आँखा पाक्ने रोग देखिएपछि दिक्तेल बजारका दुई विद्यालय बन्द

हिमालय टाइम्स
Read Time = 5 mins

खोटाङ । विद्यार्थीमा आँखा पाक्ने रोग देखिएपछि सदरमुकाम दिक्तेलबजारका दुई नीजि विद्यालय बन्द भएको छ ।

विद्यार्थी बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण देखिएपछि त्रिबेणी चोकमूनि अवस्थित माउण्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल र अल्छेढुंगामा अवस्थित हिलसाईड स्याम्पल एकेडेमी बोर्डिङ स्कुल बन्द भएको हो ।

माउण्ट एभरेष्टमा सुरुवातमा गत आईतबार १६ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएको थियो । सोमबार बढेर ४५÷४६ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएपछि मंगलबार मध्यान्ह १ बजेसम्म पठनपठान गराएर एकैचोटी आईतबारदेखि विद्यालय लाग्नेगरी नर्सरीदेखि कक्षा–१० सम्मको पठनपाठन वन्द गरिएको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

आईतबारसम्म आँखा पाक्ने समस्या हल नभएमा आँखा अस्पताल दिक्तेलसँग सहकार्य गरेर विधार्थीहरुको उपचार गरिने श्रेष्ठको भनाई छ । यही बोर्डिङको बिहानी सत्रमा अध्ययनरत कक्षा–११ र कक्षा–१२ का विधार्थीमा यो समस्या नदेखिएकाले पठनपाठन भईरहेको छ । माउण्ट एभरेष्टमा करीव ८०० विधार्थी अध्ययनरत छन् ।
हिलसाईडमा आईतबार एकैचोटी १२ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएपछि हिजो(मंगलबार) र आज (बुधबार) पठनपाठन बन्द गरिएको सञ्चालक समिति अध्यक्ष जलशेर राईले बताउनुभयो । भोली (बिहीबार)बाट पठनपाठन सुचारु गरिने र बालबालिकामा आँखा पाक्ने रोग नियन्त्रण तथा उपचारका लागि डाक्टरसँग सल्लाह र परामर्श गरिने राईको भनाई छ ।

आँखा उपचार केन्द्रका अनुसार त्यहाँ अहिले दैनिक रुपमा १५/२० जना आँखा पाक्ने रोगका बिरामी उपचारमा आउने गरेको छ । दिक्तेलबजारको सरस्वती माविमा पनि केही दिन अघिबाट दैनिक रुपमा ४/५जना विधार्थीमा आँखा पाक्ने रोग देखिरहेको प्रधानाध्यापक केशरकुमार राईले बताउनुभयो । प्रअ राईका अनुसार बिहानीको प्रार्थनासभामा आँखा पाक्ने रोग लागेका विधार्थी भए नभएको सोधेर तथा कक्षाकोठामा शिक्षकले सोधेर त्यस्तो भेटिने वितिक्कै घर पठाईने गरेको छ । तत्काल विद्यालय बन्द गर्ने योजना नभएको प्रअ राईको भनाई छ ।
पञ्च मावि दिक्तेलमा पनि केही दिन अघिबाट ५/६ जनामा आँखा पाक्ने रोग देखिएको छ । उनीहरुलाई ठिक नभएसम्म विद्यालय नआउन भनिएको विद्यालय श्रोतले जनाएको छ ।

आँखा पाक्ने रोग नियन्त्रण तथा रोकथामका लागि आज(बुधबार) नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखाले प्रअ तथा शिक्षकहरलाई बैठकमा बोलाएर निदानका उपाय निकालेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । दुईतिन दिनबाट आवश्यकता अनुसार शिक्षा र स्वास्थ्यका टोली विद्यालय, विद्यालय गएर आँखा पाक्ने रोगको उपचार तथा रोकथाम गर्ने मेयर भट्टराई भनाईको छ ।

बैठकले आँखा पाक्ने केश धेरै बढेमा विद्यालय बन्द गर्ने, संक्रमित विद्यार्थीलाई घरमै बस्न लगाउने, विद्यालय र स्वास्थ्य संस्थामार्फत सचेतना कक्षाहरु सञ्चालन गर्ने, आँखा पाक्ने रोगबाट सुरक्षित हुन र संक्रमण फैलिन नदिन सबै विद्यालय र वडामा आजै पत्रचार गर्ने काम गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?