भोजपुर टक्सारको पहिचान बनेको छ दाफा भजन 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 8 mins

हाँदे विद्याधरी जगन्माता दरसन याय ।।
हाँदे जवस गणेशपति खवस महाकाल
मंजुश्री दरशन याय, बुध, हाँदे बिद्या....।।१।।

भोजपुर । माथी प्रस्तुत विद्याधरी माताको स्तुती रहेको नेपालभाषामा रचित केराग दाफा भजन हो । दाफा भजनका बिभिन्न रागहरु हुन्छ । पूर्वी पहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार दाफा भजनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दे आएको ठाउँ हो । धर्म, संस्कृति र परम्परा कायम राख्न टक्सारमा दाफा भजन गाउने गरिन्छ । दाफा भजनमा ९५ प्रतिशत गीत तथा भजन नेपालभाषामा छन भने बाँकी हिन्दी भाषामा हुने गर्दछ ।

टक्सारमा १९५० सालदेखि १९५५ को बीचतिरबाट दाफा भजन शुरु भएको इतिहास पाइन्छ । ‘दाफा’ भजनको प्रारम्भ भने ग्वारा आजु पाटनबाट यहाँ आएपछि भएको मानिन्छ । पाटनबाट यहाँ आएका ग्वारा आजुले टक्सारमा आएर दाफा भजनको प्रशिक्षण सुरु गरेपछि भजन गाउनेक्रम सुरु भएको भजनका ज्ञाता स्थानीय प्रेम कुमार शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो, “टक्सार बजारको पहिचान बचाई राख्ने महत्वपूर्ण तत्वहरुमध्ये दाफा भजन पनि एक हो, टक्सार बजार र दाफा भजन पर्यायबाची नै बनिसकेको छ ।” टक्सारमा हुने जुनै पनि कार्यक्रमहरुमा दाफा भजन समावेश गरिएको हुन्छ  ।

यो भजन टक्सारका मन्दिर तथा बिहारहरुमा बिशेषतः अष्टमी र पूर्णिमा आदि निश्चित पर्वमा अनिवार्यरुपले सञ्चालन गरिन्छ भने भीमसेन जात्रा, कृष्णजात्रा र अन्य जात्रामात्रा एवं उत्सवहरुमा पनि दाफा भजनको आयोजना गरिँदै आएको स्थानीय सानुकाजी शाक्यले बताउनुभयो । श्री अजिमाको मन्दिरमा गुँला पर्वभरि एक महिना प्रातः दाफा भजन गर्ने चलन अहिले पनि कायम नै छ । समाजमा सम्पन्न गरिने शुभ बैवाहिक कार्यक्रम, चुडाकर्म, भीमरथारोहण, पास्नी आदि ब्यक्तिगत कार्यक्रममा खुशियाली पूर्वक दाफा भजन पनि गाइने परम्परा रहदै आएको स्थानीयको भनाई रहेको छ ।

टक्सार बजारमा प्रचलनमा रहेको भजनहरुमा गाइने भजन गीतहरुमा सवै खालका देवीदेवताहरुको स्तुतीगान रहेको छ । जसमा नेपालभाषा, हिन्दी भाषा, भोजपुरी, नेपाली भाषाहरु तथा विभिन्न मिश्रित भाषाको समेत प्रयोग भएको पाइन्छ । दाफा भजनमा प्रायजसो भक्तिगान नै गाइने भएता पनि विभिन्न जातक आख्यान, कथामा आधारित नाटकहरुका लागि लेखिएका कतिपय गीतहरु भजनका रुपमा नभई नाटकका पात्रहरुको दृश्य तथा प्रसंग भाव, दृश्य अनुसार प्रेम, मिलन, विछोडजन्य सन्दर्भका स्वच्छन्द गीतहरुलाई विभिन्न अवसरमा जोश र भावपूर्णरुपले गाउने गरिएको भजनका ज्ञाता तथा यसोधरा मावि टक्सारका पूर्व प्रअ गणेश बज्रचार्यको धारणा रहेको छ ।

