक्षले सदन अवरोध सुधारको दृष्टिकोणले भन्दा प्रतिशोधको दृष्टिकोणबाट गर्ने अर्को रोग छ ।
यहाँ अनौठो के छ भने अनुचितलाई अनुचित भन्नेहरूसँग स्वार्थ छ । अनुचितलाई उचित भनेर मित्था तर्क गर्नेसँग निहित स्वार्थ हुनु स्वाभाविक हो । हाम्रो राजनीति फगत स्वार्थको टकरावमा छ न कि नीति, सिद्धान्तमा । विरोध गर्ने र समर्थन गर्नेको स्वार्थको माखेसाङ्लोमा र यस्तै अनुत्पादक विषयमा संसद् सधैं रुमलिएको छ । आफ्नाले जति गलत गरेपनि ठीक भन्ने संस्कार र अर्कोले राम्रो गरेको छ भने पनि त्यसलाई ठीक भन्न नसक्ने स्वार्थमा रुमलिएको राजनीतिमा सामान्य जनताले को ठीक र को बेठीक छुट्याउन नै नसक्ने अर्को दुर्भाग्यपूर्ण अवस्थाबाट नेपाली राजनीति गुज्रेको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बहालमा रहने मानिसले मैले बोल्न जानिन् भनेर सदनमा उभिएर जवाफ दिनुभनेको प्रधानमन्त्रीको राजनीतिक आत्मसमर्पण हो । पद पाउन र पद जोगाउन जे पनि बोल्ने, जोसँग मिल्ने चरित्रले राजनीति र राजनेताहरू इतिहासमै अविश्वसनीय बनेको विषय भ्रष्टाचारभन्दा खतरा रोग भयो । यो निष्ठाको र नैतिकताको लिलामी हो ।

भर्खरै सम्मानित राष्ट्रियसभामा भएको अर्को घटनाले पनि फेरि सबै नेपालीहरूको शिर निहुरिएको छ । खासगरी जीवनभर आफूले प्राध्यापन पेशामा बिताएको हुनाले विश्वविद्यालयमा अध्ययन गरेका मन्त्री र मानीयहरूको बौद्धिक क्षमताको यो हदको उपहास र लिलामी कल्पनाभन्दा बाहिरको विषय हो । यो कसरी घट्यो ? यसबारे शिक्षासँग सम्बन्धित सरकारका पेशेवर विज्ञहरूले समीक्षा, विश्लेषण, अनुसन्धानबाट अबको शिक्षा नीति कस्तो बनाउने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्ने देखियो । घटना हो मन्त्रीज्यूद्वारा राष्ट्रियसभामा पेश भएको विधेयक । विधेयकलाई कुनै सदनमा पेश गर्नुपूर्व त्यसबारे सम्बन्धित निकायका अधिकारीबीच मन्त्रीज्यूको उपस्थितिमा गहन छलफल हुन्छ ।

प्रधानमन्त्री, मन्त्री, माननीयहरू सबैको समय देशले किनेको छ । उनीहरू यदि योग्य छैनन् भने गरिब जनताको पसिनाबाट जम्मा भएको राजस्व तिनीहरूको पारिश्रमिक, भत्ता र सुख सुविधाका लागि किन खर्च गर्ने ? अब नागरिक तहमा यस्ता विषयमा छलफल हुनुपर्ने कि नपर्ने ?साक्षरता र सम्प्रेषण

त्यसपछि मात्रै विधेयक सदनमा प्रस्तुत हुन्छ । केही दिनअघि राष्ट्रियसभामा मन्त्रीज्यूले विद्युतीय विधेयक प्रस्तुत गर्नुभयो । त्यसअघि त्यसको विषयवस्तु बारे राष्ट्रियसभाका अध्यक्ष पनि जानकार हुनैपर्छ । राष्ट्रियसभामा विधेयक पेश गर्न अनुमति दिने र विधेयक पेश गर्ने दुवैले विधेयकको अध्ययन गर्ने उनीहरूको जिम्मेवारी र धर्म हो । प्रस्तुत विधेयक कसैले अध्ययन नगरेको कुरा मन्त्रीज्यूको अभिव्यक्तिले पुष्टि भयो । अध्ययन नगरिकन विधेयक पेश गर्ने अनुमति दिने अध्यक्ष, अध्ययन नै नगरिकन सदनमा विधेयक पेश गर्ने मन्त्री र बुझ्दै नबुझिकन छलफलमा भाग लिने माननीयलाई के भनेर सम्बोधन गर्ने ?

यसको छिनोफानोको जिम्मा पाठकलाई नै । राष्ट्रियसभाका अध्यक्ष, मन्त्री र माननीयहरूले गरेको विषयभन्दा बाहिरको छलफल कमजोरीमात्रै नभएर लापरबाही हो । यो दुर्भाग्यपूर्ण घटना हो । विधेयक पेश गर्न अनुमति दिने र पेश गर्ने र छलफलमा भागलिने सबैले विधेयकको विषयवस्तु नबुझ्नु आफैंमा आठौं आश्चर्य भन्नुपर्छ ।

