बन्द गर हल्लाहरू

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 17 mins

समाज गतानुगतिक हुन्छ । परम्परादेखि मान्छेले जेमा विश्वास गर्‍यो त्यसैमा बद्धमूल भएर लाग्छ । त्यो कुरो ठीक हो या होइन भनेर अति थोरै मान्छेले मात्रै विश्वास गर्दारहेछन् । मेरा पिताजी आफ्ना युगको आफ्ना ठाउँको विख्यात पण्डित हुनुहुन्थ्यो । बिहानैदेखि अनेकौं कामले बालाई भेट्न आउने बुढाबुढा पनि बालाई गोडामा निधार राखेर ढोग्थे र नजिकै बसेको मलाई पनि सानो पण्डित, जी गरौं भनेर मेरा गोडा समातेर ढोग्थे । म नाकको सिँगान पुछ्न पनि नसक्नेलाई किन त्यसरी ढोगेका होलान् भनेर अचेल म घण्टौं घोत्लिने गर्दछु । अलि हुर्किएपछि म माओल गएँ । मेरा मावलका हजुर्बा पनि प्रसिद्ध पण्डित हुनुहुन्थ्यो, त्यहाँ चाहिँ मलाई ढोगेनन् ।

मैले हजुर्बासँग झगडा पनि गरेँ । कुनै दिन कान्छा हजुरबाका घर गएँ, त्यहाँ मामा (पुरुषोत्तम दाहाल) पनि हुनुहुन्थ्यो हामी खेल्थ्यौं । त्यहाँ पनि मलाई नढोगेपछि कान्छी हजुरआमासँग घरमा त सबैले मलाई ढोग्थे । यहाँ त कसैले ढोग्दैनन् भनेर झगडा गरेको मलाई सम्झना छ । पछि मैले कतै नीतिश्लोक पढेँ-‘गतानुगतिको लोकः कुट्टनिमुपदेशकम्, प्रमाणयतिनो धर्मे यथा गोघ्नमपि द्विजः’ । अर्थात् गौमारा नै भए पनि बाहुन पूज्ने तर चान्द्रायणव्रती भएपनि कुट्टिनीलाई घृणा गर्ने भुल गर्छ लोकले । मान्छे जातका कारणले होइन कर्म र आचरणका कारणले पूजित र घृणित हुनुपर्छ । बाहुन भएर दिनभरि ऋषिमुनिका भेषमा, रातभरि सिसीमुनिको कर्म गर्ने र जनैमा जुम्राले स्थायी घरवास गर्ने व्यवसाय भएका व्यक्तिलाई के भन्ने ?

यस्ता धेरै छन् हाम्रा समाजमा । सामाजिक व्यक्तित्व बनाउने हो भने आचरण पनि तदनुरूपकै लोकाकर्षक हुनुपर्छ भनिन्थ्यो । अहिले यो मान्यतामा परिवर्तन ल्याएका छन् भ्रष्टाचारी ठालुहरूले । निर्णय गर्ने शिष्टाचारी हुने, अरौटे भरिया भ्रष्टाचारमा पर्ने जस्तै । धन्यवाद छ सर्वोच्चलाई जसले ती ठालुका पनि घोक्रामा हात पुर्‍याउने अधिकार दियो सम्बद्ध संस्थालाई । समाजमा हैहुकुम चलाउने, दुई–चारजना अगाडिपछाडि लाएर हिँड्नेलाई अचेल हामी महान् ठान्न थालेका छौं । वैयक्तिक चरित्र, चिन्तन र कुल, संस्कार उहिलेका कुरा खुइलेमा परिणत भएका छन् । कृतघ्न, ज्यानमारा महान् घोषित गरिन्छ ।

नेपाली कांग्रेस जस्तो सत्य, अहिंसा, प्रजातन्त्र, समानता र स्वतन्त्रताको पक्षधर पार्टीले पनि बम बन्दुक चलाएको थियो तर यसका बेला, बम र बन्दुक बोक्ने नै राज्यका तर्फबाट आहत थिए । बम माग्न गएका मान्छेलाई यसका कमाण्डर भन्ने गर्दथे ‘मान्छे नमरून्, विकास निर्माणका स्मारक नभत्किऊन् ।’

