‘अहङ्कार शरीरमा लागेको घाउजस्तै हो । सानो-सानो चिजसँग ठोकिन्छ । सानो-सानो कुराले विक्षुब्ध बनाउँछ । आत्माको क्यान्सर अहङ्कार हो’ भन्ने स्वामी सत्यदेवको भनाइ सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएछ अर्जुनप्रसाद आचार्यले । आज ठीक त्यही समयमा म यी कुरा सम्झिरहेको छु । हुन पनि के भाको होला ? सानो सानो कुरामा पनि मन अल्झिन्छ । सानो कुरा बिझाउँछ । र आफैंअग्लो हुँ भन्ने लाग्छ । अरूलाई होचो ठान्न मन लाग्छ । आत्मश्लाघा मन पर्छ । आफूतिर फर्केर खोट हेर्न पटक्कै मन लाग्दैन ।
अरूकै आङमा कोट्याइरहन मन लाग्छ । विद्वान् पनि आफैं हुनुपर्ने, ज्ञानी पनि आफैं हुनुपर्ने । असल पनि आफैं हुनुपर्ने । आफ्नै नाम र मानको यो अनन्त भोक पालेर यहाँ म कतिदिन अटाउन सक्छु मलाई नै थाहा छैन । लाग्छ अहिले समयले जताततै अहङ्कार नै बाँडिरहेको छ । भाँडाभरि अहङ्कार बोकेर निरभिमानको प्रवचन दिन व्यस्त यो समयमा उभिएको म खासै कतै अटाउन सक्दिन । म नअटाएको हुँ कि यो ठाउँले मलाई नस्वीकारेको हो म बुझ्न सकिरहेको छैन ।
अन्तर्मनमा गढेको जन्मभूमिको मायाले अरूलाई मनको संसारमा राख्न सक्दिन । मैले जस्तै मलाई पनि यो भूमिले हृदयदेखि अङ्गीकार गर्न सकेको लाग्दैलाग्दैन । म यहाँको हुँदै होइन भन्ने आभास गराउने विभिन्न घटना र परिघटनाहरूसँग प्रायः जम्काभेट भइरहन्छ ।
तर, नोस्टाल्झिक छ मनमा । डायस्पोरिक चेतना लिएर म यहाँ आफन्तका अनुहार खोजिरहेको छु । आन्तरिक आप्रवासको अमिलो अनुभूति छ मनमा । डायस्पोराको आधारभूत पहिचान जहाँ जन्मियो त्यहाँको रहन नसक्नु र जहाँ गइयो त्यहाँको पनि हुन नसक्नु हो । युद्धले, द्वन्द्वले, प्राकृतिक प्रकोपले, धार्मिक, जातीय वा राजनीतिक कारणले, बाध्यताले, स्वेच्छाले वा एडभेन्चरले मानिसहरू आफ््नो भूमिबाट बाहिरिन्छन् अनि विभिन्न कारणले आफ्नो ठाउँ फर्किन सक्दैनन् । मनमा रहेको पुरानो चित्र मेटाउन सक्दैनन् । मनमा नयाँ चित्र कोर्न पनि सक्दैनन् ।
त्यसपछिको स्थिति आप्रवास चेतना हो । यो आप्रवास आन्तरिक र बाहृय दुवै सन्दर्भमा अनुभूत हुन्छ । हो अहिले म त्यही आप्रवास चेतना अनुभव गरिरहेको छु । पराया अनुहारमा आफन्तका मन खोजिरहेको छु । आफन्तको प्रेम खोजिरहेको छु । आमाको ममता खोजिरहेको छु । बाबुको स्नेह खोजिरहेको छु । साथीको आत्मीयात खोजिरहेको छु । निर्मल मन खोजिरहेको छु । पवित्र सम्बन्ध खोजिरहेको छु । केही वर्षदेखि यही क्रम चलिरहेको छ । भित्री मनदेखि यताको हुन सकिरहेको छैन । यताकाले आफ्नो ठान्न सकिरहेका छैनन् ।
