आज चेतन प्रबाह

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

निकै पहिलेदेखि नै कथा उपन्यासमा प्रचलित चेतन प्रबाहलाई आज विचार गरौं । उताबाट निन्याउरो मुख लाएर आउँदै गरेका आत्मदेवलाई प्रसन्न मुखमुद्राका ऋषिले देखेर सोधे झोल घोप्ट्याएजस्तो अनुहार बनाएर यो आटव्य वनमा किन आत्मदेव ? आत्मदेवले ऋषिलाई भने ‘मैले रोपेको फल पनि फल्दैन, मैले पालेको गाई पनि थारै बस्छ । बिहा गरेर गृहस्थ धर्म ग्रहण गरेपनि मेरो जीवन निरर्थक रहृयो ऋषिवर ¤ त्यसैले वैराग लागेर हजुरजस्तै ऋषि दर्शन र सेवाका लागि’ मैले भागवत पढ्दा यसरी आत्मदेवले आफ्नो जीवनलाई नै असफल रहेको निष्कर्षमा पुगेको भेटिएपछि विश्वेश्वरप्रसाद कोइरालाको ‘रिक्सा तान्ने’ र लैनसिंह वाङ्देलको ‘लँगडाको साथी’ उपन्यास पढ्दा रिक्सा तान्नेका प्रभावमा लेखिएको रहेछ भन्ने निष्कर्षमा पुगेको थिएँ ।

यद्यपि साहित्यमा यस प्रकारको आनुकाल्पनिक चुर्णक मिल्न पनि सक्छन् । आज पनि पुरुषोत्तम दाहालको ‘कालपात्र’ र खड्गबहादुर सिंहको ‘विद्रोह’ को अभिव्यङ्ग्येय पक्षमा पनि सामयिक अन्तरालका केही प्रभाव बाहेक अन्य पक्षमा सांयोगिक समानता रहेको भेटेँ । आख्यानकार ‘अरस्तुदेखि बंकरसम्म’ धाए पनि र कवि चाहिँ ‘विश्वभाजित’ छ भनेर जति नै उफ्रे पनि आजको सामाजिक प्रशासनिक विकृति पनि त्यो बेलाको जस्तै विचार विवेकविहीन रहेको रमाइलो कुरो गर्न पाउँदा ‘फेरि इतिहास दोहोरिन्छ’ नाट्यको भणितिलाई पनि सम्झनुपर्ने हुन्छ । अँ त्यो बेला पनि भर्खर सातसाले क्रान्ति सकिएर समाज थिग्रन खोज्दै थियो ।

शिक्षाका अभावमा पिल्सिएको नेपालमा विकास दिवास्वप्नवत् रहेको अनुभव इमानदार राजनेताले पनि गरेको कुरो ग्रीष्मबहादुर देवकोटाले लेखेको ‘नेपालको राजनीतिक दर्पण’ नामका पुस्तकमा चर्चा गरिएको छ । एकातिर दलहरू खोलिन्थे तर दल चलाउने अनुभव कसैसँग पनि थिएन । आजका ओलीले गालीगलौज र दम्भलाई राजनीतिक संस्कार बनाएजस्तै । घनश्याम भुसाल चिन्तन र अध्ययन गर्ने असल मान्छे हुन् । भारतमा पनि बेलायतको उपनिवेश भर्खरै सकिएको थियो तर भारतीय अनुभव निकै कमजोर नै थियो यद्यपि नेपालका तुलनामा भारत हरेक कुरामा नै धेरै अगाडि छ जस्तो अनुभव भने गरिन्थ्यो नै ।

संसारको उम्दो राजनीतिक व्यवस्था बहुदलीय गणतान्त्रिक संसदीय प्रजातन्त्रमा पनि आज सुकर्म मानजस्तो नेता रसतकर्र्मी पार्टी भएको कल्पना एउटा राजनीति र समाज-व्यवहार बुझेका मान्छेले लेख्नु परो भने समाजशास्त्रका अध्येताले समाज विकास भएको देख्ला या समाज अधोगतिमा लागेको ? 