आज म वर्तमान नेपालको राजनीतिक चरित्रको कुरो गर्दैछु । अहिले निकै चर्चामा रहेका ठूला नेता र धेरैले भन्ने गरेका ‘बा’ विगतमा मान्छे काटेर ज्यानमाराको अभियोगमा १४ वर्ष जेलसजाय भोगेर आएका व्यक्ति हुन् । उनले पनि आफू संलग्न राजनीतिक अभियानको दर्शन अनुसारै यो अपकर्म गरेका थिए । मान्छे मारेर समानता ल्याउने पनि दर्शन छ दुनियाँमा । यसरी हेर्दा अपकर्मको राजनीतीकरण र राजनीतिको आपराधीकरण गर्नुछ भने कुनै पनि वृत्तको कम्युनिस्ट बने हुनेरहेछ । उनी यो देशको तीन-तीन पटक प्रधानमन्त्री पनि भइसके अब ज्यानमारा भन्ने ‘शब्द’ शब्दकोषबाट हटाउने कि राख्ने भन्ने प्रश्न उब्जिएको छ ।

अहिले नै प्रधानमन्त्रीका कुर्सीमा बसेका व्यक्तिले पनि कुनै दिन नेपाललाई बालक सुतेको कोक्रो मच्चाए झैँ मच्चाएका थिए हिंसा हत्याका माध्यमले । केही बन्दुक र बम खोलाले बगाएछ । कुनै चाहिँ खिया लागेछन् । नेपाली कांग्रेस जस्तो सत्य, अहिंसा, प्रजातन्त्र, समानता र स्वतन्त्रताको पक्षधर पार्टीले पनि बम बन्दुक चलाएको थियो तर यसका बेला, बम र बन्दुक बोक्ने नै धेरै राज्यका तर्फबाट आहत भएका थिए । बम माग्न गएका मान्छेलाई यसका कमान्डर भन्ने गर्दथे ‘मान्छे नमरून्, विकास निर्माणका स्मारक नभत्किऊन् । भोलि हामी सरकारमा गएपछि पनि विकास गर्नैपर्छ, मान्छे हामी बनाउन सक्दैनौं, अतः तिनलाई मार्ने पनि हामीमा अधिकार छैन ।

जेल भगवान कृष्णको जन्मस्थल हो, त्यहाँ बस्दा सदाचरण पालन गर्नुपर्छ’ भन्नेसम्मको शिक्षा दिने गर्दथे । यो शिक्षा लिने मौका कुनै दिन मैले नै पनि पाएको थिएँ । आवश्यक पर्दा जनताका लागि संकीर्ण शासनलाई विस्थापन गरी प्रजातन्त्र स्थापनाका निमित्त जाहाज अपहरण पनि यसले ग¥यो । तानाशाही शासनको मूल मान्छे राजा भएको हुनाले उसैका टाउकामा बम पनि पड्कायो । कुनै दिन राजा प्रजातन्त्रका निमित्त सहमत भयो भने बबुरा पञ्चलाई किन सताउँछौ ? पख, यिनका गुरुलाई नै म प्रजातन्त्रका पक्षमा ल्याउन सक्छु कि ? भनेर यस दलका सर्वोच्च नेताले नै भनेका पनि थिए ।

लामो संलग्नाता, ठूलो दुःख गरेर आर्जन गरेको कुरो टिकाउन मान्छेले, संस्थाले आफूलाई लचिलो बनाउँदोरहेछ । आए बाबुको न गए साहुको वस्तुमा बहुसंख्यक मान्छेले वास्ता राख्दोरहेनछ । अहिलेका नाम चलेका तिनै दलका टाउकेका चरित्रबाट स्पष्ट भइसकेकै छ । यिनकै चरित्र र चिन्तनका कारणले यस देशमा जनता संस्कार संस्कृतिविहीन भए । देश बद्नाम भयो । तस्करको बैकुण्ठ भनेर देशको नाम चलाए । राजनीतिलाई अस्थिर अनि पारम्परित बिर्ता बनाए । देशले आस गर्नलायक तरुण पुस्तालाई डाँडो कटाउने र बुढाबुढी बालबालिका मात्र रहनसक्ने वातावरण बनाए । रेशम चौधरीको जयजय गरे ।