अन्तर्मनमा गढेको जन्मभूमिको मायाले अरूलाई मनको संसारमा राख्न सक्दिन । मैले जस्तै मलाई पनि यो भूमिले हृदयदेखि अङ्गीकार गर्न सकेको लाग्दैलाग्दैन । म यहाँको हुँदै होइन भन्ने आभास गराउने विभिन्न घटना र परिघटनासँग प्राय जम्काभेट भइरहन्छ । म मात्रै होइन पछिल्लो समयमा प्रायः मानिसहरूले यस्तो अनुभूति गरिरहेका छन् । हामी राष्ट्रवादको फराकिलो आँगनमा उभिइरहँदा पनि यो अनुभूतिबाट प्रभावित छौं ।
ठूलै उन्नति र प्रगति गर्ने अभिलासामा जन्मथलो छोडेर आकाशिएको मेरो महत्वाकाङ्क्षाको उडान अहिले काठमाडौंको एउटा कुनामा आएर अवतरित छ । जहाँ म अहिले बिसाएको छु त्यो ठाउँसँग मेरा बाजेबराजु कसैको पनि कुनै नाता छैन । अनगिन्ती अपरिचित अनुहारहरूमाम रूपान्तरित भएको छु । मेरो अनुहारमात्रै होइन मेरो अस्तित्व नै हराएको छ यहाँ । यहाँ मलाई स्नेह गर्ने आमाका पदचापको कुनै सङ्केत छैन । न त मेरा पिताजीका श्रमपसिनाको कुनै सुगन्ध नै यहाँ छ । यो मेरो नयाँ ठेगाना हो । मेरो नयाँ परिचयसँगै आर्जेको नयाँ भूमि ।
आफ्नै श्रमपसिनाले आर्जेको यो भूमिमामलाई अगाध प्रेम हुनुपर्ने हो नि तर अहँ पटक्कै मलाई माया पनि छैन र आस्था पनि छैन । जहाँ म सानो हुँदा गौँडामा पछारिएर रोइन, उकालोमा अरूलाई जितेर पहिलो हुँदा हाँसिन, बिठ्याइँ गर्दा आमाको गाली परेन यहाँ । बद्मासी गर्दा बाबुको थप्पड पनि परेन यहाँ । न सँगीसाथीको लैलैमा लागेर वर्षाको उर्लेको काली गण्डकीमा पौडिन जाने मूर्खता गरेँ यहाँ न स्कुल जान हिँडेको म दिनभरि बुर्चे डाँडामा खोप्पी खेलेर साँझ घर फर्किएँ यहाँ । जैदेल मुखियाका बारीमा पसेर काँचा बोडी टिपेर कचकच चबाएर भोक मेटाएको खुसी पनि छैन यहाँ । चौरी खोलामा गँडेरा माछासँग खेलेर बस्ने काम पनि मैले यहाँ गरिन ।
न त पाँच सुकाको खाजा बिस्कुट लौँवा खोलाको पानीमा चोबेर खाँदाको आनन्द लिएँ यो ठाउँमा । न मेरा दाजुभाइ न मेरा इष्टमित्र न मेरा सँगीसाथी अहिले म जहाँ बसिरहेको छु यिनै कुरा खड्किरहेका छन् मेरो जीवनमा । यहाँ मेरो खुसीमा हाँस्ने दाइभाइ छैनन् । दुःखमा सँगै दुःखी हुने आफन्त छैनन् । मेरो प्रगतिमा बधाई दिने छिमेकी छैनन् । मैले यहाँ हाँसो, खुसी, बधाई र शुभकामना किन्न पैसा खर्च गरेको छु । महङ्गो मूल्यमा हाँस्नुपर्ने, महङ्गै मूल्यमा रुनुपर्ने, पैसा खर्च गरेर शुभकामना र बधाई सङ्कलन गर्ने भूमि मेरो भूमि कसरी हुन सक्छ र ? हरदम मेरा सुख र दुःखमा पहरेदारी गर्ने मेरो गाउँको हावा र पानी दुवै यहाँ छैन ।
