विशुद्ध धर्म मानव धर्म

हिमालय टाइम्स
Read Time = 10 mins

वीरभद्र आचार्य

हिन्दु परम्परामा धर्मको अर्थ विभिन्न प्रकारले लगाइएको पाइन्छ । आधुनिक पण्डितहरूमध्ये कसैले धर्मभन्दा दान दिनु भन्दछन्, कसैले धर्मभन्दा पूजाआजा भन्द छन्, कसैले धर्मलाई मन्दिर र तीर्थयात्रामा सीमित गर्दछन् । कसैले त्याग नै धर्म हो भनेर भन्छन् । यी अनेक परिभाषाका बीचमा प्रश्न उठ्छ, के तस्वीरमा अथवा मूर्तिमा अबिर, चन्दन, फूल चढाउनु धर्म हो ? के होम गर्नु, उपासना या मन्त्र जप धर्म हुन्छ । वा कुनै असहायप्रति करुणा दर्साउनु धर्म हो या फेरि तीर्थ व्रत गर्नु धर्म हो ? उता फेरि गीताले कर्तव्य कर्म नै धर्म हो भनेर व्यख्या गरेको छ ।

गीताको यो व्यख्यालाई आधार बानाएर कुरा गर्दा कुनै पनि जीवले आफ्नो नैसर्गिक गुण अनुसारको चालचलन गर्नु नै धर्म हो । सूर्यको नैसर्गिक गुण वा धर्म प्रकाश दिनु हो । माटोको धर्म उब्जनी दिनु हो । पानीको धर्म प्यास मेटाउनु हो । यदि कुनै दिन सूर्यले आफ्नो धर्म छोडिदिने हो भने यो पृथ्वीमा जीवको अस्तित्व समाप्त हुन्छ । त्यसैगरी माटोले आफ्नो धर्म छोड्ने हो भने पनि हाम्रो अस्तित्व समाप्त हुन्छ । जनावरले, पक्षी, किट पतंग सबैले आ-आफ्नो धर्म निर्बाह गरेका नै हुन्छन् भने मनुष्यको धर्म के हो त ?

आत्मरक्षा, सँगसँगै परिवार, सन्तान, समाज र समग्र मानव अस्तित्वको रक्षा र विकासका लागि कार्य गर्नु मानव धर्म हो । दया, करुणा, दान, पूजा, आदि कर्तव्य कर्मका भिन्न पाटामात्र हुन् । जब मनुष्य काँधमा जिम्मेवारी, मस्तिष्कमा समझदारी र हृदयमा इमानदारीको भाव लिएर निष्काम कर्मको बाटोमा हिँड्छ, उसले विशुद्ध धर्मको बाटो समातेको हुन्छ । विशुद्ध धर्म भन्नु नै कर्मयोग हो, यसले मनुष्यलाई आत्मानुभूति गर्न मद्दत पुर्‍याउँछ ।

पृथ्वीमा जीव विकासको क्रममा एकमात्र कोशिका भएको अमिवाबाट विकसित हुँदै गएको जीव बहुकोशिका भएका किट पतंगमा हुने स्मृतिजन्य प्रतिक्रियात्मक जीवनबाट विकसित हुँदै सीमित बुद्धि भएका पशुको चरण पार गर्दै अन्तमा आएर मानव जुनीमा आएर तुरिएको छ । मानवमा पशुपक्षीमा भन्दा फरक ठीक र बेठीक छुट्याउन सक्ने बुद्धि विवेकको विकास भएको छ भने मानव जातिको अर्को ठूलो उपलब्धि भन्नु संयमको प्रयोग हो । पशु आदि जीवमा संयमको अभाव हुन्छ, जबकि मनुष्यले कुनै पनि परिस्थितिको आंकलन गरेरमात्र कर्म गर्दछ । किट पतंगदेखि पशुपक्षी हुँदै यो अवस्थामा विकसित भएको हुनाले मनुष्यमा पशु वृत्ति पनि हुनु कुनै अनौठो कुरो होइन कि यो स्वाभाविक नै हुन्छ ।

