मोहन बगानसँग पराजित हुँदै बाहिरियो मच्छिन्द्र

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको मोहन बगान फुटबल क्लबसँग पराजित हुँदै नेपालको मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोटबाट बाहिरिएको छ । बुधबार राती भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानसँग तीन-एकले हार बेहोरेसँगै मच्छिन्द्र समूह चरणबाटै बाहिरिएको हो । छनोटको पहिलो खेलमा भुटानको पारो एफसीलाई घरेलु मैदानमा पराजित गरेको मच्छिन्द्र अवे खेलमा भारतीय क्लबसँग भने अघि बढ्न सकेन । पहिलो खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई तीन-दुईले पराजित गरेको थियो ।

मोहन बगानको जितमा अनवर अलीले दुई तथा जेसन कमिंग्सले एक गोल गर्नुभयो । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काउनुभयो । पहिलो हाफको खेल प्रतिस्पर्धात्मक हुँदा अन्तिमतिर मच्छिन्द्रले गोल बेहोर्‍यो । खेलको ४०औँ मिनेटमा मोहन बगानले अग्रता लिएको थियो । हृयुगोको कर्नरमा उहाँले हेडरमार्फत् गोल गर्नुभएको हो ।

दोस्रो हाफको ५९औँ मिनेटमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सले गोल गर्दै मोहन बगानको अग्रता दोब्बर पार्नुभयो । यस्तै, ७८औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी मेसुके ओलोमोउले गोल गर्दै खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । यस्तै, ८५औँ मिनेटमा अनवर अलीले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उहाँले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत् गोल गर्नुभएको थियो । अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ । प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २-१ ले पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?