म अहिले जहाँ छु । यहाँका रैथाने बासिन्दाका दुईआना चारआना जमिन किनेर बसाइँ आएका हामी यिनीहरूका निम्ति खाँचो र रहर पूरा गरिदिने पैसाको स्रोत हौं । जग बसाउन नसकेको घरको जग हौं । फिनिसिङ गर्न नसकेका घरको रङ्गरोगन हौं । किन्न नसकेको मोटरको इन्जिन हौं । छोराछोरीको कलेजको फिस हौं । बढेकी छोरीको बिहेको दाइजो हौं । गहना पसलको सुनको भुक्तानी हौं । फेन्सी पसलको लगानी हौं । गुड्दै गरेको मोटरको फ्युल हौं । हाँस्दै गरेका सन्तानको खुसी हौं ।
यसैगरी बिरामी बाबुको उपचारखर्च हौं । रैथाने भट्टी धाउनेहरूको नशा वा अम्मल हौं । मेरो क्षमताले नभ्याएर होला यी बाहेक यहाँ मेरो कुनै विशिष्ट परिचय छैन । बरु म त यहाँको नयाँ परिचयमा छु दु(ई)आने चारआने पर्वतिया । यहाँका पुराना बासिन्दाले पहाडी मूलका सबैलाई पर्वतिया र तराई मूलका सबैलाई मदिसे भन्दा रहेछन् । हो मेरो अहिले यहाँको मौलिक परिचय यसरी चलेको छ ।
अब काठमाडौं पहिलाजस्तो रैथानेहरूको मात्रै छैन बहुजातीय फूलबारी बनेको छ । मेचीदेखि महाकाली, तराईदेखि हिमालसम्मका मानिसहरूले यो फूलबारी सजिएको छ तापनि स्थानीयताको धङधङीले नछाडेका यहाँका कतिपय बासिन्दाहरूमा अहङ्कार जन्माइदिने काम हामीले नै गरेका हौं । हामीले उनीहरूका रुखासुखा जमिनहरूलाई धनले आवाद गराइदियौं । उनका घरअगाडि फराकिला बाटा, उनका ग्यारेजमा मोटर, उनका बैंकमा ब्यालेन्स भरिदियौं ।
यी सबै समयमा म आप्रवासी मनस्थिति बोकेर उभिएको छु । न घरको रहन सकियो न परको बन्न सकियो । आफ्नै भूमिमा त मानिस यसरी आप्रवास चेतनाले दुःखी छ भने बाध्यताले मुलुक नै छाडेर जानेहरूले भोग्ने पीडा कस्ता कस्ता होलान् ?
त्यसपछि उर्लिएको यिनीहरूको अहङ्कारले धरातल छुन मन गर्दैन तर जब टोलमा सुरक्षा, सुन्दरता र सुविधाको कुरा आउँछ, अलिकति बाटो चौडा पार्ने कुरा आउँछ, रौंबराबर त्याग वा योगदान गर्ने कुरा आउँछ, अलिकति विकासका कुरा गर्ने अवस्था आउँछ अनि उनीहरूका मुखबाट प्याट्टै निस्कन्छ । तिमी दुआने चारआनेहरू हामीले जग्गा दिएर बस्न पाएका तिमीलाई सुविधा चाहिने ? उनीहरू बेल्नेमात्र होइन हात हाल्न अगि सर्छन् । पर्खालले बाटो छेकेर ठड्याइएका यिनका अग्ला घरजस्तै मन पनि उचो र उदार भैदिएको भए कस्तो हुँदो हो भन्ने लाग्छ ।
मानिस बिरामी हुँदा एम्बुलेन्स, आगलागी हुँदा दमकल, वा अन्य कुनै भवितव्य पर्र्दा बस्तीमा साधन छिर्ने अवस्था छैन । अग्ला घरको पटाङ्गिनीमा बसेर घरभाडा असुलेको पैसाले चुरोटको धुवाँ फ्याक्दै जब स्थानीय दाजुभाइले अहङ्कार ओकल्छन् लाग्छ उनीहरूले दयाक्रिपा गरेर हाम्रा नाममा दुई आना चारआनाका दरले घडेरी दान दिएका हुन् र त्यसवापत हामी जुगजुगसम्म तिनीहरूप्रति कृतार्थ भइरहनुपर्छ ।
