भदौ महिनाका जात्रा तथा पर्व

Read Time = 26 mins

✍️ इन्द्रबहादुर शाक्य

भदौ १ गतेको दिनलाई पनौतीमा सबै स्थानीय व्यक्तिले पर्वका रूपमा मनाउँदछन् । १ गते ललितपुरमा रातो मत्स्येन्द्रनाथमा गुठी पूजा (सल्हू) संक्रान्ति पूजा गरी मनाइन्छ । षष्ठीको दिन आछाममा बल्के (पूजा) पर्व मनाइन्छ । षष्ठीका दिन कीर्तिपुरमा बाघ भैरव जात्रा गरिन्छ । भाद्रको अष्टमीका दिनमा कृष्ण यो पृथ्वीमा कसरी आए भन्ने बारे छोटकरीमा राख्न चाहन्छु । भारतमा यदुवंशी वसुदेव र देवकीको कोखबाट मथुराको गोकुल कारागारमा अष्टमीका दिनमा कृष्णको जन्म भएको थियो । यो समय द्वापर युगमा थियो । कृष्णका पिता र मातालाई कृष्णका मामा कंसले जेल सजाय दिइरहेका थिए ।

त्यहीबेला देवकीले कृष्णलाई जन्म दिनुभएको थियो । उहाँले बाल्यकालदेखि नै अनेक विचित्र लीला देखाउनुभयो । मामा कंसको बध गरी जेलमा बस्नुभएका बाबु र आमालाई मुक्त गरिदिनुभयो । महाभारतको युद्धमा पनि कृष्णले सफल भूमिका खेलेर अधर्मको राज्यलाई हटाइदिनुभयो । कृष्णले पाण्डवहरूलाई साथ दिएर त्यस युद्धमा विजय प्राप्त गरेको थियो । कृष्णले टाउको काटिदिएपछि आकाशमा बसेर महाभारतको युद्ध हेरेका हुनाले यलम्बरको नाम आकाश भैरव रहन गयो । काठमाडौंको इन्द्रचोकमा उनलाई देवताका रूपमा स्थापना गरी राखिएको छ । यस मूर्तिको दिनहुँ पूजा गरिन्छ ।

कृष्णका तीनवटी श्रीमती छन्, जसको नाम रुकमनी, जामुना र सत्यभामा हो । तीनैजना नारी वीर थिए । सत्यभामा र कृष्ण मिलेर १६ हजार नारीको उद्धार गरिएको थियो । कृष्णको महिमा अपरम्पार छ । यसलाई सम्झेर कृष्ण जन्माष्टमी मानिन्छ । कृष्णजन्माष्टमीको भोलिपल्ट कृष्ण पूजा ललितपुर नगरभित्र मात्र हुन्छ । नगरभित्र जति पनि स्थापित कृष्ण भगवानका मूर्ति छन् ती ठाउँहरूमा परिक्रमा गरेर पूजा गरिन्छ ।

भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीज पर्व मनाइन्छ । हिन्दु नारीहरूले शिवजीको आराधना गरी तीज मनाउँछन् । कठोर व्रत बसेर पूजा गरेको हुनाले पार्वती इच्छाएको वर पाउन सफल भएकी थिइन् । यसरी व्रत बसे इच्छाएको प्राप्त हुने विश्वास गरिन्छ ।

नवमीको दिनमा तानसेनमा नारायण र भगवतीको जात्रा हुन्छ । अहिले जात्राको रूपमा विराटनगर राधाकृष्णको रथयात्रा धुमधामसँग गरिन्छ । डोटी सिलगडी जिल्लामा पनि मष्टजात जात्रा पर्व सुरु हुन्छ । लुमडीमा भद्रकाली जात्रा र दैलेखमा नारायणको मेला हुन्छ । यस्तै ललितपुरमा बेलुका भीमसेन जात्रा गरिन्छ । त्यस्तै नारायणघाटमा पनि भीमसेन जात्रा हुन्छ । सोही महिनामा अजा एकादशी व्रत बस्दछन् । भदौको शुक्ल पक्ष द्वादशीमा बैतडी गजुरमा बनारसी मेला हुन्छ ।

