यो वर्ष सात प्रतिशतले घट्यो धान रोपाइँ

१४ लाख मेट्रिक टन आयात गर्नुपर्ने कृषि विभागको आँकलन

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । चालु आर्थिक वर्षमा १२ लाख ९१ हजार हेक्टर जमिन मात्र धान रोपाइँ भएको छ । यो अघिल्लो वर्ष २०७९ को तुलनामा एक लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाइँ भएको कृषि विभागले जनाएको छ । गत वर्ष १४ लाख १७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको विभागको तथ्यांकमा छ । गत वर्ष १४ लाख हेक्टर जमिनमा रोपाइँ हुँदा ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथ्यांकमा उल्लेख छ । यो वर्ष रोपाइँ कम भएका कारण करिब तीन लाख मेट्रिक टन धान उत्पादन हुने कृषि मन्त्रालयले प्रक्षेपण गरेको छ ।

अघिल्लो वर्ष ९४ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ८७ प्रतिशतमा झरेको छ । यो वर्ष सबैभन्दा कम धान रोपाइँ मधेश प्रदेशमा भएको छ । उक्त प्रदेशमा गत वर्षको तुलनामा २५ प्रतिशत विन्दुले धान रोपाइँ घटेको छ । सातवटै प्रदेशमा गरी करिब सात प्रतिशतभन्दा बढी कम धान रोपाइँ भएको छ ।

यसवर्ष ढिलो गरी मनसुन सक्रिय भएको र लम्पी स्किनको कारण जोत्ने गोरु बिरामी हुँदा रोपाइँ कम भएको कृषि मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले जानकारी दिनुभयो । अहिले पनि तराईका केही स्थानमा रोपाइँ भइरहेको उहाँले बताउनुभयो । ‘यो वर्ष विभिन्न कारण रोपाइँ कम भएको छ । जसकारण उत्पादनमा असर पर्छ । सरकारले उत्पादन बढाउन एउटा लक्ष्य राखेको थियो । तर, मनसुन कम भएका कारण प्रभावित भयो ।’ उहाँले भन्नुभयो, ‘रोपाइँ जतिसुकै क्षेत्रफलमा भए पनि उत्पादन कस्तो हुन्छ भन्ने मुख्य विषय हो । जसकारण उत्पादनमा अहिले असर पर्छ भन्न मिल्दैन । रोपाइँ कम भए पनि धान औसतमा उत्पादन हुनसक्छ ।’

सरकारले यो वर्ष १४ लाख ८८ हजार हेक्टर जमिनमा रोपाइँ हुने लक्ष्य राखेको थियो । तर, त्यो लक्ष्य प्राप्त हुन नसकेको कृषि मन्त्रालयले नै स्वीकारेको छ । अघिल्लो वर्ष १५ लाख चार हजार ९९० हेक्टरमा रोपाइँ हुने लक्ष्य रहेकोमा १४ लाख १७ हजार ८२९ हेक्टर जमिनमा मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष ९३ प्रतिशत जमिनमा धान रोपाइँ भएकोमा यस वर्ष ८७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा रोपाइँ हुँदा प्रतिहेक्टर औसत ३.७९ मेट्रिक टन उत्पादकत्व भएको थियो । यो वर्ष दुई मेट्रिक टन उत्पादकत्व हुने कृषि मन्त्रालयको अनुमान छ ।

माग बढी, उत्पादन कम
नेपालमा हाल ६५ लाख मेट्रिक टन धानको माग भएको कृषि मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष ५४ लाख ८६ हजार मेट्रिक टन उत्पादन हुँदा करिब ११ लाख मेट्रिक टन आयात गरेर माग परिपूर्ति गरिएको कृषि मन्त्रालयले जनाएको छ । यो वर्ष रोपाइँ कम भएका कारण तीन लाख मेट्रिक टन धान कम उत्पादन हुने कृषि मन्त्रालयको अनुमान छ । मन्त्रालयकै भनाइलाई आधार मान्ने हो भने पनि चालु आर्थिक वर्षमा १४ लाख मेट्रिक टन धानको भार थपिनेछ । जसकारण यो वर्ष सरकारले १४ लाख मेट्रिक टन धानका जगेडा गर्नुपर्ने कृषिविज्ञहरूको भनाइ छ ।

६ लाख मेट्रिक टन चामल अपुग
नेपालमा वार्षिक ६० लाख मेट्रिक टन चामल आवश्यक पर्छ । तर, स्वदेशी उत्पादन भने ५५ लाख मेट्रिक टनमा सिमित छ । चामलमा पनि ६ लाख मेट्रिक टन अपुग भएको कृषि मन्त्रालयकै तथ्यांकमा उल्लेख छ । सरकारले १० लाख मेट्रिक टन धान र एक लाख मेट्रिक टन चामल चाडपर्वसहित मंसिरसम्मका लागि खाद्यान्न धान्ने गरी आयात गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा हाल चामलको मूल्य बढेको छ । रोपाइँ घट्दा स्वदेशी मागअनुसार चामल पूर्ति गर्न चुनौती हुने कृषिविज्ञ हरि दाहाल औँल्याउनुहुन्छ ।

अहिले सिँचाइ अभावका कारण कतिपय किसान आकासे पानीको भरपर्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो । ‘सामान्य अवस्थामा समेत स्वदेशी उत्पादन र मागमा ठूलो अन्तर छ । जसकारण नेपालमा चामलको अभाव हुने प्रष्ट छ । रोपाइँ घट्दा उत्पादन र मागको अन्तर बढेको छ । यो बेला सरकारले चाँडै नयाँ योजना बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘सरकारले धानको विकल्पमा अन्य नगदेबालीको जगेडा गर्नुपर्छ । धानजस्तै अन्य नगदेबालीका लागि सरकारले प्रयोगमा ल्याउनुपर्छ । अहिलेको अवस्थामा यो बाध्यता हो । नत्र नेपालमा चामल अभाव हुँदा मैक, कोदो, फापर र अन्य नगदेबालीमा जोड गर्नुपर्छ ।’ नेपालमा चाहिने चामलमा भारतबाट आउने चामलको हिस्सा पनि ठूलो छ । अहिले भारतले चामलको निर्यात रोकेको छ ।

हाल भारतले निर्यात रोक्दा नेपालमा चामल आयात हुन सकेको छैन । भारतले चामल निर्यात रोक्दा नेपालमा चामलको अभाव हुने देखिन्छ । वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकेको छैन । जसकारण पनि कृषिको उत्पादनमा गिरावट आएको कृषिविज्ञको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?