छाउपडी : प्राकृतिक विषयमा सांस्कृतिक बहस

Read Time = 20 mins

✍️ घनश्याम कोइराला

हामीकहाँ सभ्य हुनकै लागि पनि थुप्रै बहस गर्न परिरहेको छ । बहस भनेको वादविवाद हो । वादविवादबाट संवादमा पुगिन्छ । संवादको निष्कर्ष नै मेलमिलापको विषय वा मिलनबिन्दु हो । त्यसैले, कुनै विवाद निरर्थक हुँदैन, निरर्थक बनाउनु पनि हुँदैन । भनिएको पनि छ, ‘वादे वादे जायते तत्वबोध’ अर्थात् वादविवादबाट वास्तविकता बोध हुन्छ । भोग्नेहरूका लागि असाध्य पीडा हुने, तर ससाना लाग्ने सामाजिक विषयको बहस सिध्याएर विकास, उन्नति, प्रगति आदिबारे बहसमात्र गर्ने दिन कहिले आउला ? मानिसले मानिसलाई छुने कि नछुने, कस्तो विशेष अवस्थामा कहाँ कसरी व्यवस्थापन गर्ने ? सामान्य अवस्थालाई सामान्य रूपमा स्वीकारिने कहिले र कसरी बनाउने होला ?

केही समयअघि कार्यक्रमको सिलसिलामा केही विदेशी सामाजिक अभियन्ताहरूसँग भेटघाट हुँदा ‘छाउपडी के हो ?’ भन्ने प्रश्न गरे । मैले ‘महिलाहरूको महिनावारी चक्र हो’ भनँे, तर उनीहरूले पत्याएनन् । उनीहरूको तर्क थियो, ‘त्यो त प्राकृतिक कुरा हो, जहाँ पनि हुन्छ तर नेपालमा त घरदेखि टाढा बाख्रा पाल्ने खोरजस्तो बनाएर राख्छन् रे, त्यो होइन र छाउपडी ? म त अक्क न बक्क ! यो हाम्रा घरको कुरा अरूले सोद्धै, फोटो खिच्दै हिँड्ने विषय बनेको छ । मेरो जानकारीमा छ, अहिले पनि विदेशी मानिसहरू नेपालीहरूकै सहयोगमा छाउपीडितहरूसँग अन्तर्वार्ता लिने र छाउगोठहरूको फोटो-भिडियो खिचेर सुधारोन्मुख हुँदै गएको हाम्रो समाजका परम्परागत विकृतिहरूको व्यापार भइरहेको छ । एकातिर रजस्वलाबारे थपजनचेतना विस्तार गर्दै यसको मर्यादित व्यवस्थापन गर्न आवश्यक छ भने समाजका कमजोरीलाई व्यवसाय बनाउनबाट रोक्नु आवश्यक छ ।

रजस्वला हुनुलाई सुदूरपश्चिम र कर्णालीतिर छाउपडी भनिन्छ । छाउपडी प्रथाको विषयमा पढेर, सुनेर जान्नेको संख्या ठूलै होला । तर यस्तो अवस्थाका महिलाहरूको पीडा देख्नेको संख्या अलिक कम र भोग्नेको संख्या त्यसभन्दा पनि कम हुनु स्वाभाविक हो ।

मानिसले प्रकृतिको महत्व बुझेको छ । प्रकृतिलाई बुझ्न सकिन्छ । मानिसले प्रकृतिलाई जितेर आप्mनो हित गर्ने प्रक्रियामा संलग्न हुनु नै मानव-प्रकृतिबीच द्वन्द्वको प्रथानबिन्दु हो । आखिर, मानिस पनि प्रकृतिकै उपज हो तर जन्मेपछि भने मानिस प्राकृतिक रहँदैन, ऊ सामाजिक बन्छ । त्यसैले मानिसको सामाजिकीकरणको यात्रा सभ्यता र विकासको यात्रा हो । समाजर संस्कृति मानव निर्मित भएको हुनाले यसलाई फेर्न सकिन्छ । फेरिँदै गएर नै मानिस सभ्य भएको हो । सभा-समूहमा बस्न योग्य हुनु नै सभ्य हुनु हो ।