भाद्रकृष्णपक्षमै जुग चह्रे पर्व हुन्छ । यसमा पञ्चदान गरिन्छ । यो पर्व काठमाडौं, साँखु, कीर्तिपुर, बौद्ध, थिमी, भक्तपुर, पनौती, दोलखा आदि ठाउँमा मनाइन्छ । यो जुग पर्वमा बौद्ध धर्म मान्ने र बुद्धमार्गीले पञ्च दान दिने गर्दछन् । यो दान शाक्य र बज्राचार्य मात्रले लिन्छन् । पनौतीमा नमो बुद्धको जात्रा गरी पञ्चदान गरिन्छ । त्रयोदसीको दिनमा साँखुको गन्धमादन पर्वतबाट ल्याएर साँझपख पनौतीमा नमो बुद्ध भव्य जात्रा गरिन्छ । यहाँ दुईवटा दीपंकर (रातो मुख भएको) र नमो बुद्धलाई बाजासहित नगर परिक्रमा गरी जात्रा गर्ने चलन अहिलेसम्म पनि छ । भाद्रमा कुसे औंसी अथवा गोकर्ण औंसीको दिन स्वर्गीय भएका बाबु सम्झी स्नान गरी गोकर्णमा पूजापाठ गरेर दान दिने चलन छ । यो पर्व अधिराज्य भरी मान्ने चलन छ । भाद्रशुक्लपक्ष प्रतिपदाका दिन गुँला धर्मको समापन हुन्छ ।

तीज :
भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चारदिन तीज पर्व मनाइन्छ । हिन्दु नारीहरूले शिवजीको आराधना गरी तीज मनाउँछन् । कठोर व्रत बसेर पूजा गरेको हुनाले पार्वती इच्छाएको वर पाउन सफल भएकी थिइन् । व्रत बसेमा इच्छाएको सबै प्राप्त हुने विश्वास गरिन्छ । महिला (नारी) हरूले जन्मेको घर आमाबुवा, दाजुभाइ अथवा नाता कुटुम्ब सबै छोडेर विवाह गर्दछन् । छोरीलाई जन्मेको घर बोलाउने दिन तीज पर्व हो । तीजको व्रत बस्नुभन्दा एकदिन अगाडि माइतमा बोलाउने र आमाको हातबाट बनाएको मीठो खाना परिकार खुवाउने, दुःख सुखको कुरा गरी घरपरिवारको साथै सुस्वास्थको जानकारी लिने दिने गर्दछन् ।

यस दिनलाई दरखाने पर्व भनिन्छ । यो भाद्रशुक्ल पक्ष द्वितीयाको दिनमा पर्छ । तीज पर्व मनाउने संसारमा नेपालबाहेक कुनै देश छैन । हामीले यसबारे अरू देशलाई जानकारी दिन सक्नुपर्दछ । हामी सबैले विचार गर्नु पर्दछ । दर खाने कार्य राति १२ बजेभित्र सम्पन्न गर्नु पर्दछ, किनभने १२ बजेपछि अर्को दिन सुरु हुन्छ । पार्वतीले व्रत बसेर शिवजी पति पाएको हुनाले त्यस्तै धार्मिक विश्वासमा महिलाहरू महादेवको व्रत बस्दछन् । समाजमा प्रायः पुरुष व्रत बस्दैनन् ।

तीजको भोलिपल्ट गणेश चौथीको दिन व्रत बसेका महिलाहरूले बिहान स्नान गरी शिव पार्वतीको पूजार्चना गरी, अगस्तीलाई अघ्र्य दिई, गोदान, पूर्णपात्रो गरी व्रत समाप्त गरिन्छ ।

चौरचन पर्व
हरितालिका तीजमा महिला व्रत बसी सिद्धिविनायकको व्रत बसी चन्द्र दर्शण गरेर पूजा गर्दछन् । मैथलीहरू पनि गणेशको पूजा गर्छन् । भाद्रशुक्ल पक्ष चतुर्थीको दिनमा गणेशको पूजा गरी व्रत बस्दछन् । यस दिनमा व्रत बस्नेलाई चौरचन भन्दछन् । भाद्रशुक्ल पक्ष चतुर्थीका दिनमा जनकपुर, सप्तरी, मिथिला क्षेत्र र तराईका विभिन्न भागमा यो चौरचन पर्व मनाइन्छ । यस गणेश चौथीका दिन साँझ व्रतालुले आआफ्ना घरआँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अघ्र्य दिन्छन् ।

