विद्युत् व्यापारमा चिनियाँ राजदूतको जोड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपालस्थित चिनियाँ राजदूत छन सोङबीच छलफल भएको छ । सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले मंगलबार राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको हो । अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्‍याउन सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले सिएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराउनुभयो ।

राजदूत सोङले चीन र भारतबीचमा भएर सानो देखिए तापनि नेपाल सानो मुलुक नभएको बताउनुभयो । नेपालसँग भएको आफ्नो ऊर्जा र स्रोतमार्फत् विकास गर्न सक्ने भन्दै उहाँले दीर्घकालीन विकास रणनीतिमा जोड दिनुभयो । ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने उहाँको सुझाव थियो ।

सिएनआईले औद्योगिक विकासका लागि काम गर्दै आएको भन्दै राजदूत सोङले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो ।

छलफलमा सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?