तीर्थाटन आनन्द कि यातना ?

प्रा. देवीभक्त ढकाल
Read Time = 21 mins

हिन्दु, इसाई, इस्लाम आदि संसारका महत्वपूर्ण धर्महरू हुन् । हिन्दु, इसाई, इस्लाम सबै धर्मावलम्बी आफ्नो आस्था र विश्वासको आधारमा धार्मिक पर्यटनमा सहभागी हुन्छन् । यो उनीहरूको जीवनको महत्वपूर्ण र अनिवार्य क्रियाकलापको अंश हो । खासगरी हिन्दु धर्मावलम्बीमा जीवनको उत्तरार्धमा नेपाल तथा भारतका हिन्दुपीठहरूको दर्शन गर्ने, पितृहरूलाई श्रद्धापूर्वक सम्झने, श्राद्ध गर्ने तर्पण गर्ने, दान, पूजा, ध्यान, जपतप, पाठ आदि गर्ने विषय सनातन धर्मकै एउटा महत्वपूर्ण कर्म हो । यो धार्मिक पर्यटनको सुन्दर पक्ष हो । देश विदेशको भूगोलको दर्शन, धर्म, संस्कृति, जनजीवन आदिको अध्ययन-अनुसन्धान साथै आनन्दानुभूति गर्ने सुन्दर अवसर हो ।

पुण्य आर्जन र मोक्षको बाटो कोर्ने मनसायले अनगिन्ती धार्मिक पर्यटक प्रत्येक वर्ष तीर्थ पर्यटनमा निस्कन्छन् । नेपालबाट भारतीय तीर्थहरूको दर्शनमा जाने र भारतबाट पशुपतिनाथ, जानकी मन्दिर, देवघाट, त्रिवेणी धाम, मनकामना माईको दर्शन, मुक्तिनाथ, पाथीभरा, गोसाइँकुण्ड, दामोदर कुण्ड जस्ता थुप्रै पवित्र नदी, मठ–मन्दिरको दर्शन र पूजन नै हिन्दु धर्मावलम्बीको मुख्य उद्देश हुन्छ । साथै कृष्णागण्डकी, नारायणी जस्ता पवित्र नदीको स्नान, पूजन र ध्यान कर्म गर्न नेपाली हिन्दु धर्मावलम्बी र भारतीय हिन्दु धर्मावलम्बी विशेष पर्वमा, सूर्य–चन्द्रग्रहणका बेला नदी स्नान गर्छन् ।

कर्मको ध्येय आध्यात्मिक हुन्छ । अध्यात्मप्रति आस्था र विश्वास गर्ने विभिन्न पर्वमा स्नान गर्न देविदेवताको मन्दिरमा ओइरो लाग्छन् । त्यस्तै भारतीय पवित्र नदीमा पनि तीर्थाटनको क्रममा वा विशेष पर्वमा नेपाली हिन्दु धर्मावलम्बीको घुइँचो लाग्छ । धार्मिक कार्यहरूमा नेपाल र भारतका नागरिकलाई राजनीतिक सीमाले कुनै प्रभाव पार्दैन । नदीहरू, देविदेवताका मठ-मन्दिरहरूको दर्शन, पूजा-आराधनाका लागि थुप्रै भारतीय-नेपाल आउने गर्दछन् । यसरी तीर्थाटनको सन्दर्भमा ओहोरदोहोर गर्ने तीर्थयात्रीको एकिन तथ्यांक खुला सिमानाका कारण नेपाल र भारत दुवै देशसँग छैन ।

तीर्थयात्रामा जानेआउने तीर्थयात्रीको तथ्यांक राख्ने दायित्व र जिम्मेवारी दुवै देशका सरकारको हो । यस्तो महत्वपूर्ण जिम्मेवारीबाट अबका दिनमा दुवै देशका सरकारले बेवास्ता गर्ने छुट किमार्थ हुनसक्दैन । देशका नागरिकहरूको देशभित्र र बाहिरका गतिविधिबाट कुनै पनि सरकार सधैं अनभिज्ञ रहनु सक्दैन ।

