हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु हुँदैनः प्रमुख सचेतक लेखक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु नहुने धारणा राख्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो । उहाँले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने बताउनु भयो । यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुलुकी फौजदारी अपराध कार्यविधि संहीता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहहरु जुन हिंसात्मक क्रियाकलाप छोडेर अहिलेको मुलधारको राजनीतिमा संविधानलाई मानेर, व्यवस्थालाई मानेर यदी शान्तिपूर्ण राजनीतिमा फर्किन चाहन्छन् भने त्यसका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ भने त्यो सहमति अनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समुहका सदस्यहरु थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरु खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ । यसलाई यसैरुपमा पारित गर्नुहुन्न । म यो आग्रह गर्न चाहन्छु । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ । किनभने यसले हाम्रो न्यायिक पद्धतिमा नै केही महत्वपूर्ण प्रभाव पार्ने भएको हुनाले यसलाई यसै रुपमा पारित गर्नुहुन्न ।’

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रश्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?