समाज भनेकै मानिसहरूको अन्तक्र्रित्मक समूह हो । महिला र पुरुष प्राकृतिक चिनारीका हिसाबले पृथक अवश्य छन् । केही मानिसहरू महिला र पुरुषमध्ये कुनै चिहृन नभई पृथक चिहृन लिएर जन्मेका पनि हुन्छन् । यी बाहेकका विषय मानवनिर्धारित हुन् । तेस्रो लिंगीका रूपमा जन्मेकाहरूको लैंगिक, यौनिक विषयमा मानिसहरू स्पष्ट छैनन् र उनीहरूका पृथक मनोविज्ञानबारे सम्वेदनशील पनि छैनन् ।
महिला हुन् वा पुरुष, बाल्यावस्थाबाट किशोरावस्थामा पुगेपछि बाहृय शारीरिक रूपमा र आन्तरिक रूपमा पनि परिवर्तन आउँछ । रजस्वला हुनु महिलाहरूमा आउने त्यस्तै परिवर्तनमध्येको अवस्था हो । प्राकृतिक हिसाबले यो सामान्य विषय हो भने प्रजनन्का हिसाबले यो महत्वपूर्ण प्राकृतिक अवस्था हो । यसमा किशोर अवस्थाका महिलाको प्रजनन् अंगबाट रक्तस्राव (रगत निस्कने) हुन्छ । यसलाई स्वास्थ्य विज्ञानले अनेकौं ढंगले स्पष्ट पारेको छ ।

रजस्वला हुनुलाई सुदूरपश्चिम र कर्णालीतिर छाउपडी पनि भनिन्छ । छाउपडी प्रथाको विषयमा पढेर, सुनेर जान्नेको संख्या ठूलै होला । तर यस्तो अवस्थाका महिलाहरूको पीडा देख्नेको संख्या अलिक कम र भोग्नेको संख्या त्यसभन्दा पनि कम हुनु स्वाभाविक हो । कतिलाई त यो प्रथाको विषयमा थाहै नभएको पनि हुन सक्दछ । पहिले यसको विषयमा बुझौं ।

‘छाउपडी’ सिंगो शब्द ‘छाउ’ र ‘पडी’ मिलेर बनेको देखिन्छ । ‘छाउ’ भनेको रजस्वला र ‘पडी’ भनेको पड्नु (पर्नु) वा हुनु हो । यसरी छाउपडी भनेको रजस्वला हुनु हो । अन्यत्र यसलाई पन्छिनु, परसर्नु आदि भनिन्छ । शास्त्रमा, साहित्यमा भने यसलाई रजोवती हुनु, रजोदर्शन हुनु, रजस्वला हुनु, ऋतुमती हुनु आदि उल्लेख गरिएको पाइन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा (सबै जिल्लामा नरहेको हुनसक्दछ) रजस्वला भएका महिलालाई छुट्टै छाप्रो/गोठ बनाएर राख्ने चलन छ । यस प्रचलनलाई शास्त्र, धर्म, देवीदेवतासँग पनि जोडेर हेर्ने, बोल्ने र बुझ्ने गरिन्छ ।

अर्थको हिसाबले शास्त्र भनेको विज्ञान हो, जसलाई अंग्रेजी भाषामा साइन्स (Science) भनिन्छ । गृहविज्ञान, राजनीतिशास्त्र, चिकित्साशास्त्र/चिकित्सा विज्ञान-आदि भनाइहरूबाट यो पुष्टि हुन्छ । शास्त्रहरूमा रजोवती महिलाहरूले पालन गर्नुपर्ने नियमहरूका विषयमा विभिन्न विषयहरूको उल्लेख भए तापनि छाउगोठमा बस्ने प्रावधान कतै छैन । वेदमा त स्पृश्यास्पृश्यको (छुने, नछुने) विषय पनि पाइँदैन । वैदिक, पौराणिक नारी पात्रहरूको सन्दर्भहरू खोज्दा पनि यस विषयमा केही भेटिँदैन । बरू यस्तो अवस्थामा छुट्टै राखेर, परिश्रमबाट पृथक राखेर विशेष सुरक्षा गर्न खोजिएको र पछि यही विषय कडा नियम बन्दै र चल्दै आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अन्यथा एउटै धर्म मान्ने जाति-समुदायका मानिसहरूमध्ये पश्चिमकाले मान्नुपर्ने र पूर्वकाले मान्नु नपर्ने भन्ने हुँदैनथ्यो ।

