राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदनमा मन्त्रालयगत रूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । सो अवसरमा मुख्यसचिव शंकरदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो वार्षिक प्रतिवेदन सरकारको फागुन १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७८/०७९ मा संघीय शासन प्रणालीलाई सुदृढ गरी सुशासनलाई राज्यका सबै तहमा संस्थागत गर्न, विकास निर्माणलाई गति दिन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न विभिन्न प्रयास भएको बताउनुभयो । संघीयतालाई सुव्यवस्थित बनाउन गएको निर्वाचन सफल बनाएको र गृह प्रशासन सक्षम र सबल बनाएको बताउनुभयो ।

प्रतिवेदनमा फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ स्वीकृत भएको उल्लेख गरिएको छ । त्यस्तै, प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई पढेर सुनाउनुभएको प्रतिवेदनमा सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड स्वीकृत भएको बताउनुभयो । वित्तीय प्रणाली सुधारका सम्बन्धमा सरकारी भुक्तानी प्रणालीमा विद्युतीय प्रणाली लागू गरिएको बताउनुभयो । २३ जिल्लाका दुई लाख २३ हजार ३३० परिवार गरिब परिवार पहिचान गरी परिचय पत्र वितरण सुरु भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यस वर्ष ठूला, मझौला, घरेलु तथा साना गरी ३०९ वटा उद्योग दर्ता भएको र विदेशी लगानीका २९५ वटा परियोजनामार्फत ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव स्वीकृत गरिएको बताउनुभयो । उक्त परियोजना प्रस्तावबाट १६ हजार ९०५ नयाँ रोजगारी सिर्जना हुने आँकलन गरिएको पनि बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० देखि कार्यान्वयन हुने गरी १० गत वर्ष विद्यालय शिक्षा क्षेत्र योजना तयार भएको बताउनुभयो । मुलुकको साक्षरता दर ७८ प्रतिशत पुगेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७८/०७९ मा ११ खर्ब १६ अर्ब ४२ करोड राजस्व परिचालन गरी कुल सरकारी खर्चको १२ खर्ब ९६ अर्ब २४ करोड भएकोमा चालुतर्फ ९ खर्ब ६१ अर्ब १७ करोड र पुँजीगतर्फ २ खर्ब १६ अर्ब ३७ करोड खर्च भएको बताउनुभयो ।

उहाँले सरकार नागरिकको विकास र सुशासनको उच्च अभिष्ट पूरा गर्न आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?