भारतले रच्यो इतिहास: चन्द्रयान–३ चन्द्रमाकाे दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेकाे छ।

आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गरेको हो ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

चन्द्रयान–३ सफलतापूर्वक अवतरण भए पश्चात भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो देश बनेकाे छ ।

याेसँगै चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

यसैबीच ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकामा रहनुभएकाे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गर्नुभएको छ ।

उहाँले भर्चुअल सम्बोधनमा भन्नुभयो, 'हाम्रा परिवारका सदस्यहरू, जब हामी आफ्नो आँखा अगाडि यस्तो इतिहास बनिरहेको देख्छौं, जीवन धन्य हुन्छ। यस्ता ऐतिहासिक घटनाहरू राष्ट्रको जीवनको चेतना बन्छन्।‘

यो अविस्मरणीय र अभूतपूर्व रहेको बताउँदै उहाँले यो क्षण विकसित भारतको समृद्धि भएको बताउनु भएको छ ।

साथै उहाँले याे केवल भारतकाे मात्र सफलता नभएर विश्वका सबै देशका नागरिककाे सफलता भएकाे बताउनु भयाे । "यो एक वर्ष जब भारत G-20 को अध्यक्षता गरिरहेको छ। हाम्रो दृष्टिकोण एक पृथ्वी, एक परिवारको हो र हामी यसलाई प्रतिनिधित्व गर्दछौं।" उहाँले भन्नुभयाे ।

रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ ।

अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् । सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गर्नुएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?