शास्त्रमा मानिसको जन्मदेखिको अवस्थालाई शिशु, बाल, पौगण्ड, किशोर, युवा, प्रौढ, वृद्ध आदि अवस्थामा बाँडिएको पाइन्छ । उमेरको अवस्थासँगै मानिसको बाहिरी र भित्री अवस्थाहरूमा समेत परिवर्तन भइरहेको हुन्छ । यस्तो परिवर्तन हामी सबैले देखे-जानेकै विषय हो ।
रजस्वलाको प्रारम्भ भनेको शिशु बालिका किशोर अवस्थामा पुग्नु अर्थात् किशोरी हुनु हो । मानिसले बनाएर हुने वा भएकाबाहेक सबै कुरा प्राकृतिक हुन् । यो रजस्वला/छाउ हुनु नितान्त प्राकृतिक अवस्था हो । रजस्वला हुनु भनेको स्त्रीजातिको नियमित, अनिवार्य प्राकृतिक परिघटना हो । रजस्वला हुनु भनेको प्रजनन् क्षमतातर्फको प्राकृतिक उन्नयन हो । रजोवती हुने विषयलाई चाणक्यनीतिमा नारीको शुद्धीकरणको प्रक्रियाको रूपमा लिइएको छ :
‘भस्मना शुध्यते काँस्यं ताम्रमम्लेन शुद्ध्यति ।
रजसाशुध्यति नारी नदी वेगेन शुद्ध्यति ।।
अर्थात्, काँस खरानीले शुद्ध हुन्छ, ताँबो अमिलोले शुद्ध हुन्छ, रजस्रावले नारी शुद्धिन्छन्, नदी बेगले शुद्ध हुन्छ ।’
वेदमा नभएको तर विभिन्न स्थानहरूमा रजस्वला हुने विषयलाई फरक-फरक ठाउँमा फरक-फरक मान्यता राखेको देखिन्छ । यसलाई कहीं रजोवती भएकी महिलाले पकाएको खाना दूषित हुने, कहीं यस्तो अवस्थामा नुहाएमा निःसन्तानपन हुन सक्ने, कहीं उनीहरूलाई घरमा राखेमा देवी-देवता रिसाउने र अनिष्ट हुने, कहीँ यसलाई नियमित रोगको रूपमा लिने अनुमान र अन्धविश्वास पालिएको देखिन्छ ।
रक्तस्राव हुने भएको हुनाले सरसफाइमा उचित ध्यान दिन नसक्ने हो भने यो फोहोरी अवस्था पनि हो । यस्तो अवस्था सरसफाइ हुनुपर्ने, गह्रौं काम गर्न नहुने, उचित पौष्टिक आहार खानुपर्ने अवस्था हो । रजस्वला भएको समयमा उनीहरूमा केही शारीरिक कमजोरी हुने, रक्तस्रावबाट फोहोर हुने भएको हुनाले हाम्रो समाजमा उनीहरूलाई कामबाट अलग राख्न नछुने भएको, परसरेको पनि भन्ने चलन चलेको हुनुपर्छ ।

