पूर्व नेपाली चार कप्तानले मनाङमा फुटबल खेल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका चार पूर्वकप्तानले बायोकोष नेपाल र एन्ट फाउण्डेसनले यसै महिना संयुक्त रूपमा मनाङमा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् । मनाङका विभिन्न स्थानमा याक र हिउँ चितुवाको संरक्षणका लागि आयोजना हुने मैत्रीपूर्ण फुटबलमा पूर्वकप्तान उपेन्द्रमान सिंह, हरि खड्का, अनिल गुरुङ र महिला टोलीकी पूर्वकप्तान निरु थापाले खेल्ने बायोकोष नेपालका प्रमुख पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारेमा सूचित गर्ने र पर्यापर्यटन प्रवद्र्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल हुन लागेको आयोजकले जनाएको छ ।

हिमालको काखमा रमाएर बस्ने हिउँचितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन यसको बासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।

यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुङ्जीमा अवस्थित फुटबल मैदानहरूमा खेल हुने एन्ट फाउण्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्ड ९राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीहरू, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू० र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानीय युवाहरू) बीच खेल हुनेछ ।

मैत्रीपूर्ण फुटबल खेल यही भदौ २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङ्जी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना गर्न लागिएको अर्को आयोजक संस्था बायोकोष नेपालका इकोलोजिष्ट पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

टिम हिमालयन स्नो लेपर्डमा कलाकार (प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान), खेलाडी (हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह), मिस नेपाल वल्र्ड ऋचा प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल र प्रिस्का उदास उद्घोषक रहनुहुनेछ ।

हिउँचितुवा र याक संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनका लागि मैत्रीपूर्ण फुटबल खेल, स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रम प्रदर्शन, मनाङसम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेलमैदान, हिउँचितुवा बासस्थानको भ्रमण र अन्तरक्रिया कार्यक्रमका आकर्षण रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?