सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश सिंह यादव निलम्बित

 भ्रष्टाचार मुद्दाकै कारण सप्तरीका चार पालिका प्रमुख विहीन

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 10 mins

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बित भएका छन ।
यो सँगै सप्तरीमा भ्रष्टाचारको आरोपमा निलम्बित हुने पालिका प्रमुखको संख्या चार पुगेको छ् । यसअघि सप्तरीको राजविराज, शम्भुनाथ र विष्णुपुर पालिकाका प्रमुखहरू भ्रष्टाचारको आरोपमा निलम्बित भएपछि पालिकाहरू प्रमुख विहीन बनेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो ।
तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
मेयर यादव र वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले बताएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाईको आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनु भयाे ।

अख्तियारले नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तीन दिनअघि सप्तरीको विष्णुपुर गाउँपालिकाका २ कर्मचारी पक्राउसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन् ।

यसअघि राजविराज र शम्भुनाथ नगरपालिकाका नगर प्रमुख निलम्बनमा परेका थिए । सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस मागेको सम्बन्धमा विष्णुपुर गाउँ पालिका विरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन् । लेखापाल र एमआईएस अपरेटरलाई घुस रकम लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।

राजविराजस्थित गजेन्द्र चोकबाट गत साउन ३१ गते सोलार सम्बन्धी योजनामा घुसको रूपमा २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव पक्राउ परेका थिए । अख्तियारले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम विशेष अदालतबाट म्याद थप भई थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक उक्त ऐनको दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन हुने प्रावधान छ ।

सोलार सम्बन्धी योजनामा अध्यक्ष यादवसँग बार्गेनिङ पश्चात् ५ लाख रुपैयाँमा कुरा टुंगिएको र अध्यक्षले नगदै माग गरेकोमा सेवाग्राहीले दुई लाख रुपैयाँ मात्र नगद जम्मा गर्न सकेको भनेपछि ३ लाख रुपैयाँको चेक दिने सहमति भएको अख्तियारको दाबी छ । उक्त रकम लिन अध्यक्ष यादवले नै कर्मचारीहरूलाई पठाएको प्रमाणका आधारमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनु भयाे ।

यस अघि, अख्तियारको कारबाहीमा सप्तरीका २ नगर प्रमुख परिसकेका छन् । राजविराज स्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले निर्माण कम्पनी न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालकको हैसियतमा राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भीमराज निलम्बित भएका थिए ।
पदभार ग्रहण गरेको दुई महिना नपुग्दै २०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज माथि आयोगले मुद्दा दायर गरेको थियो ।

गत साउन ३२ गते विशेष अदालतले भीमराज माथिको आरोपमा दोषी ठहर गर्दै जरिवाना गरेको छ । यादव जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का शम्भुप्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
आर्थिक वर्ष ००७४ मा राज रङ्गशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगर प्रमुखसमेत रहेका न्यु गहिल कन्ट्रक्सनका सञ्चालक भीमराज यादव, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तत्कालीन इन्जिनियर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तत्कालीन प्रमुख द्वय लक्ष्मण मण्डल, महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष थीरेन्द्र बर्मा विरुद्ध आरोपपत्र दायर गरिएको थियो ।

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित छन् । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनियर साहमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । दुवै जनालाई बिगो एक लाख ४० हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?