धेरैले आस गरेका छन् । डा.शेखर कोइरालाले मेलमिलापपूर्ण किसिमले कदम चाले भने आसलाग्दो चरित्र र चिन्तन भएका तमाम मान्छेलाई यिनले समेट्न सक्छन् । जनताले पनि विश्वास गर्छन् । डा.शेखरले १४औं महाधिवेशनमा हिम्मत गरेर पनि देखाए र चिन्तन पनि प्रदर्शन गरेका हुन् तर ‘घर दही त बाहरो दही’ हुनसकेन । घरका तीनजना सदस्य तीनतिर हुँदा पनि न आक्रोश, न बिलौना, केबल कर्ममा एकलव्यभावले लागेर मौलिक संस्कार तथा संस्कृतिको प्रभाव प्रदर्शन गरेको देखियो । भर्खरै प्रदीप, गगन र विश्वप्रकाशसँग कुराकानी गरेर एक ढिका बनेर कांग्रेसलाई लिकमा ल्याउने कुरो बाहिर आएको छ । यो राम्रो र संस्कारको अभिलक्षण पनि हो ।

मान्छेले खान, अपकर्म गर्न एक्लै सक्ला तर समाज रूपान्तरण र राष्ट्र निर्माणमा सबैको सरसल्लाह र सहयोगको आवश्यक्ता पर्दछ । हाम्रा देशको समाज र राष्ट्रियसञ्चार गतानुगतिक छन् । कोही बोलो भने पनि शंका, बोलेन भने पनि शंका, न बसी सुख न उठी सुख । डा. शेखर शेरबहादुर हुन सक्दैनन् । उनी केशव र नोना कोइरालाका कान्छा छोरा हुन् । केशव र नोना जसले घरपरिवारका सारा (बीपी, तारिणी र गिरिजा)लाई तन, मन, धनले राजनीति गर्न घर थेगेर सहयोग गरेका थिए । नोना कोइराला नेपाली कांग्रेसमा सर्वाधिक शक्तिशाली थिइन् । तमाम कार्यकर्ताले नोना आमा भनेर आदर गरेएकी व्यक्ति हुँदा पनि कुनै पदमा जान कहिल्यै इच्छा गरिनन् ।

सुशीला कोइराला, रोषा कोइराला घरमा नै सीमित भएका थिए । यिनीहरू मंगला, डा.आरजुभन्दा शक्तिहीन थिएनन् । संस्कार संस्कृति भनेको यो हो । एक परिवार एक व्यक्ति एक कर्म । सरोज कोइराला छउन्जेल लीला कोइराला घरमा र कार्यकर्ता तथा पति, पुत्र, पुत्री सेवामा सलग्न रहेकी थिइन् । आजका कतिपय नेतापत्नीहरू ठूला नेताका श्रीमती हौं भनेरमात्रै सन्तोष गर्दैनन् । दशकौंदेखि पेरुंगेपेटमा खटेका कांग्रेसीलाई रुवाएर, शेखी झारेर, सांसद बनेका छन् । आफ्नो हात जगन्नाथ भनेको यही हो । यो विवेकहीनताको आचरण र संस्कारहीनताको स्मारक हो । ‘धरला देलहुँ बन्दुक तँ भर्‍यगेलहुँ हबलदार’ भएको छ ।

कोही कसैको सधैं अनुयायी हुँदैन/रहँदैन भन्ने पनि बुझ्नुपर्छ । संस्कार आचरण कुनै थर घरानको पेवा होइन । साँझ सधैं रहँदैन, बिहान पनि हुन्छ र सूर्योदय पनि हुन्छ, कसैले चाहँदैमा यो ‘ऋतु’ हो यसलाई रोक्न सकिँदैन ।

नेपाली कांग्रेसमा विधि, नीति, आचरण, नवचिन्तन, अनुशासन, त्याग र निष्ठा तथा सहनशीलता हराएका छन् । यी कुरा जुन राजनीतिक दलले गरेर नेपाल निर्माण र संस्कार संस्कृति स्थापना गरे हुन्छ । सञ्चारका माध्यममा, सर्वत्र डा.शेखर र शेरबहादुर मिले भनेर दुष्प्रचार गरेका छन् । गगनलाई शेखरले नै आफ्ना टिमबाट महामन्त्री बनाएका हुन् र यिनका सोच, चिन्तन र अभियानमा कुनै परिवर्तन आएको देखिँदैन । गगनजीको संस्कार संस्कृति जनताले मूल्यांकन गर्लान् । राजनीतिमा निष्ठा, पारस्परिक विश्वास र दृष्टिकोणले एक ठाउँमा राख्ने हो भन्ने कुरामा सबैले विश्वास गर्नुपर्छ ।