व्रतालुहरू दिनभर केही नखाई निराहर रही गणेशको व्रत बसी साँझमा नुहाई पिठोले बनाएको अरिपनमा वैदिक मन्त्र उच्चारण गरी विभिन्न देवता र पितृको पूजा गरेर अन्त्यमा रोहिणीसहित चौठीचानलाई पुष्पाञ्जली (अघ्र्य) दिएर त्यसपछि विभिन्न प्रकारमा तयार गरी राखेको मिठाई, दही, खीर, फलफूल नैवद्यसहित साँझ चन्द्रमालाई अघ्र्य दिन्छन् । त्यसपछि सम्पूर्ण परिवार जम्मा भएर प्रसाद ग्रहण गर्दछन् । यो गर्नाले धनलाभ, सुस्वास्थ्य लाभ हुने जनविश्वास छ । जनकपुरमा गणेश उत्सव भनेर तीन दिनसम्म मनाउने चलन छ । गणेशको जन्म भएको भन्ने धार्मिक विश्वास छ । साथै चौैंथीको दिन भक्तपुरको डोलेश्वर महादेवमा मेला लाग्दछ ।

ऋषि पञ्चमी :
तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीको दिनमा रजस्वला भएका केटीहरू र विवाहित अविवाहित नारीहरूले ३६५ वटा अपमार्गको दतिवनले दाँतलाई सफा गरेर वर्षभरि नराम्रो काम गरेको भए माफी, क्षमायाचना गरी मुक्त गर्न नदीमा गएर स्नान गरी अरुणधतिसहित सप्तऋषिहरूको पूजार्चना गर्दछन् । रजस्वलाको समयमा अन्जानवस कति कुरा छोइएको हुनसक्ने भनेर भाद्रशुक्ल पक्ष पञ्चमीका दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक शरीरलाई छोएर वर्ष दिनभरि खराब काम गरेकोबाट मुक्त हुनका लागि नदीमा गएर नुहाईधुहाई शुद्ध भई शिवजीको पूजा गरिन्छ ।

नेवारी समाजमा लुकमाःद्यो पूजा गर्ने पर्व छ । त्यसैले शिवजीको व्रत बसेर पार्वतीले पनि सफलता पाएको हुनाले नेपाली नारीहरूले पनि यो पाउन तीज पर्व मनाउँछन् । पूर्वदेखि पश्चिमसम्म यो पर्व राष्ट्रको रूपमा मनाउने चलन छ । नेपाल सरकारले यो पर्वमा बिदा पनि दिन्छ । सत्ययुगदेखि चलन सुरु भएको यो पर्वअहिलेसम्म पनि प्रचलनमा रहिआएको छ ।

बर्द गोरिया मेला
नवलपरासीमा तीजको समयमा सुनबल वर्द गोरियामा लाग्ने वर्द गोरिया धार्मिक मेला सुरु हुन्छ । यहाँ शिवजीको मूर्तिमा पूजा गरिन्छ । यो मेला तीजको अण्वसरमा तीन दिनसम्म लाग्नेछ । यो परापूर्व कालदेखि बाबा वर्दगोदिया धाम जात्रा चल्दै आएको छ । यो जात्रामा यहाँ आएर पूजा अथवा दर्शन गरे आफूले चिताएको पूरा हुन्छ भन्न जनविश्वास छ । जात्रामा मनाउन भारतबाट लाखौं भक्तजन नेपालमा आउँदछन् ।
त्यस्तै कास्की जिल्लामा पनि सिकलेसचायको पूजा गर्ने गरिन्छ । षष्ठीका दिन तराईमा थारूहरूको अत्वारी पूजा पर्व गर्छन् । भाद्रशुक्ल पक्ष अष्टमीका दिनमा महालक्ष्मी व्रत बस्न सुरु गरी १५ दिनसम्म चल्ने कृष्णपक्ष अष्टमीमा समाप्त हुन्छ । नवमीका दिन इन्द्रध्वज लिंगो ल्याउने, कागेश्वरी मेला हुनुका साथै ललितपुरमा दश महाविद्या पूजा हुन्छ । नेपालको पश्चिममा नवमीमा गौरा पर्व मनाइन्छ ।