संसारको उम्दो राजनीतिक व्यवस्था बहुदलीय गणतान्त्रिक संसदीय प्रजातन्त्रमा पनि आज जब कि देशका कुना कन्दरासम्म शैक्ष्णिक संस्थाहरू पुगेका बेलामा त सुकर्म मानजस्तो नेता रसतकर्र्मी पार्टी भएको कल्पना एउटा राजनीति र समाजव्यवहार बुझेका मान्छेले लेख्नु परो भने समाजशास्त्रका अध्येताले समाज विकास भएको देख्ला या समाज अधोगतिमा लागेको ? ‘कालपात्र’ उपन्यासको मूल समस्या पनि यही होइन र ? होला तर हामीले त पढेका छैनौं नि पढ्न नाम लेखाएर आएकाले पढेनन् भने त्यो समस्या मेरो हो र ? सोमदत्त र सुम्निमा मात्र होइन सोमदत्तकी बिहाइते पत्नी पुलोमाले पनि युगका धारण बोकेको देखिन्छ ।

बत्तीस लक्षणले युक्त माधवी युगयुगको थिगार थिई भने युग बदल्न एउटा तपस्वीले समाज अध्ययन गर्न छोडेको सृजनशील पात्र थियो गालव । युगको प्रबाहसँगै चल्न नसक्ने जाति धर्म र दर्शनमा पनि खिया लागेर खिइँदै गएर नामशेष पनि हुनसक्छ कुनै दिन भनेर संकेत गरेको थियो त विप्रले । विश्वेश्वरप्रसाद कोइरालाको यो सन्देश बुझिदिएको भए आज धरानमा देखापरेको समस्या देखापर्ने थिएन । संविधानले निषेध गरेका कुरा र विधिपूर्वक सर्वसम्मत पास गरेका कुरालाई उकास्न र दोहोर्‍याउन उक्साउने सर्वोच्च शासक नै देखापरेका छन् । यही हो निर्लज्जताको पराकाष्ठा भनेको ।

‘अहोरात्र’ मा इसाई र मुसाईको मात्रै होइन आर्यसनातन वैदिक धर्म दर्शनको र त्यसका आधारमा बनेका नीति तथा आचारशास्त्रको पनि विवक्षा गर्दै निष्कर्षमा पुग्न खोजिएको छ । गीता, धर्मशास्त्र, श्रीमद्भागवत, देवी भागवत, विष्णुपुराण, चाणक्यनीति, महाभारत आदिका उद्धरणीय श्लोकलाई सन्दर्भले मागे अनुसारका ठाउँमा छानेर लेखकले प्रयोगमात्रै गरेका छैनन् अपितु मुस्लिम धर्मको व्याख्या र अनुशासनमा लागेको सोही धर्मको रिट्ठो नबिराई पालन गर्न चाहनेका मुखबाट आर्य सनातन वैदिक धर्मलाई अति समृद्ध र संसारका सबै धर्मभन्दा प्राचीन रहेको भनेर भनाइएको समेत पाइन्छ र पनि यो एक प्रकारले आप्रवासन (डायस्पोरिक) समस्या र मानसिकताका रसले ओतप्रोत रहेको उपन्यास भनिए पनि सांस्कृतिक विमर्शमा आधृत संवाद परक वार्ता विशेष बनेको देखिन्छ ।

‘कर्णली ब्ल्युज, सेतो धर्ती, पागल बस्ती, थाया र क्यान्डिड तथा प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को समेत प्रभाव र चिन्तनका चस्का भेटिन्छन् । समालोचक रामकृष्ण शर्माले भेटेको भए नेपाली उपन्यास लेखनमा उत्तर आधुनिकता र मध्यकालीन भ्याटिकन सिटीको प्रभाव भनेर गज्जबको समालोचना लेख्ने रहेछन् । देवकोटा र बालकृष्ण समलाई थर्काउनेले यी बबुरालाई त रालसिँगान बनाएर छाडेको तिमीहरूले देख्न पाउने रहेछौ । तिमीहरूको रोग भनेको के हो भने धेरै नपढ्ने, मानक पुस्तक छानेर नपढ्ने र पेन्टका पछाडिका खल्तीमा पढ्न हिँडेको जनाउ दिन कापी घुसारेर हिँडे पनि गोजिका सञ्चारसंयन्त्रका भर पर्ने न हो ।