टक्सारमा २०३५-३६ सालसम्म श्री अजिमा दाफा संघ,श्री करुणामय दाफा संघ, श्री शाक्यमुनि दाफा संघ लगायतगणेशटोल र विष्णुटोलमा समेत दाफा भजन संघको स्थापना भई बिभिन्न पर्वहरुमा ती संघबाट भजन संचालन गरेको इतिहास छ । पछिल्लो समयमा टक्सार बजारबाट स्थानीयहरु बसाई सराई हुनेक्रम बढ्न थालेपछि पहिलो पुस्ताका हस्तिहरु पनि क्रमशः घट्दै गएपछि यी संघहरुमा सहभागीता हुनेको संख्यामा भने कमी हुदै गएको थियो ।

दाफा भजनको प्रथम पुस्ताकारुपमा ग्वारा आजु, सिंहज्योति शाक्य, मंगलदासको नाम आउछ भने दोश्रो पुस्तामा हर्कराज शाक्य, पुनरत्न शाक्य, ज्योतिमान शाक्य, सिंहराज उदास, हर्षधन शाक्य, देवरत्न शाक्य, गंगा बहादुर शाक्य पृथीराज शाक्य, मणिरत्न शाक्य, हेमनाथ शाक्य, मानकाजी शाक्य लगायत हुदै दोश्रो पुस्तामा न्हुच्छे प्रसाद उदास लोकनाथ शाक्य ,तिर्थराज शाक्य, लक्ष्मण उदास, तिर्थ राज तुलाधर  पृथीराज शाक्य  ज्ञान बहादुर शाक्य, सूर्य बहादुर ताम्राकार र देवकृष्ण शाक्य रहनु भएको छ । यस्तै तेश्रो पुस्ताकारुपमा देवकुमार शाक्य, नन्दराज शाक्य, कुल बहादुर ताम्राकार, भीमज्योति शाक्य, भक्तराज शाक्य, महेन्द्र शाक्य तिर्थराज शाक्य, मीम शाक्य आदिको नाम आउने गरेको छ ।

हाल देव कुमार शाक्य, प्रेम शाक्य, नरेन्द्रराज शाक्य, हर्ष बहादुर ताम्राकार, राजकुमार ताम्राकार, सानुकाजी शाक्य, सुमन शाक्य, भरत ताम्राकार, योगेश उदास, सागर उदास, प्रवीण उदास, सुरज ताम्राकार, विशान्त हलवाई, विन्जल हलवाई, दीपक शाक्य लगायतका उदीयमान भजनकर्मीहरुले परम्परागत दाफा भजनलाई निरन्तरता दिदै आई रहनु भएको स्थानीय सागर उदासले जानकारी दिनुभयो ।

टक्सारबाट बिस्थापित हुनु भएका भजनकर्मीहरुले पनि कलायुक्त दाफा भजनलाई बसाइसराई भएको स्थानहरु धरान, काठमाण्डौ, बिराटनगर जस्ता शहरहरुमा समूह, गुठी खडा गरी कला संस्कृतिलाई विस्तार गर्दै आउनुभएको छ । नागरिकहरूको विस्थापनसँगै यहाँका प्रतिभाशाली भजनकर्मीहरुको बहिर्गमन, पुराना सिद्धहस्त भजनकर्मीहरुको मृत्यु लगायतका कारणहरुले भने दाफा भजनको मर्म र महत्व अनुभूत गर्न सक्ने खालका भजनकर्मीहरुको अभाव देखिएको छ । तर पनि इतिहास बनेको टक्सारको दाफा भजन जोगाउन आफुहरु सक्रिय रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो ।

दाफा भजनका बिभिन्न रागहरु समेत हुन्छन । जसमा समय अनुसार गाउने गरिन्छ । बिहाँचुली, भक्तजयसिरी, मालुवा, बिभास, आसावनी, पद्मजति, देसा, कौसी, केदार, विजय, विभास, नाथ, नमामी, मालवालगायतका रागहरु दाफा भजनमा हुने गरेको छ । शाक्यमुनि दाफा संघ, अजिमा दाफा संघ र श्री करुणामय दाफा संघहरु भने हाल पनि सञ्चालन भईरहेको अवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?