गौरा पर्व
भाद्रशुक्ल पक्षमा गौरा पर्व पञ्चमीको दिनदेखि सुरु हुन्छ । गौरा भनेकै पार्वती हुन् । यो पर्वमा शिव र पार्वतीको पूजा गरिन्छ । पाँच दिनसम्म मनाइन्छ । यो पर्वमा बिरुडा लिएर काम सुरु गरिन्छ । बिरुडा अर्थात् १, गहुँ २, मास ३, केराउ ४, गहत र ५, गुराँस (मुग) यो पाँच प्रकारका गेडागुडी मिसाएर पानीमा भिजाउने गरिन्छ । पाँच प्रकार भिजेको गेडागुडीलाई बिरुडा भनिन्छ । पर्वको दिन बिहानदखि शुद्ध भई व्रत बसी बिरुडालाई तामाको भाँडामा भिजाएर आफ्नो घरको सफासुग्घर गरेको चोखो गरेको ठाउँमा राखी देवताको आराधना गरेर दियो बालेर पूजा गरी राख्ने चलन छ । भोलिपल्ट यो बिरुडा सफा गर्न नदी, तलाउ, इनार, कुवामा लगेर सफा गरी सकेपछि गौरा (पार्वती) देवीको मूर्ति बनाउने गरिन्छ ।

देवीलाई सजिसजावट पार्न कन्याकुमारी केटीहरूले खेतबाट जरा सहितको धानको बोट, डाडे घाँस, गुवो (सेतो पात भएको एक प्रकारको घाँस) कुरुजा हरियो दुवो साथै अमिलो फलफूल मिसाएर गौरा देवीलाई सजाउँछ । यो देवीलाई रातो र पहेलो कपडा पहिराइन्छ । बेलुका पूजापाठ गरिन्छ । सप्तमीको दिनमा गौरालाई विशेष पूजा गरिन्छ । अष्टमीको दिनमा पनि यसको पूजा गरिन्छ । यो दिनमा दिदी, बहिनी र आइमाई मिली गौरा देवीलाई सजाउने गरिन्छ । घरको पूजा कोठामै राखी पूजा गरिन्छ । यो दिनमा दिदी बहिनीले आफ्नोतर्फबाट नयाँ दुग धागो लगाउने चलन छ ।

यो एक प्रकारको डोरी जुन विवाहित महिलाले घाँटीमा लगाउने जनै जस्तो डोरी हो । यो धागो लगाउने बेला पण्डितबाजेले पूजा गरी शुद्ध गरी पंञ्चगत बनाई सातवटा गाठो बनाई हरियो दुवोले स्नान गर्दछन् । यो शुद्ध गरेको धागोलाई पोतेमा बाध्ने गर्दछन् । गौरा पर्वको अन्तिम दिन व्रत बसेका महिला सिगारपटार गरी गौरा देवतालाई टाउकोमा राखी अथवा बोकी नजिकको शिवको मन्दिरमा लगी शिवसँग राखिन्छ । यो राखेपछि शिव र पार्वतीको विवाह भएको मानिन्छ । यो बनाएको गौरालाई गंगाको रूपमा लिन्छ ।

पछि भगवान शिवले अर्को महिला सञ्जासँग विवाह गरेको अर्थात् शिवले अर्को स्वास्नी राखेको वा सौता हालेको सन्दर्भमा यो सम्झना गरिन्छ र यो पर्व मनाउदछ । अविवाहित चेलिबेटीहरूले खेतमा गएर नयाँ गौरा बनाएर ल्याउदछन् । त्यो पनि शिवजीसँगै राख्दछन् । पछि बनाएको गौरालाई पनि शिवजीकी पत्नी मानिन्छ । पछि ल्याएको गौरा (कान्छी)ले पहिलेको गौरा (जेठी) लाई पाँच चोटी घुमेर र ढोग गर्ने चलन छ । अनि उनीहरू भन्दछ, ठूली गौरालाई जति हक छ, त्यति कान्छी गौरालाई पनि त्यति नै अधिकार हुन्छ भनी मान्यता दिएको हुन्छ ।

