बीपी साहित्य महोत्सव गर्दै नेपाली कांग्रेस

हिमालय टाइम्स
Read Time = 5 mins

ललितपुर । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव कार्यक्रम गर्ने भएको छ । कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मदिन भाद्र २४ लाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको कांग्रेसले ११० औं बीपी जन्मजयन्तीमा यसपटक बीपी साहित्य महोत्सव कार्यक्रम गर्ने भएको हो ।

कांग्रेसले यही भदौ २४ देखि २६ सम्म बीपी स्मृतिभवन सानेपा, ललितपुरमा केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा तीन दिने उक्त महोत्सव गर्न लागेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी सत्र चल्नेछन् । त्यस्तै, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, उहाँले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, युवा स्रष्टामा बीपी, पठन र परिवारले बुझेका बीपी सत्रका कार्यक्रम हुने जनाइएको छ । कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, र ऐतिहासिक फोटो प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

यस्तो कार्यक्रम पहिलोपटक आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसले ऐतिहासिक साहित्य महोत्सवमा उपस्थित हुन प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेहरूलाई अनुरोध गरेको छ । कार्यक्रमको तालिका छिट्टै सार्वजनिक घोषणा गरिने बताइएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्र्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’ प्रकाशित छन् ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?