अँ त ऋषिले दिएको फल आत्मदेवकी पत्नीले आफ्नी बहिनी धुन्धुलीका सल्लाह र परामर्शमा लागेर ऋषिप्रदत्त फल गाईलाई खुवाएर आफू चाहिँ थोत्रा थाङ्ना पेटमा लपेटेर बस्न लागी । बहिनी सुत्केरी भएपछि उसलाई धनदौलत दिएर छोरो पाएँ भन्छु थुनिलो भएर दूध आएन भर्खरै मेरी बहिनी पनि सुत्केरी भई उसको बच्चा मरेको हुनाले त्यसलाई बोलाएर ल्याउन खसमलाई अह्राउँछु र पुत्रवती बन्छु भन्ने सोचेर गरेका कामले उसलाई रुनु न हाँस्नु बनाएको थियो । एक दिन जयवागेश्वरीमा धेरै मान्छे भएका ठाउँमा यो राजा किन यति अनुत्तरदायी बनेको प्रजातन्त्रका प्रति भनेर कसैले सोद्धा बिपीले भनेका थिए, एउटा राजाका दुई रानी रहेछन् । जेठीलाई हेलाँ गरेर घोडसारमा राखेको थियो । कान्छी पर सरेका बेला राजा लुकेर जेठीलाई भेट्न जाँदा उसले गर्भ बोकी छ ।

कसैलाई गाई-गोरु काट्नै पर्ने अर्काथरी गाईलाई माता मानेर पूजा गर्नेलाई आज आमुन्ने सामुन्ने गराएर कसले कसको भलो गरेको छ ? यो देश भनेको गाईमा सारा तीर्थको दर्शन गरेर विश्वकल्याणको कामना गर्ने र सर्वधर्म सम्मानमा विश्वास गर्नेको देश हो ।

पेट देखिन थालेपछि कान्छीले चाल पाएर जेठीलाई त्रास देखाइछ र भनिछ म कपडा बेरेर गर्भिणी भएको देखाउँछु । मैले राखेका मान्छेका सुरक्षामा बसेर गर्भ बैडनेबित्तिकै थारी बनिनस् भने मर्छेस् भनेर थर्काइछ । जेठीले हुन्छ भनी । राजाले पनि यो सबै चाल पाएका हुनाले एक दिन टुँडीखेलमा राज्यका भद्र भलाद्मीलाई उपस्थित गराएर भनेछन् “यो छोराका लागि दुवै रानी झगडा गर्छन् अतः यसलाई करौंतीले चिरेर दुई फ्याक बनाई एक फ्याक जेठीलाई एक फ्याक कान्छीलाई दिएर झगडा मिलाउन मैले तिमीहरूलाई बोलाएको हो एजल्लाद, हो लौ काम गर त’ भनेर राजाले जल्लाद लाउनासाथ जेठी हात जोड्दै आएर सरकार यो छोरो मैले पाएको होइन कान्छीले नै पाएको हो, नकटाईबक्सियोस् भनिछ ।

