केरुङ नाकाबाट चीनको बाटो हुँदै हुम्ला पुर्‍याइँदै बस

फोटो : रसुवाको केरूङदेखि चीन हुँदै हुम्ला लैजान चिनियाँ ट्रकमा लोड गरिएका बस र व्यवसायी विजयी लामा ।

नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । रसुवाको केरुङ नाकाबाट चीनको बाटोहुँदै हुम्लामा पहिलो पटक बस पुर्‍याउन लागिएको छ । हुम्लाका व्यवसायी विजय लामाले आफ्नो व्यक्तिगत लगानीमा हुम्लामा पहिलो पटक सार्वजनिक यातायात (बस) पुर्‍याउन लाग्नुभएको हो ।

हुम्लावासीको मागको आधारमा जिल्ला सदरमुकाम सिमकोट–हिल्सा सडक खण्डमा संचालन हुनेगरी व्यवसायी लामाले दुई वटा बस हुम्ला पठाउनु भएको छ । सिमकोटदेखि हिल्सासम्मको सडकको दुरी करिव ९० किलोमिटर मात्रै छ । तर हाल स्थानीय जीपहरुले उक्त सडक खण्डमा प्रतिव्यक्ति पाँच हजार भाडा लिँदै आएका छन् ।

‘यात्रा नि धेरै महंगो छ । त्यही पनि भनेको बेला सवारी भेटिदैनन् । त्यसैले नागरिकको समस्यालाई मध्येनजर गर्दै बस सेवा सञ्चालन गर्न लागिएको हो’ व्यवसायी लामाले भन्नुभयो, ‘हुम्ला सदरमुकाम अझै पनि राष्ट्रिय राजमार्गले नछोएकाले केरुङ नाकाबाट चीनको बाटो हुदै हुम्ला बस पठाएको छु ।’

हाल हुम्ला जोड्ने कर्णाली करिडोर निर्माणकै चरण छ । लामाका अनुसार भन्सार र ढुवानीका सबै प्रक्रिया सकेर शुक्रबार बस चीनको बाटोबाट हुम्लाका लागि पठाइएको हो । ‘आइतबार साँझसम्म तीन दिनको यात्रापछि चीन र नेपालको सीमानाका हिल्सामा बस पुग्नेछन्’ लामाले भने, ‘त्यसपछि बस हिल्साबाट सदरमुकाम सिमकोट पुग्न ६ घण्टा लाग्छ ।’

२५ सिट क्षमताका दुई वटा बसको लागत करिव एक करोड रहेको सञ्चालक लामाले बताउनु भयो । बसको बडी सुर्खेतमा तयार गरिएको हो । हुम्ला लगिएका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रा.लि.मा आवद्ध गराइएको छ ।
बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी छ । हिल्सा नाकामा बस लिन सवारी चालक त्यसतर्फ गइसकेका छन् । दुवै बस सिमकोटमा पुगेपछि सोमबारदेखि नियमित रुपमा सिमकोट हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।

बस पुर्‍याउन सात लाख भाडा

व्यवसायी लामाका अनुसार केरुङबाट चीनको सडकहुँदै हिल्सासम्म बस पु¥याउन चिनियाँ ट्रकले सात लाख रुपैयाँ भाडा लिएका छन् । चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेडका गाडी गुडाउने अनुमति नहुँदा केरूङदेखि हिल्सासम्म ट्रक लोड गरी पठाइएको हो ।

हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गले छोएको छैन् । कर्णाली करिडोरको कालिकोटको खुलालु–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण समयमै काम नहुँदा सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिन नसकेको हो । तर सिमकोटमा भने सार्वजनिक सवारीहरु सञ्चालनरत छन् ।

ट्याक्टर र जीपहरु सिमकोट–हिल्सा खण्डमा यसअघिदेखि नै चलिरहेका छन् । तर यहाँका नागरिकहरुले महंगो भाडा तिरेर गन्तव्य पुग्नुपर्ने बाध्यता छ । हाल हुम्लामा हिल्सा–सिमकोट, सिमकोट भित्र, सर्केगाड–चँखेली–गमगढी र सलिसल्ला–अदानचुँली–कोल्टी–खुलालु खण्डमा केही गाडीहरु सञ्चालनरत छन् ।

कर्णाली करिडोरको खुलालु–हुम्ला सिमकोट सडकको दुरी १ सय ९६ किलोमिटर छ । २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोरको निर्माण कार्य २०७१ चैत ९ गते नेपाली सेनालाई जिम्मा दिइएको थियो । यो सडक ४० किलोमिटर कालिकोट, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्डमा पर्छ ।

थारे भिरको आठ किलोमिटर सडक मध्य ४.५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य निकै जटिल मानिएको छ । तर करिब तीन किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?