भाद्रशुक्ल एकादशीमा हरिबोधिनी एकादशी व्रत बसी मनाइन्छ । भाद्रशुक्ल पक्षको द्वादशीका दिन काठमाडौं कुमारी जात्रा (इन्द्रजात्रा) हुनुभन्दा अगाडि हनुमानढोकामा इन्द्रध्वज लिंगगो उठाउने गरिन्छ । यो लामो लिंगगो मानन्धरहरूले उठाउँछन् । यो काम साइत हेरेर गरिन्छ । भोलिपल्ट सोही दिनमा साँझ स्वर्गीय भएको व्यक्तिको सम्झनामा बाजा बजाई, धारणी श्रवन गरी पाल्चाको दियो र धुप बाली कान्तिपुर नगरभित्र घुमाइन्छ । यसलाई उपाकू जाने भनिन्छ । दुई दिन लगाएर परिक्रमा गरिन्छ । आफ्नो घरको आँगनबाट सुरु गरी नगर परिक्रमा गरी घरको आँगनमा आएर बिसर्जन गरिन्छ । काठमाडौंका नेवारहरूले यो चलन अहिलेसम्म पालना गरिरहेका छन् । नेपालको पश्चिमतिरका जिल्लामा चतुदर्शीको दिन डाडीमाडी जात्रा मनाउँछन् ।

कुमारी जात्रा (इन्द्र जात्रा)
भाद्र पूर्णिमाको दिन इन्द्रजात्रामा कुमारी, गणेश, भैरव, तीनवटा रथको जात्रा हुन्छ । पूर्णिमाको दिनमा काठमाडौंको गद्दी बैठक अगाडिबाट तानेर जैसीदेगल, लगन ब्रहृमटोल हिउमत कोहिटी, भीमसेनस्थान वसन्तपुरमा ल्याएर विर्सजन गरिन्छ । यो जात्राको अन्तिम दिन नानिचायामा सिद्धिन्छ । लिंगगो पनि ढालिन्छ । भोलिपल्ट बौद्ध मार्गीहरू गातिला वसुन्धरा देवीको व्रत बस्दछन् । दोलखामा पनि इन्द्रजात्रा पर्व मनाइन्छ । यो पाँच दिनसम्म मनाइन्छ ।

भाद्रशुक्ल एकादशीमा हरिबोधिनी एकादशी व्रत बसी मनाइन्छ । भाद्रशुक्ल पक्षको द्वादशीका दिन काठमाडौं कुमारी जात्रा (इन्द्रजात्रा) हुनुभन्दा अगाडि हनुमानढोकामा इन्द्रध्वज लिंगगो उठाउने गरिन्छ । यो लामो लिंगो मानन्धरहरूले उठाउँछन् ।

भाद्र पूर्णिमा अथवा यन्या पूर्णिमामा कुमारी जात्रा (इन्द्रजात्रा) इन्द्रदहमा मेला, बनेपामा जलपा जात्रा, चोनम पर्व, ललितपुरमा गणेश पूजा गर्दछन् । यो दिनमा काठमाडौंवासीले हनुमान ढोकामा रहेको ठूलो भैरवलाई पूजा गरी यसको अगाडी डबलीमा ठूलो समयबजी राखिन्छ । कुमारी जात्रा घुमाएर ल्याएपछि समेबजीलाई पूजा गरी आफूहरू पनि खाने र अरूलाई पनि खुवाउने गरिन्छ । यस दिन पृथ्वीनारायण शाहले काठमाडौंको गद्दीमा बसेको हुनाले कुमारी जात्रा (इन्द्रजात्रा) पर्व सुरु भएन ।

यसको दोष सबै राजामाथि आयो र राजाले केही गर्न सकेनन् । राजा बिरामी भए । पछि राजाका भारदारहरूको वैद्य जोशीसँग परामर्श अनुसार कुमारी देवीलाई किसली राखी अथवा चढाइसकेपछि विस्तारै रोग निको भएर गयो । भोलि पल्ट बिहानै कुमारी घर गई कुमारीको पाउँ ढोकी देवी कुमारीसँग क्षमा माग्नुको साथै राम्रोसँग जात्रा गर्न वाचा गरी फेरि कुमारी जात्रा सुरु भयो । नानिचायामा राम्रोसँग जात्रा गरी कुमारी देवी भित्र्याइसकेपछि देवीसँग क्षमा पूजा गरी आशिर्वाद माग्नुभयो ।

