गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु अन्तर्राष्ट्रिय अदालत जान्छन् : प्रभु साह

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ ।

सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो ।

उहाँले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताउनु भयो ।

उहाँले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताउनु भयो । उहाँले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो । मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानून लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । केही गर्नु हुँदैन । भने यो कानूनको शासन हो ? कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्ने ? न्यायको लागि सरकार बनेको हो कि ? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ ? कानूनको शासनको खिल्ली उडाउने काम भएको छ । यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरु नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौँ हामी । यो कार्यक्रममार्फत सरकारलाई भन्न चाहन्छु, तपाईलाई कुर्सी प्यारो हो भने नेपाली जनता चुप लागेर बस्दैन । आम जनता पार्टी चुप लागेर बस्दैन ।’

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षि मात्रै बनाइएको बताउन ुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताउनु भयो ।

मन्त्रिपरिषद्ले गर्ने निर्णयको जवाफदेहिता प्रधानमन्त्रीसँग हुने भएकाले यस प्रकरणमा तत्कालिन प्रधानमन्त्रीपनि दोषि भएको उहाँले बताउनु भयो । उहाँले तत्कालिन प्रधानमन्त्रीहरुलाई कारबाही प्रक्रिया अगाडी नबढाएर दुनियाँलाई मुर्ख बनाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुनियाँलाई थाहा छ नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली हो । प्रधानमन्त्री शक्तिशाली । मन्त्रिपरिषद्को निर्णयको सम्पूर्ण जवाफदेहिता प्रधानमन्त्रीमा हुन्छ । मन्त्री दोषी हुँदैन । जुन निर्णय, मन्त्रिपरिषद्को निर्णयको हवलाबाट भएको यो काण्ड प्रधानमन्त्री साक्षि भयो । भूटानी शरणार्थीमा ठूला नेताहरुको लागि अनुसन्धान पछि गर्ने भनेजस्तै यसमा त झन के भयो भने जसले मुख्य दोषी हुनुपर्ने हो मन्त्रिपरिषद्को निर्णयलाई नै हवला दिने हो भने उहाँहरु साक्षि हुनुभयो । दुधको रखवारी बिरालोले गरेजस्तै यो मुद्दाको साक्षि हुने भो प्रधानमन्त्रीज्युहरु । विचार गर्न म भन्छु । नेपाली जनतालाई एकचोटी सोच्न म भन्छु । यो सरकारसँग म सोध्न चाहन्छु, यदी मन्त्रिपरिषद्को निर्णयबाट जग्गा हस्तान्तरण गरिएको थियो, कसैको नाममा रजिष्ट्रेसन गरिएको थियो भने मन्त्रिपरिषद्को निर्णयको शक्ति कोसँग हुन्छ ? प्रधानमन्त्रीसँग हुन्छ । प्रधानमन्त्री कसरी साक्षि हुनसक्छ ? सरकारी साक्षि भयो प्रधानमन्त्रीज्यु । ललिता निवासको छानबिन लगौटी लगाइयो । दिदहाडै दुनियाँलाई मुर्ख बनाउने काम भयो ।’

अध्यक्ष साहले सत्तारुढ गठबन्धनका ठूला नेताहरु मिलेर सुन काण्डमा नाम जोडिएका नेताहरुलाई बचाउन लागि परेका बताउनु भयो । गठबन्धनको बैठक बसेर नाम जोडिएका ठूला नेताहरुलाई केही नगर्ने भनि निर्णय गरिएको उहाँले आरोप लगाउनु भयो । उहाँले सुन प्रकरणबाट जनता रिसाउने भएकाले जनताको ध्यान अन्तै मोड्नका लागि धरानमा अर्को काण्ड घटाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुन काण्डले केही गर्ला भनेको त जति जति ठूला नेताहरुको नाम आउन थालेपछि सरकारले केही ठुला नेताहरुलाई नगर्ने भनि निर्णय हुन्छ । गठबन्धनको बैठक बस्छ र ठूला नेताहरुलाई केही नगर्ने, यदी ठूला नेताहरुलाई ग¥यो भने हामीपनि पर्ने भन्छन् । नेपालमा भएकै यही हो ठूला नेताहरु मिल्ने । ठूला नेताहरु मिलेर भागबण्डा गर्ने, लुट्ने । लुट्ने भएपछि सबैलाई थाहा छ मैले यो गल्ती गरेको छु, मैले यो गरेभने म पनि पर्छु भन्ने डरले सबै पछाडी हट्ने । र जनता काहीँ रिसाउँछ कि भन्ने स्थिति बनेपछि उता धरानको काण्ड निकालिरहेको छ । धरान आयो अर्को काण्ड । किनकी दुनियाँको दिमाग उता लानुप¥यो । नेताहरु एकअर्कालाई सुन पानीले चोख्याउन थाले भनेर मान्छे रिसाउँछ भन्ने लागेर दिमाग डाइभर्ट गर्न काण्डको काम गराइरहेको छ । सरकारले, सत्ताधारी पार्टीहरुले गराइरहेका छन् । ठूल्ठूला पार्टीहरुको हात छ त्यो गराउनमा ताकी दुनियाँको ध्यान उता जाओस् । विषयान्तर गरिदिने । साम्प्रदायिक महल खडा गर्ने । र सत्यलाई लुकाइदिने । सत्यलाई लुकाइदिने, जनताको दिमाग डाइभर्ट गर्ने एउटा षड्यन्त्र भइरहेको छ । कानूनको शासन भनेपछि सबैलाई कानून लाग्छ नि ।’

उहाँले ठूला नेताहरुलाई कानूनभन्दा माथि बनाउने प्रयत्न गरिएको बताउनु भयो । कोही पनि व्यक्ति कानूनभन्दा माथि नहुने भन्दै उहाँले दोषि जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?