उपल्लो सदनका बौद्धिक माननीयहरूले पनि विद्युतीय विधेय र विद्युतसम्बन्धी विधेयकको भाषा नै नबुझी छलफल गरे । हाम्रा जिम्मेवार कति क्षमताशून्य, विवेक शून्य छन् भन्ने कुरा सार्वजनिक मात्रै भएन प्रमाणित भयो । यो जघन्य लापरबाहीको विषय सदनमा उठेपछि दोषी को ? त्यसको छानविन र दोषी दण्डित किन नहुने ? कानुनी राज्यमा व्यक्तिको भन्दा कानुनको भूमिका बढी हुन्छ । कानुनको प्रयोगमा व्यक्ति निष्पक्ष, निर्मम हुनुपर्छ । यहाँ निष्पक्षता र निर्मम बन्ने क्षमता गुमाएका सरकारमा, प्रतिपक्षमा, सदनमा छन् ।

कानुनको निर्मम प्रयोग हुने बित्तिकै सबै दण्डित हुनुपर्ने अवस्थाका कारण जस्तोसुकै अपराध भए पनि दलका शीर्ष नेताहरू बीच कसैलाई कसैले दण्डित नगर्ने सहमतिका कारण अहिले राजनीतिमा हुनेहरू कोही दण्डित हँुदैनन् । विद्युतसम्बन्धी विधेयक र विद्युतीय विधेयकको बीचमा भिन्नताको ज्ञान नहुने मन्त्री र माननीयबाट विकास, समृद्धि र कानुनी शासनको यदि अपेक्षा जनताले गरेका हुन् भने यो अपेक्षा आफैंमा मुख्र्याइँ हो । यति विवेक र ज्ञानशून्यहरू मन्त्री र माननीय छन् भन्ने बुझेको प्रशासनले यी ज्ञान, विवेक र योग्यतामै प्रायः सधैं प्रश्नचिहृन लागेकालाई किन टेर्ने ? कसरी हाम्रो प्रशासन प्रभावकारी हुने ? अयोग्य राजनीतिज्ञ र योग्य प्रशाशक बीचको मतभिन्नता विकास र समृद्धिका वास्तविक बधक हुन् ।

प्रधानमन्त्री, मन्त्री, माननीयहरू सबैको समय देशले किनेको छ । उनीहरू यदि योग्य छैनन् भने गरिब जनताको पसिनाबाट जम्मा भएको राजस्व तिनीहरूको पारिश्रमिक, भत्ता र सुख सुविधाका लागि किन खर्च गर्ने ? अब नागरिक तहमा यस्ता विषयमा छलफल हुनुपर्ने कि नपर्ने ? सत्तामा जानु भनेको जे मन लाग्यो त्यही गर्ने, जे मनमा आयो त्यही बोल्न हो कि विवेक सम्मत काम र व्यवहार गर्नु हो ? यस्ता विषयमा नागरिक समाज किन मूक दर्शक ? नागरिक समाजका अगुवा पनि राजनीतिक पार्टीहरूको संकीर्ण घेरामा छन् । उनीहरू पनि निष्पक्ष र स्वतन्त्र छैनन् । पार्टीका आधारमा गलत मानिसलाई साथ दिने चरित्रले नागरिक समाजले आफ्नो गरिमा गुमाएको छ । राजनीतिज्ञहरूको अभिव्यक्ति र कार्यशैलीका कारण कहिलेसम्म जनता र देश लज्जित हुने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 Comment
  1. राम्रो पढाइ हुनेहरु नोकरी गर्न लाग्ने।हिजोका दिन पढाइमा असफलहुनेहरु र उदण्ड कृयाकलापमा संलग्न मध्ये अधिकांश ब्यक्तिहरु जतिराजनीतिमा लाग्ने। मुख्य कारण यही हो की।

  2. १ एकाङ्कीको सट्टा एकाङ्गी हो कि ?
    २ उस्तै उस्तै नाम राखे पछी बिचरा माननीय झुक्किनीनै भएन त।

  3. देवी सर! विजयबहादुर मल्लले लेखेकाे एउटा नाटकमा आफ्ना कक्षाका विद्यार्थीलाई मुर्कुटा देख्छ ।हाे,तिनै विद्यार्थी आज नेपालकाे स्थानीय तहदेखि सङ्घ तहसम्मै भरिएका छन् ।मल्लकाे पात्र प्राध्यापक थियाे र वास्तविक जीवलाई चिनाे ।हामी सर्टीफिकेट हाेल्डर प्राध्यापक भएका हुनाले मुरकुटा र मान्छे नचिनेर देशकै बेईज्जत भयाे भन्छाैं ।अस्ति,हिजाे,आज ज्यूँदा मूर्दाले बाेलेर गरेर विश्मा भएका कुनै देशकाे बद्नाम भएकाे छ ? पत्ता लाउनुस् त ।यसै नाटकमा अर्की पात्रा छे ।ऊ आफूलाई मूर्दाकी स्वास्नी हुँ भन्छे ।अर्की छ उसले मन पराएकाे बिरालाे पनि मर्छ,कुकुर पनि मर्छ त्यसै डरले उ कसैलाई पनि प्रेम गर्दिन ।याे देशमा अहिले मुर्कट्टा( टाउकाे काट्ने र काटिएका) काे राजछ ।अतः याे एउटा नाटक हाे, बेला आएपछि पटाक्षेप हुन्छ अनि अभिनय र दृश्य दुवै बन्द हुन्छन ।सपनाबाट ब्युँझेजसरी तपाईं हामी पनि दुलामा पस्छाैं् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?