ऊ आमा भएकी हुनाले छोरो मार्न चहिन भन्ने बुझेर राजाले छोरो जेठीलाई दिएर कान्छीलाई घोडसार पठाएछन् । पञ्चायत र प्रजातन्त्रमा मैले प्रजातन्त्रको हत्या भएको हेर्न नसकेको हुनाले पञ्च र राजा लुकामारी खेल्दै छन् मसँग । हुन पनि प्रजातन्त्र यो देशमा ल्याउँदा वर्तमान नेका सभापति बेलायतमा, ओली सामान्य, प्रचण्ड आरुघाटमा मास्टर रहेछन् । बिलो बाँडेर खान गरेको हारालुछ कोशी र सङ्घीय संसदसम्मै देखेनौ र ? साधारण भन्दा साधारण मान्छे भन्न लागे अब यी सात आठजाना नेताका अनुहारका सत्ता र राजनीतिका खन्चुवा मञ्चमा छउन्जेल न देश बन्छ न जनताले सुखसुविधा पाउँछन् । हुँडार कहिल्यै कसैको भलो गर्दैन ।

राजनीति जनताको विश्वास र सहभागितामा मात्रै सफल हुन्छ । मोदी, विप्र, नेहरू, अरू त के रविजस्ता हावाका बेलुनको पनि त ताहुरमाहुर त देख्यौ होइन ? जमिनको भित्री भागमा जरा नपुगेका रुखले जसरी हुन्नरी थेग्न सक्दैन त्यसैगरी यी साउने च्याउका शैलीमा उम्रेका राजनीतिक दल या भल के हुन् यिनको पनि सानै भएपनि हुन्नरीमा हविगत हुनेवाला छ । राजाको अर्थ हो रञ्जन गर्नु गराउनु । नाम नखुलेको कालो पदार्थ भक्षण गरेर देश र जनता दबाउनु लुट्नु थिएन होइन तर त्यसैमा निमग्न भएर दरबार गयो । अबको पालो कांग्रेस कम्युनिष्टको नबनोस् भनेर कामना गरौँ ।

कामना गरेरमात्रै पुग्दैन विवेक, विचार, योजना संकल्प नभएको नेतृत्वलाई हटाउन सक्नुपर्दछ । हाम्रा मतदाता हेमबहादुर मल्ल र ठूले सानेका जस्ता मतदाता छन् । तिनले ल्याउने फेरि पनि शेबदे, ओली, माकुने, झलनाथ, बाबुराम र पुकदा नै हो । ‘अन्धेनैव नीयमानो यथान्ध’ अन्धाले डोहो¥याएर ल्याएको अन्धोजस्तै । अतःराजा फाले पनि कार्यकारी अधिकार तथा आलंकारिक पदका पनि मान्छेको स्वभाव चिन्तन र आचरणले जनतामा भरोसा जगाउन विश्वास दिलाउन सकेन भने आउँदो फागुन चैतमा सच्चालीस सालको पञ्चायत या २०६३/०६४ को राजदरबार कांग्रेस र कम्युनिस्ट पनि नहोलान् भन्न सकिँदैन ।

कसैलाई गाई गोरु काट्नै पर्ने अर्काथरी गाईलाई माता मानेर पूजा गर्नेलाई आज आमुन्ने सामुन्ने गराएर कसले कसको भलो गरेको छ ? यो देश भनेको ‘कपिले सर्व देवानांपूजनीयशिरोहिणी तीर्थदेवामयी...’ भनेर गाईमा सारा तीर्थको दर्शन गरेर विश्वकल्याणको कामना गर्ने र सर्वधर्म सम्मानमा विश्वास गर्नेको देश हो । यसो भएको हुनाले अब आ–आफ्ना शीर्ष नेताको आरती गर्ने र भजन गाउने होइन, तिनको विकल्प खोज्ने त्यो पनि सक्षम र संकल्पशील अनि सदाचारयुक्त अन्यथा प्रत्येक दशकमा आउने गरेको हुन्नरी यसपटक पनि आगामी फागुन चैतमा आउँछ नै । त्यसले ढुङ्गोमाटो उठाएर लाँदैन लाने शेबदे ओली प्रभृतिलाई नै हो । नेपाली जनताको अवस्था चाहिँ ‘अनि देउराली रुन्छ’ नै हो । ‘शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि’ भन्ने कुरो मतदाताले पनि सिक्नुपर्छ । बाँकी कुरा अर्को कक्षामा है त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?