आचार्यको लबिङमा स्वास्थ्यमन्त्री बस्नेत

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत देखिनुभएको छ । उहाँले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यानमार, भुटान, श्रीलंका, थाइल्याण्ड, कोरियालगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग आचार्यका पक्षमा लबिङ गर्नुभएको हो । डब्लुएचओका तीनवटा महत्वपूर्ण कार्यक्रममा भाग लिन भारतको गुजरात जानुभएका मन्त्री बस्नेतले त्यहाँ बस्दा नेपाल सरकारले डब्लुएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकका उम्मेदवार जनस्वास्थ्य विज्ञ डा. आचार्यको पक्षमा मत दिन आग्रह गर्दै लबिङ गर्नुभएको थियो ।

एक साता लामो भारत भ्रमण सकेर सोमबार स्वदेश फर्कनुभएका स्वास्थ्यमन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफूले नेपाल सरकारका तर्फबाट डा. आचार्यको पक्षमा मत मागेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘डा. आचार्यको उम्मेदवारी हामी सबै नेपालीका लागि प्रतिष्ठाको विषय हो । मैले भारतमा बस्दा डब्लुएचओ ‘सेरो’ देशहरूका स्वास्थ्य मन्त्रीहरूलाई भेटेर नेपालको उम्मेदवारीको विषयमा कुराकानी गरेर मत मागेको छु । सबै पक्षबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।’

लामो समय विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेर निर्देशकका रूपमा काम गरिसक्नुभएका डा. आचार्य आउँदो महिना हुने डब्लुएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशक निर्वाचित भए नेपालको स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने बताउँदै मन्त्री बस्नेतले यस विषयमा नेपाल सरकारले अझै प्रयास जारी राख्नेमा जोड दिनुभयो । डब्लुएचओ ‘सेरो’ मा दक्षिणपूर्वी एसिया क्षेत्रका ११ वटा देश पर्छन् । क्षेत्रीय निर्देशकमा विजयी हुनका लागि ६ मत आवश्यक पर्छ ।

डब्लुएचओ ‘सेरो’का सदस्य देशहरूमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, टिमोर लेस्टे, इण्डोनेसिया, माल्दिभ्स, म्यानमार र दक्षिण कोरिया सदस्य छन् । डा. आचार्यसँगै बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदकी पुत्री सैमा वाजेद पनि उम्मेदवार हुनुहुन्छ । दुई कार्यकाल भारतकी डा. पुनम क्षेत्रपालले क्षेत्रीय निर्देशक भएर आउँदो महिना कार्यकाल सकिन लागेको छ । डब्लुएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकको चयन आउँदो अक्टोबरको अन्तिम हप्ता हुनेछ ।

फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु हुँदैन
यसैबीच मन्त्री बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनुनपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरूका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दावी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताउनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘यसरी फर्मासिष्ट बिनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौ ।’ केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरूको अनुगमनका क्रममा धरै जसो फार्मेसी फर्मासिष्ट विनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिपिकेट राखेर चलाइरहेको र फार्मेसी पढीरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशिल चिजको बिक्रिबितरणमा बदमासी गर्नेहरूलाई कडा भन्दा कडा कारवाही गर्न पछिनपर्ने बताउनुभयो । औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरूले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभयो ।

विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरूको अनुगमनको काम गर्न नसकिरहेको बताउनुभयो । ढकालले गत वर्ष मात्र तीन हजार भन्दा बढी फार्मेसीको निरीक्षण गरेको, दुई हजार नया फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई विक्रीबितरणमा रोक लगाइएको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानून कार्यन्वयन महासाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोकगरी ३२ हजार औषधि पशल रहेको जानकारी दिदै दैनिक सातदेखि १० वटा औषधि पशल दर्ता हुने गरेको बताउनुभयो ।

क्षेत्रीले हालै साउनमा मात्र १९० औषधि पसलको अनुगमन गरेको बताउनुभयो । तीन दिनसम्म चल्ने क्षमता अभिवृद्घि तालिममा सय भन्दा बढी फर्मासिष्ट, सहायक फर्मासिष्टहरू सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?