यसरी तीर्थयात्रामा जाने र आउने तीर्थयात्रीहरूको एकिन तथ्यांक राख्ने दायित्व र जिम्मेवारी दुवै देशका सरकारको हो । यस्तो महत्वपूर्ण जिम्मेवारीबाट अबका दिनमा दुवै देशका सरकारले बेवास्ता गर्ने छुट किमार्थ हुनसक्दैन । देशका नागरिकको देशभित्र र देशबाहिरको गतिविधिबाट कुनै पनि सरकार सधैं अनभिज्ञ रहन सक्दैन र रहनु पनि हुँदैन । सरकारले विश्वभर छरिएर रहेका आफ्ना नागरिकको सुरक्षा, निगरानी, रेखदेख गर्नुपर्छ । यो सम्बन्धित देशको सरकारको महत्वपूर्ण कर्तव्य हो । आफ्ना नागरिकले तीर्थाटनको क्रममा कस्ता–कस्ता समस्याको सामना गरेका छन् भन्ने विषयमा जानकारी राख्ने र समस्या भए समाधान गर्ने दायित्व र जिम्मेवारी सम्बन्धित देशका सरकारको हो ।

खासगरी भारत र नेपालबीचको खुला सिमाना र हिन्दुका आस्थाका मन्दिर र नदी नेपाल–भारत दुवैतिर भएकाले दुवै देशका नागरिक एकअर्काका देशहरूमा तीर्थाटन गर्न जाने र आउने प्रचलन अनादि कालदेखिकै हो । यसलाई वर्तमानमा सूचना र प्रविधि क्षेत्रको विकास र विस्तारले यथेष्ट प्रचारप्रसार गरेका कारण धार्मिक पर्यटन क्षेत्रले फड्को मार्ने क्रममा केही विकृति थपिएका छन् । पर्यटनको जननी नै धार्मिक पर्यटन भएकाले धार्मिक पर्यटनको विकास र विस्तारमा विकसित विकृतिहरूको निवारणको भूमिका सम्बन्धित पक्षले अविलम्ब निर्वाह गर्नुपर्छ । धार्मिक पर्यटनसँग सम्बन्धित व्यवसायमा कार्यरत जनशक्तिलाई प्रशिक्षणको व्यवस्था के छ ?

कानुनी, व्यावसायिक उल्झन के छन् त्यसबारे सम्बन्धित पक्षको अनुभव र गुनासाको अविलम्ब सुनुवाइ हुनुपर्छ भने धार्मिक पर्यटकका समस्या, गुनासाले फेरि अग्राधिकार पाउनुपर्छ भन्ने कुरामा कसैको विमति हुनसक्दैन । धार्मिक पर्यटनको महत्वपूर्ण पाटो तीर्थयात्रा हो । धार्मिक पर्यटनलाई आनन्द कि यातना भन्ने विषयको उत्पत्तिका कारणको खोजी, निवारणका प्रयासको जिम्मेवारी सम्बन्धित सरकारहरूको हो । तीर्थाटन आनन्द कि पीडा ? भन्ने शीर्षकले धार्मिक पर्यटन क्षेत्रप्रति सरकारको यथेष्ट ध्यान जानुपर्छ भन्ने कुरामा कुनै प्रकारको दुविधा हुनहुँदैन । धार्मिक पर्यटन आधुनिक पर्यटन उद्योगको जननी भएकाले आधुनिक पर्यटन उद्योगको विकासका लागि सरकार संवेदनशील हुनुको विकल्प छैन ।

आधुनिक पर्यटन उद्योगको विकासको सन्दर्भमा धार्मिक पर्यटनसँग सम्बन्धित समस्याको अध्ययन, खोज तथा अनुसन्धान महत्वपूर्ण विषय हुनुपर्छ । धार्मिक क्षेत्र पनि अनियमितता र शोषण उत्पीडनबाट मुक्त छैन भन्ने सूचनाले पक्कै पनि सनातन धर्मप्रति आस्था र विश्वास गर्ने सबैलाई ग्लानिको अनुभूति हुनुपर्छ । यो स्तम्भकार यो आलेख तयार गर्दैगर्दा तीर्थ यात्राको क्रममा भारतको प्रख्यात तीर्थस्थल वाराणसीमा रहेकाले अहिलेसम्मको अनुभवमा तीर्थाटन आनन्द कि यातना भनेर किन उल्लेख हुन गयो भन्ने सेरोफेरोमा यो आलेख केन्द्रित छ । धार्मिक पर्यटनको वर्तमान अवस्थाको समीक्षा, विश्लेषण र व्याख्या नै यसको विषय वस्तु हो । तीर्थाटनलाई स्नान, देवदर्शनका साथै भूगोल र जनजीवनको अध्ययनसमेत गर्ने पवित्र ध्येयका साथ निस्किएकोमा यो यात्रा आनन्द हो कि यातना भन्ने विषय आजका मितिसम्म प्रश्नबाचक किन ?