कुमारीको बायाँ हातको बुढीऔंलाले टीका लगाइदिन गरिन्छ । अरूलाई दायाँ हातले टीका लगाइदिने चलन छ । टीका लगाइँदा सुनको एक असर्फी चढाइन्छ । गणतन्त्र आएपछि राजाले गर्ने सबै काम अब राष्ट्रपतिले गर्दछन् । सोही दिनमा इन्द्रचोकमा आकाश भैरवको मुकुन्द प्रदर्शनी हुन्छ । आकाश भैरव भनेको यलम्बर राजाको शिर हो भनिन्छ । कुमारीजात्रामा दश अवतार नाच देखाइन्छ । पुलु किसी (हात्ती) नाच, लाखे नाच, सव भकू नाच देखाइन्छ । फर्पिङमा हरिशंकर रथ यात्रा सुरु गरिन्छ । बस्नेतहरूको कुल पूजा इन्द्रजात्रामा हुन्छ ।

ललितपुरमा कुमारी जात्रा (इन्द्रजात्रा)लाई ञँन्याः पूर्णि भन्दछ । ललितपुरको एउटा प्रमुख पर्वका रूपमा लिइन्छ । पहिलो दिन नागबहालदेखि च्यासलसम्म दोस्रो दिन हःखादेखि सुन्धारा, ओकुबहालदेखि टंगलसम्म, तेस्रो दिन मंगलबजार हौगलसम्म र अन्तिम दिन भाद्र कृष्णपक्ष प्रतिपदाका दिन पूर्णचण्डीमा भुजा राखी यो पर्वलाई समाप्त गरिन्छ । यस पर्वमा गणेशको मात्र पूजा हुन्छ । उपत्यकाभित्र मासु राखेर पूजा गर्न नहुने, गणेश ललितपुरमा एक ठाउँमा मात्र छन् । त्यो गुईटोलमा पश्चिम फर्केको गणेश हो । भक्तपुर सिद्धपोखरीमा मेला लाग्दछ ।

यो जात्रा नेपालका धेरै जिल्लामा मनाउँछन् । पूर्व इलाम, धरान, धनकुटा, भोजपुर, चैनपुर, पनौती, पाल्पा, नारायण घाट, पोखरा, बाग्लुंग माग्दी आदि जिल्लामा मनाउँछौं । यो पर्व धेरै गणेश पूजा गरी मनाउँदछन् । यो तराईको भागमा पनि गणेश चौथी भनेर मनाउने चलन छ । अहिले पनि यो जात्रा चलिरहेको छ ।

भाते खोलामा इन्द्रजात्रा
बझाङको भाते खोलामा रहेको मन्दिरमा मष्टो देवताको मेला लाग्छ । मष्टो देवता खस जातिको कुल देवता हुन् । काठमाडौंको कुमारी जात्राको दिनमा यहाँ पनि इन्द्रको जात्रा हुन्छ । मष्टो देवता इन्द्रपुत्र जयन्तको रूप मानिन्छ । देवगण र दानवहरूको झगडामा जयन्तले दानवहरूलाई मारेर सफलता भएको हुनाले उनलाई मष्टोको पदबी दिएको कुरा किवदन्तीमा उल्लेख छ । मष्टो पूजा गर्न बझाङ, बाजुरा, अछाम, जुम्ला, हुम्ला मुगु जाजरकोट, दैलेख, धेरै पश्चिमका गाउँबाट मष्टो पूजा गरी मनाउँदछ । यसलाई ढंडार र जात्रा पनि भन्दछ । मष्टो देवतालाई दुर्गा भगवतीको भाइ पनि मानिन्छ । यसलाई मट्टे देवता, भूमि देवता पनि भनिन्छ ।

भाद्र महिनाको कृष्णपक्षको तृतीयाका दिनमा गाःतिला व्रत अर्थात् वसुन्धरा देवीको व्रत बस्ने गरिन्छ । वसुन्धरा देवीलाई धान्यदेवी वा लक्ष्मी माताको रूपमा मानिन्छ । चौथीका दिन नानिचा याः को रूपमा मनाइन्छ । यसदिन लिंगो ढाल्ने काम गरिन्छ र कुमारी जात्रा सम्पन्न हुन्छ । उपत्यकामा इन्द्रजात्रा मनाइरहेका बेला पृथ्वीनारायण शाहले उपत्यका विजयी गरी गद्दी वा राज्य लिएको हुनाले कसैले हर्ष मान्छन् भने कोही दुःखको दिन भनेर सम्झन्छन् । परापूर्वकालदेखि अहिलसम्म पनि प्रचलनमा रहेका जात्रा, पर्व नेपालका मौलिक पहिचान र सभ्यता हुन् । यसको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कर्तव्य हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?