यति साँघुरो चेतनाभित्र अहङ्कारको भारी बोकेर उभिएका यी मेरा छिमेकीहरूसँग म कहिल्यै मिल्न सकिन । जति जति यिनको साँघुरो मन अनुभव गर्छु त्यति त्यति आँखाको दृष्टिले नभ्याउने क्षेत्र समेटिएको त्यो आफ्नो थातथलो सम्झिन्छु । कहिले भाषाको भिन्नताले खिज्याउँछ, कहिले लवजको नवीनताले गिल्ल्याउँछ । कहिले वेशभूषाले अल्झाउँछ, कहिले खानपानको भिन्नताले तर्काउँछ । कहिले चालचलनका कुराले कहिले संस्कृतिका भिन्नताले म यहाँको होइन भन्ने जनाउ दिइरहन्छन् । पटक-पटक म अल्झिएको छु कुँडिएको पनि छु । यी सबै समयमा म आप्रवासी मनस्थिति बोकेर उभिएको छु । न घरको रहन सकियो न परको बन्न सकियो । आफ्नै भूमिमा त मानिस यसरी आप्रवास चेतनाले दुःखी छ भने बाध्यताले मुलुक नै छाडेर जानेहरूले भोग्ने पीडा कस्ता कस्ता होलान् ?
प्रिय सञ्चेतना ! तिमीले आफ्नै माटो कोट्याउन जान भनेर गरेको प्रस्ताव पनि म अहिले सम्झिरहेको छु । सँगै धुलो माटो खेलेर हुर्किएका शिवु, कृष्ण, होबे, भोजे, विष्णे, राधा, जुना, देवी, थुमा, पार्वतीहरू पनि अब त्यहाँ छैनन् रे । हामीलाई चिनेका घरमुनिको डोरेटो बाटो, नागढुङ्गा, शमीको रूख, घरमुनिका वरपिपल, नानीघाट, भ्वानीपूज्नेको चौतारी, लौंवा, छोरैलौंवाको फाँट पनि पहिलेजस्ता छैनन् रे । कति त मासिइसके अरे कतिकुरा मोटर बाटाले खाइदियो अरे । अब त त्यहाँ पनि हामीलाई चिन्ने कोही छैनन् भन्ने सुन्छु । बस्छ्यौ कहाँ बस्छ्यौ ? जान्छ्यौ कहाँ जान्छ्यौ ? बर्माबाट जयमाया एक्लै लिखापानी फर्किएझैँ पल्लो चौरको ठूलो ढुङ्गाबाट घरबारी हेरेर यतै फर्किनुपर्ने पो हो कि !!
लेखकलाई म राम्राेसित चिन्दछु । उहाँ स्वयं भक्तपुरमा घर, निजी कार भएकाे, विदेश भ्रमण गरिरहने सम्पन्न प्राध्यापक हुनुहुन्छ । आफ्नाे सम्पन्नताकाे बारेमा चाहिं चुइँक्क उल्लेख नगर्ने र काठमाडाैं उपत्यकावासीहरूले आफूहरूलाई घडेरी बेचेर पैसा लिएकाेमा चाहिं यत्राे पीडा पाेख्ने ? के उहाँले आफ्नाे सम्पत्ति कसैलाई फ्रीमा दिन सक्नुहुन्छ र ?
त्यसपछि उर्लिएको यिनीहरूको अहङ्कारले धरातल छुन मन गर्दैन तर जब टोलमा सुरक्षा, सुन्दरता र सुविधाको कुरा आउँछ, अलिकति बाटो चौडा पार्ने कुरा आउँछ, रौंबराबर त्याग वा योगदान गर्ने कुरा आउँछ, अलिकति विकासका कुरा गर्ने अवस्था आउँछ अनि उनीहरूका मुखबाट प्याट्टै निस्कन्छ । तिमी दुआने चारआनेहरू हामीले जग्गा दिएर बस्न पाएका तिमीलाई सुविधा चाहिने ?
सुन्दर प्रस्तुति ।बधाई छ ।लेखकलाई ।