मौसमको समस्या, भाषाको समस्या, बस्ने र यात्रा गर्ने जस्ता अनगिन्ती समस्याका बाबजुद नेपाली र भारतीय तीर्थयात्री आस्था र विश्वासका कारणले दुवै देशका तीर्थयात्रीहरू विकट तीर्थस्थलमा पुगेका छन् । जोखिमपूर्ण तीर्थयात्रालाई व्यवस्थित गर्ने कर्तव्य र दायित्व पनि सरकारको नै हुन्छ । २०८० भदौ ७ गते सुरु हुने चारधाम तीर्थयात्राको व्यवस्थापन बुझ्न हामीले यात्रापूर्व नै प्रबन्धकर्तासँग भेट ग¥यौं । गाडी सिट, खाना, बास र अप्ठ्यारा बारे छलफल भयो । हामी हिँडेको दिनमा गल्छीको मन्दिरमा खाना पकाएर खुवाउने शर्त सर्वप्रथम पालना भएन ।

होटलहरूमा र आश्रमहरूमा अत्यन्तै सस्तोमा बास हुन्छ भनेर हामीलाई आश्वस्त पारेको विषयमा पनि केही प्रश्नचिहृन हरिहर क्षेत्रको बासमा नै अनुभव भएको हो । भारतका आश्रमहरूको बास निःशुल्क हुन्छ भन्ने हाम्रो जानकारीले हरिहर क्षेत्रमै धोखा खायो । त्यसपछि गयामा हामीलाई पशुपति धर्मशालामा लगियो । मलाई भूइँतलाको दुई नम्बर कोठा दिइयो । यसको शुल्क के छ भनेर सोध्दा धर्मशालाको म्यानेजरले हाम्रो यात्राको प्रबन्धकलाई नै सोध्नु भने । म आश्चर्यमा परेँ । बेलुका कोठाको ५०० भारु हो भनेर हाम्रै प्रबन्धले मसँग पैसा बुझे । म जस्तै बसका बाँकी २८/२९ जनासँग पनि त्यही दररेटको पैसा लिए । भोलि पल्ट गया श्राद्धमा उनी घाटमा हामीलाई लैजान लाग्दा हामीले उनलाई हामीसँग नजान भन्यौं ।

हामी घाटमा पुग्नु पहिल्यै हामीलाई लुट्न बनेको नेपाली लालमोहरिया नामधारी तम्तयार भएर बसेका कारण हाम्रो साथमा भएका पण्डितबाट श्राद्ध कर्म गर्न दिइएन । हामीले दक्षिणामा मोलतोल हुँदैन भन्ने शर्तमा लालमोहरियाका प्रतिनिधिबाट श्राद्ध कर्म सुरु भयो । श्राद्धका विधि गौदान, बस्त्रदान जस्ता विषयमा फेरि यति र उति दान नगरे तिम्रा पितृहरू तर्दैनन् भनेर ब्ल्याकमेलिङ गर्ने उनको चरित्र प्रदर्शन गरे । गौदान लालमोहरियाको हुन्छ र उनलाई पनि दक्षिणा गर्नुपर्छ भन्ने कुरा बीचमा घुसाए । हामी श्राद्ध गर्न आएका छौं । श्राद्ध गर्नेलाई समयकाल र सामथ्र्य अनुसार दक्षिणा दिने विषय हाम्रो विवेकको विषय हो ।