वास्तविकता जेसुकै होस्, शास्त्र, धर्म र देवीदेवताको छर देखाएर अनुशासित राख्न खोज्ने प्रचलन छ । रजस्वता व्यवस्थापनका विषयमा पनि देवीदेवताकै डर देखाइएको पाइन्छ । धर्मशास्त्रमा भिन्न प्रसंगमा यसबारे केही लेखिएको पनि छ । तर, छाउगोठ बनाएर गरिने व्यवस्थापनजस्तो कठोर कुरा शास्त्रमा देखिँदैन । कहीँकहीँ अर्को जन्मको विषय देखाएका कथा पनि सुनिन्छ, तर त्यो अनुशासनका लागि हो भन्ने स्पष्ट देखिन्छ । शास्त्र लेखिएको समय र वर्तमान समय फरक हो, गाईले दिने दूध पसलेले निदे जमाना आइसक्यो ।
शास्त्रको अनुशासन मान्ने हो भने शास्त्रमा यस्ता प्रावधान पनि छन्-
‘प्रथमर्तौ अक्षतैरासनं कृत्वा तत्र तामुपवेश्य पतिपुत्रवत्यः स्त्रियो हरिद्राकुङ्कुमगन्धपुष्पस्रक्ताम्बूलादि तस्यै दत्वा दीपैर्नीराज्य सदीपालङ्कृते गृहे तां वासयेयुः । सुवासिनीभ्यो गन्धादिकं लवणमुद्गादि च दद्यात् ।
अर्थात्, पहिलो पटक कन्या रजस्वला हुँदा बस्ने ठाउँमा अक्षता बिछ्याइदिएर त्यसमाथि ती कन्यालाई राखेर पति र पुत्र भएका स्त्रीहरूले बेसार, केसर, चन्दन, पूmल, माला, पान आदि कुरा ती कन्यालाई दिएर आरती गरेर उनलाई बत्तीहरूले सिँगारिएको घरमा लगेर राखिदिनुपर्छ । त्यसबेला विवाहित युवतीहरूलाई नुन र मुगीमास आदि दिनुपर्छ, दान गर्नुपर्दछ ।’ (धर्मसिन्धुसार)
यस प्रावधान अनुसार रजस्वला हुँदा फरक राख्ने आसय देखिन्छ, तर यसको आसय अँध्यारो, कष्टकर, असुरक्षित ढंगले टाढा राख्नु भन्ने होइन, बरू उत्सव नै गर्नुपर्ने विषय मुख्य देखिन्छ ।

आफ्नो घरका अत्यन्त आत्मीयजन श्रीमती, बुहारी, छोरी...लाई घरबाट टाढा असुरक्षित र अस्वस्थकर स्थानमा राख्नु विज्ञानसम्मत त छँदै छैन, शास्त्रसम्मत पनि देखिँदैन । शास्त्र भन्दछ : ‘रक्षेत्कन्यां पिता बाल्ये यौवने पतिरेवताम् बाल्यकालमा पिताले कन्याको रक्षा गर्नुपर्छ र यौवनमा पतिले रक्षा गर्नुपर्दछ ।’ पतिं विना न तिष्ठेत दिवा वा यदि वा निशि दिउँसोमा होस् वा रातिमा पति नभएका ठाउँमा स्त्रीले एकान्त बस्नु हुँदैन । (गरुडपुराण) यहाँ सुरक्षा दृष्टिकोणले यस्तो प्रावधान गरिएको छ । सुरक्षा र नियन्त्रण एउटै विषय होइन ।

रजस्वला भएको अवस्था सरसफाइ हुनुपर्ने, गह्रौं काम गर्न नहुने, उचित पौष्टिक आहार खानुपर्ने अवस्था हो । उनीहरूमा केही शारीरिक कमजोरी हुने, रक्तस्रावबाट फोहोर हुनेभएको हुनाले उनीहरूलाई कामबाट अलग राख्न नछुने भएको, परसरेको पनि भन्ने चलन चलेको हुनुपर्छ ।

