क्रिकेटर लामिछानेबिरुद्धको मुद्दाको अन्तिम पेशी आज

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार)का लागि तोकिएको छ ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुंगो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

सन्दीपका कानुन व्यवसायीले भने केही दिनअघि आजको मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले उनलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराएका थिए ।

आइतबार मुद्दाको पेसी तोकिएको छ। तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ। सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन। यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए ।

यसपटक पनि त्यस्तै हुने सम्भावना देखिएकाले सन्दीपलाई पाकिस्तान पठाउने तयारी गरिएको हो । यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक-पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उता, यस प्रकरणकी पीडित किशोरी भनिएकी गोशाला २६ अस्पताल भर्ना भएकी छिन् । यो प्रकरणपछि समस्यामा रहेकी उनी चिकित्सकले सिफारिस गरेको औषधि ओभर डोज लिएपछि अस्पताल भर्ना भएकी हुन् ।

सुनुवाईको अघिल्लो दिन पीडित किशोरी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी र उनी खतरामुक्त रहेको बताइएको छ ।

उनी माइती नेपालको सेल्टरमा बसिरहेकी थिइन् । यो प्रकरणपछि उनमा मानसिक समस्या देखिएको बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?