मेरो भ्वाइसको उपाधि सिक्किमका प्रितम र डान्स युनिभर्सको उपाधि थाइल्याण्डकी खुशीलाई

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड)ले जित्न सफल हुुनभएको छ । ‘मेरो भ्वाइस युनिर्भस’को फष्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’को फष्ट रनरअप देवी गर्बुजा (बेल्जियम) हुनुभयो । शनिबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम पाँच-पाँच प्रतियोगीबाट उहाँहरू छानिनु भएको हो ।

मेरो भ्वाइस युनिभर्स सेकेण्ड रनरअफमा शरद हुमगाईं (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहनुभएको छ । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेण्ड रनरअपमा मिग्मा डी लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहनुभएको छ ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ, फष्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

‘टप फाइभ’ बीचको ‘ग्राण्ड फिनाले’मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फष्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान)ले १० लाख र सेकेण्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उहाँहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद तथा भारत सिक्किम सरकारका कृषि तथा वनमन्त्रीको सहभागिता थियो ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईं अन्तिम पाँचमा हुनुहुन्थ्यो भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डी लेप्चा (सिक्किम), खुशी कार्की (थाइल्याण्ड), देवी गर्बुजामगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा हुनुहुन्थयो ।

पुरस्कार वितरण समारोहमा उक्त फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पु¥याउन सफल भएको बताउनुभयो ।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्थयो भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शंकर बिसी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई हुनुहुन्थ्यो ।

‘कलाकार बन्ने इच्छा थियो’
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा ललितपुरको गोदावरी पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको जिकिर गर्नुभयो । ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ’, उहाँले भन्नुभयो, ‘मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ । आउने दिनमा पनि गर्नेछु ।’
प्रधानमन्त्री प्रचण्डले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्दछ ।’ उहाँले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्न भुमिका खेल्ने बताउनुभयो । नेपाली जहाँ भए पनि नेपालीमन, भाव, संस्कृति र भाषाप्रति गर्व गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधनमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले नेपालीहरू आफ्नो मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छन् भन्ने सन्देश विश्वभर गएको बताउनुभयो ।

प्रतियोगितामा सुरुदेखि नै प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले बेलुकी ५ बजेदेखि १० बजेसम्म कार्यक्रमलाई समय दिनुभएको थियो । उहाँको उपस्थितिले प्रतियोगीलाई हौसला प्रदान गरेको आयोजक पक्षले जनाएको छ । कार्यक्रमले संसारभर छरिएका नेपाली भाषीहरूको एकता र सहकार्यको सन्देश दिएको समेत आयोजक पक्षले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?