यस भनाइले सुरक्षाको दायित्व स्पष्ट पारेको छ । यसले माइतमा होस् वा घरमा, महिलालाई असुरक्षित हुनबाट जोगाउने दायित्व नै तोकिदिएको छ । यो कथनले विवाह भएकी महिलालाई एकान्तमा राख्ने कुराको स्वतः खण्डन गरेको छ । अर्थको अनर्थ गरेर महिलालाई कष्ट दिने काम धर्म होइन । महिलालाई शास्त्रमा शुद्ध, सुन्दर र पवित्रका प्रतीक मानिएको छ । यसै कारणले स्वागत, बिदाइ, साइत-सगुन आदिमा स्त्रीहरूलाई अघि लगाइन्छ । हिन्दू धर्मशास्त्रहरूमा निकै कठोर नियम भएको शास्त्रको रूपमा चिनिने गरुडपुराणमा नारीको शुद्ध, सुन्दर र पवित्रको विषयमा यस्तो लेखिएको छ :-
‘सोम शौचं ददौ तासां गन्धर्वश्च शुभां गिरम् ।
पावकः सर्वदा मेध्यो मेध्यो वै योषितो हृयतः ।।
अर्थात्, सोमले शुद्धता, गन्धर्वले सुन्दर वाणी र अग्निले पवित्रता दिएका हुनाले स्त्रीहरू सधैं नै चोखा हुन्छन् ।’ यसलाई महिलाहरू कहिल्यै अपवित्र नहुने प्रमाणको रूपमा लिन सकिन्छ । गरुडपुराणका प्रावधान साह्रै डरलाग्दा मानिन्छन् । मासिहरूलाई आफ्नो कर्तव्यमा रहनको लागि यस ग्रन्थमा गरिएका व्यवस्था भयानक छन् । यही कारणले यसमा भएका अनेकौं कालजयी उपयोगी विषयसमेत विरोध र कटु आलोचनाका विषय बनेका छन् । तर महिलाहरूका विषयमा यसमा रहेका प्रबन्धहरू पालन गर्दा कसको के अहित छ र ?

शास्त्रको कथन छ- ‘आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात् आपूmलाई नराम्रो लाग्ने व्यवहार अरूसँग नगर्नू । शास्त्रको यस्तो भनाइको पालनाका दृष्टिले पनि कसैले कसैलाई दुःख दिनु हुँदैन र छाउ भएका महिलालाई गोठमा राख्ने प्रचलन उनीहरूको सुख-सुविधाका लागि नभएको स्पष्ट नै छ ।

रजस्वला वा छाउ हुनु सामान्य प्रकृतिक विषय हो । सांस्कृतिक हिसाबले हेर्दा यो प्रजनन्का लागि अत्यन्त महत्वपूर्ण र विशेष अवस्था हो । हरेक प्राकृतिक विषयलाई गिजोल्ने काम उचित हुँदैन । उतिबेला ‘नछुने’ परम्परा नराम्रो होइनहोला, तर अहिले समय फेरिएको छ, चेतना विकसित भएको छ, कामका क्षेत्र फेरिएको अवस्था छ ।

रजस्वलालाई नछुने किन ठानियो होला ? किन छुट्टै राख्ने चलन चलाइयो होला ? सबैतिर छाउगोठमा नै बस्नुपर्ने किन बनाइएन होला ? यदि यो धर्मको विषय हुन्थ्यो भने एउटै धर्म मान्नेहरूबीच व्यवस्थापनका फरक तरिका किन अवलम्बन गरियो होला ? सुदूरपश्चिम, कर्णाली र अन्यत्रका बीचमा किन फरक तरिका अपनाइयो होला ? यी सबै कुराको खोजी गरियो भने विज्ञानसम्मत समाधान निस्कन सक्दछ, तर दुर्भाग्य, यसो नगरी अवलम्बन र यसो नगरी विरोध गरियो । यी दुवै प्रवृत्ति अन्धविश्वास हुन् ।

अब मानिसले परम्परा हेरेर नभई उचित-अनुचित हेरेर व्यवहार गर्न सक्ने अवस्था छ । अमर्यादित, असुरक्षित, अव्यावहारिक परम्परा फेरेर नयाँ संस्कृति निर्माण गर्नुपर्दछ । नबिक्ने व्यापार र नटिक्ने व्यवहार फेर्नु नै बुद्धिमानी हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?