तर, श्राद्ध गरेर पिण्ड सेलाउने काम बाँकी राखेर हाम्रो श्राद्ध गराउने पण्डित जो लालमोहरिया पण्डितका प्रतिनिधि थिए उनले लालमोहरिया पण्डितलाई पहिल्यै दान दक्षिणा गरेपछि मात्रै अन्तिम काम हुन्छ भनेर अब तोकुवा पैसा लालमोहरिया नाममा उठाउन थाले । त्यहाँ हामीबाहेकका अरू पनि थिए । उठाउँदा कम्तीमा पाँच सय दक्षिणा र अन्नदान एक सय साथै वस्त्रदान पनि गर्नुपर्छ भनेर उठाउन थाले । अब हाम्रो समूहसँग पनि तीनपुस्ते लेखाउने कागज तेल्र्याए । हामीले त्यो आवश्यक छैन भन्यौं । लालमोहरिया पण्डितले न काम गरेका छन् न उनी लालमोहरिया भएर हाम्रो हेरचाह गरेका छन् किन उनलाई तोकुवा दानभन्दा लालमोहरिया पण्डितले धर्मशालामा निःशुल्क आवास दिएको जानकारी भयो ।

तर, हामीसँगबाट हाम्रै प्रबन्धकले हामीलाई ठगेको र लुटेको कुरा प्रमाणित भयो । यदि लिएको भए फिर्ता गर्छु भन्ने कबुलियतपछि फेरि मोलमोलाइकै शैलीमा दक्षिणा असुल गर्न थाले । हामीले दान दिनेले पैसा हेरर दिन्छ । लिनेले त्यसलाई नहेरिकन लिनुपर्छ भनेको कुरा सम्झाउँदा केहीसँगमात्रै थप मोलमोलाई नगरीकन दान लिए । नेपाली तीर्थयात्रीलाई राणाकालीन लालमोहर अहिले पनि दुःख दिने, ठग्नेमात्रै होइन लुट्ने हतियार बनेकाले सरकारले सबै लालमोहर बदर भएकाले कुनै पनि तीर्थस्थलमा नेपालको लाममोहरिया पण्डित नभएकाले अब आइन्दा तीर्थर्थलमा लालमोहरिया पण्डित लेख्न र भन्नसमेत नहुने परिपत्र भारत सरकारमार्फत जाने व्यवस्था गर्नुपर्छ ।

वास्तवमा तीर्थयात्रा आनन्दै आनन्दले भरिएको छ तर वर्तमानमा देखिएका विकृतिले पीडादायी बनाएको हुनाले यस क्षेत्रका समस्यालाई समाधान गर्न सरकार र सम्बन्धित व्यवसायीलाई सचेत हुन आग्रह गर्नु नै लेखको ध्येय हो । साथै तीर्थयात्री पनि सचेत रहनुपर्छ । 

राणाकालीन लालमोहर अहिले सबै भारतीय तीर्थका पण्डाहरूको ठग्ने हतियार बनेको छ । त्यो अबका दिनमा लेख्नसमेत कानुनविपरीत हुने र लालमोहरियाका नाममा नेपालीहरूले तिनीहरूसँग नै श्राद्ध कर्म गर्नुपर्ने जबर्जस्तीको अन्त्य गर्ने काम सरकारले अविलम्ब नगर्ने हो भने भारतीय तीर्थहरूमा दलाली र ठगीले सधैं नेपाली ठगिनु-हेपिनुपर्ने अवस्था रहिरहन्छ । यो विकृतिको अन्त्य गर्ने व्यवस्था नेपाल सरकारबाट अविलम्ब हुनपर्छ । नेपालले बनाएका धर्मशालालाई लालमोहरियाहरूले नेपालीलाई नै लुट्ने र ठग्ने साधन बनाएका छन् । त्यसको अन्त्यसँगै धार्मिक पर्यटनप्रति नेपालीहरूको दृष्टिकोण सकारात्मक हुने विषयमा सरकार गम्भीर हुनैपर्छ ।

नेपालबाट तीर्थयात्रा गराउने अहिले जताततै विज्ञापन गर्दछन् । लामो यात्रा बसमा गराउँदा यात्रुसंख्याको विषयमा सरकारले निगरानी गर्नुपर्छ । के सबैले दर्ता गरेका छन् ? इन्स्योरेन्स छ छैन, कति छ ? यसबारे यात्रुहरूलाई खुलस्त जानकारी हुनुपर्छ । हामीले चढेको बसको अवस्थाको कुरा गर्नुपर्दा सबै यात्रुहरूलाई समान दरको भाडा छैन । तीस सिटको गाडीमा तीसैजना तीर्थयात्री राखेपछि उनका सातजना कामदार कहाँ बस्ने । तीस सिटको बस सानु बस हो । त्यसको क्याबिनमा ड्राइभरबाहेक अर्को दुई सिट छ ।