कोही कसैको सधैं अनुयायी हुँदैन/रहँदैन भन्ने पनि बुझ्नुपर्छ । संस्कार आचरण कुनै थर घरानको पेवा होइन । साँझ सधैं रहँदैन, बिहान पनि हुन्छ र सूर्योदय पनि हुन्छ, कसैले चाहँदैमा यो ‘ऋतु’ हो यसलाई रोक्न सकिँदैन । एकदिन डा.शेखरसँग मेरो भेट भएको थियो । हुँदै आएको दुष्प्रचार तथा हरेक ठाउँमा राजनीतिकरण र प्रजातन्त्रवादी प्राध्यापक संघको तदर्थ समितिका सम्बन्धमा प्रश्न गरेको थिएँ । डा.कोइरालाले नयाँ सोचको कुरो गरे ‘म शेरबहादुरजीसँग चुनावमा भिडेकै हुँ । ममा केही खामी भएर त होला साथीहरूले शेरबहादुरजीलाई रोज्नुभयो । यो त स्पष्ट छ ।

आयो कुरो मिलेको एउटा दलमा चुनावमा प्रतिस्पर्धा गरेपछि कि तँ नाईं कि मनाईं गरेर काम चल्छ ? दल दलका रूपमा अघि बढ्न सक््छ ? केही सल्लाह गर्न नीतिगत कुरा गर्न सभापतिजीले बोलाएका बेला जान्छु । आनावश्यक कसैको प्रशंसा या निन्दा म गर्दिन तपाईंलाई थाहै छ । मेरा बाआमा, काका, ठूलाबाले पनि त केही संस्कार दिएका होलान् नि भने’ । हुन पनि हो, पञ्चायतको विकल्प खोज्न देशाटन गर्दा गिरिजाबाबु पञ्चायत प्रवेश गर्न लाग्नुभयो भनेर पत्रपत्रिकाले हल्ला चलाए । यसलाई गणेशमानजीले पनि आफ्नै मुखले बोल्नुभयो तर गिरिजाप्रसाद कोइरालाले कहिल्यै कसैलाई दुर्वाच्य बोलेनन् । त्यही रक्तपरम्पराबाट हुर्के बढेका मान्छे हुन् शेखर कोइराला ।
अतः अहिलेका वाम पार्टीको जस्तो मूर्दासमर्थन र कुकुर बिरालाको जस्तो दन्तबझान् कोइरालाबाट सम्भव होलाजस्तो लाग्दैन ।

कुलप्रसादजी यो प्रजातन्त्रवादी प्राध्यापकका सम्बन्धको कुरो पनि तपाईं छाड्नुस् । जता पनि पार्टीका शुभेच्छुक तथा भ्रातृसंगघसंगठन बनाउनुभन्दा जुन ठाउँमा काम गरेको हो त्यहाँ राम्ररी देश र जनताको काम गरी फुर्सदका बेला आफ्नो रुचि भएका राजनीतिमा गरेका कामको मूल्यांकन गर्ने परिपाटी सम्बद्ध पार्टीमा बनाउने र पछि रिटायर भएपछि केही दिने लिने व्यवस्था गरे राम्रो होला कि भन्छु म ।
मैले त तरुण दल र नेविसंघका साथीहरूलाई पनि यो कुरो गरेको छु । यसो सोच्दा यो कुरो ठीकै लाग्यो । अहिले विश्वविद्यालयमा रहँदा चार तारे या हँसिया हतौडा या सूर्य बोकेर हिँड्नुभन्दा आस्थालाई मनमा र कर्ममा राखेर विश्वविद्यालयमा नै तन, मन र धन अर्पण गरेर काम गरेबापत् पछिलाई लगानी गर्नु उत्तम हो भन्नेमा म पुगेँ । दुई जोईको पोइ कुना पसी रोई भएका छन् अहिले हाम्रा केही साथी, निर्वाचन आयोगले कारबाही गर्न पत्रै लेखिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?