त्यहाँ ड्राइभरसमेत दशजना खादिएर बस्दा लाग्छ ती कामदारहरू त तराईबाट काठमाडौं ल्याउने राँगा जस्तै बसेको देख्दा सरकारको कानुन र मानवता लज्जित भएको अनुभव हुन्छ । यात्रीबाट निःशुल्क धर्मशालाको पैसासमेत खल्तीमा हाल्ने चरित्र भएको प्रबन्धकले कामदारप्रति कति अन्याय र शोषण गरेको होला आफैं अनुमान गर्न सकिन्छ । हामीले भाडामै खानाको पैसा दिएका छौं । चामलको गुणस्तर छैन भने तरकारीको मात्रा छैन । कामदारलाई पानी प्रबन्धकले नकिनेका कारणले होला सबै तीर्थयात्रीको सामूहिक गुनासो हुन्छ कि पानी हरायो ।
नेपालबाट किनेको कार्टुनका कार्टुन पानी पटना नआउँदै गायव हुने परिस्थितिलाई कसरी व्यवस्थित गर्ने ? तीर्थयात्रीहरू पानी हराएको विषयलाई व्यक्त गर्न नसक्ने तर भित्रभित्रै चामरिएको विषयले मन खान्छ । अब सुधारको सन्दर्भमा महत्वपूर्ण विषय स्वास्थ हो ।

स्वास्थसँग जोडिएको विषय गुणस्तरीय भोजन हो । त्यसैले यस्ता व्यवसायीहरूले प्रत्येक बसमा एकजना स्वास्थ्यकर्मी अनिवार्य राख्ने व्यवस्था गर्नुपर्छ । व्यवसायी सबैले अनियमितता गर्छन् भन्ने हुँदैन तर अनियमितता र लापरबाही र ज्यादती गर्ने सबै कानुनद्वारा नियन्त्रण हुनुपर्छ भने कानुनलाई पालना गर्ने र गुणस्तरीय सेवा दिने व्यवसायी सम्मानित र पुरस्कृत हुने व्यवस्थाले यो क्षेत्र व्यवस्थित र मर्यादित हुन सक्यो भने तीर्थयात्रालाई आनन्द कि यातना भन्नुपर्दैन ।

वास्तवमा तीर्थयात्रा आनन्दै आनन्दले भरिएको छ तर वर्तमानमा देखिएका विकृतिहरूले पीडादायी बनाएको हुनाले यो क्षेत्रका समस्याहरूलाई समाधान गर्न सरकार र सम्बन्धित व्यवसायीलाई सचेत हुन आग्रह गर्नु नै लेखको ध्येय हो । साथै तीर्थयात्रीहरूले पनि म कोबाट ठगिएको छु ? कोबाट लुटिएको छु ? कसरी र किन ठगिएको छु भन्ने विषयमा सचेत नभइकन र आफूले भोगेका समस्यालाई खुलस्त नगर्दासम्म समस्याले कहिल्यै निकास पाउँदैनन् भन्ने कुरालाई आत्मसात गर्नुपर्छ । यो क्षेत्रका व्यवसायीहरूले इमानदारीपूर्वक सेवा गर्दा धर्म र पैसा दुवै हुन्छ । बेइमानी गर्दा पैसा त हुन्छ तर धर्म नष्ट हुन्छ भन्ने कुरालाई क्षणक्षणमा स्मरण गर्दै तीर्थयात्रीहरूको सेवा गर्ने भावना र चाहनाबाट परिचालित हुने अवस्था सिर्जना गर्न सरकारको सक्रिय भूमिका भयो भने देशका ज्येष्ठ नागरिकहरूको आशिर्वाद सरकाले पाउनेछ । (वाराणसीबाट)

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ganesh neupaneलेेेेख पढें ।राम्रो छ। हार्दिक बधाई
ganesh neupaneलेेेेख पढें ।राम्रो छ। हार्दिक बधाई
2023-08-30 5:09 am

लेख अत्यन्त राम्रो छ।स्पष्ट,यथार्थ रअर्थ पूर्ण छ।यी बिषयमा राज्यले पनि ध्यान दिनु पर्दछ।
,

रिलेटेड न्युज

छुटाउनुभयो कि ?