काम, क्रोध मनुष्यले अघिल्ला जुनीबाट लिएर आएको गुणहरू हुन् भने डाहा, इष्र्या, लोभ र मोह मनुष्यमा विकसित भएका गुण हुन् । उदाहरणका लागि पशुहरूमा लोभ, मोह, इष्र्या भन्ने गुण हुँदैन जबकि मनुष्यमा यी विद्यमान छन् । साधरणतया मनुष्यमा क्रोध र काम (विषय भोगको इच्छा, कामना, वा वासना) जन्मसँगै गाँसिएर आएका हुन्छन् भने डाहा, इष्र्या, लोभ र मोह परिवार, संस्कार, वातावरण र परिवेशले उत्पन्न गरेका हुन्छन् ।

काम, क्रोध, लोभ, मोह आदि कसैमा धेरै मात्रामा हुन्छ भने कसैमा थोरै मात्रामा हुन सक्छ तर यी सबैबाट माथि उठेर आफूमा दया, करुणा अनि समभावको विकास गर्नु मानवमात्रको धर्म हुन सक्छ जुन कुरा अन्य जीवहरूमा सम्भव छैन । अन्य जीवमा जे जस्तो गुण र दोष प्रकृतिले दिएको छ त्यसमा तलमाथि हुन सक्दैन भने मनुष्य हुनुको उपलब्धि नै स्वविवेकको प्रयोग गरेर आफूलाई विशुद्ध बनाउँदै भगवत् प्राप्तिका लागि लायक बनाउनु हो ।

साधारण मनुष्यको चेतनालाई बुद्धिले ढाकेको हुन्छ भने महात्मा र योगीहरूमा चेतनाको स्तर परम चैतन्यमा विकसित भएको हुन्छ । जीवको अन्तिम खोज नै परम चैतन्यको अवस्था हो र यो अवस्था प्राप्त नगरेसम्म जीवले अनेकौं जन्म लिन्छ । यो मनुष्यको मृत्युमा गएर समाप्त हुँदैन यसले अर्को जन्म लिने क्रम जारी रहन्छ । जीवका लागि जीवन सुनारको अगेना जस्तो हुन्छ जहाँ पल पलमा विशुद्धताको परीक्षण भइरहेको हुन्छ ।

मनुष्य जीवनमा हुने उतारचढावले जीवलाई माझ्दै विशुद्धतातर्फ डोहो¥याइरहेको हुन्छ किनकि जीवनको परम लक्ष नै विशुद्धतामा अवस्थित हुनु हो । विशुद्धताको बाटोमा कर्मको भारी बोकेर हामीले धेरै जीवन लिइसकेका छौं र फेरि पनि लिन्छौं । यस बाटोमा हिँड्दा दुष्कर्मले हामी आफ्नो भारी बढाइरहेका हुन सक्छौं भने निष्काम कर्मले हामीले आफ्नो भारी हल्का गर्दै लग्न सक्छौं । भारी जति हल्का भयो त्यति नै सजिलोसँग हामी लक्षमा पुग्न सक्छौं ।

स्वामी विवेकनन्दको अनुसार पूर्वजन्मको संस्कारले मनुष्यको यस जन्मको स्वभावलाई तय गरेको हुन्छ । किनकि विकास प्रक्रियामा जीवले जहाँ वा जुन अवस्थामा मृत्यु वरण गरेको हुन्छ अर्को जन्ममा उसको यात्रा त्यहीँबाट सुरु हुन्छ । जुन कुरा ‘गीता’ ले पनि पुष्टि गरेको छ । विकासको क्रममा जीवन पछिल्तिर फर्कनुभन्दा विशुद्धतातर्फ परिलक्षित हुन्छ । त्यसैले मनुष्य योनीमा मानिसमा विद्यमान विवेकको सही प्रयोग आवश्यक हुन्छ तर साधारण अवस्थामा विवेकलाई इन्द्रियले घेरेर राखेको हुन्छ जसले मानवलाई विषयभोगतर्फ तानिराखेको हुन्छ र कतिपय समयमा हाम्रो पूर्वजन्मको संस्कारले हाम्रो यस जन्मको कर्मलाई डोहो¥याएको हुन्छ ।

त्यसैले मनुष्यले विवेक र बुद्धिको प्रयोग गरेर यी दुवै परिस्थितिबाट माथि उठ्न सक्नुपर्छ । बुद्धि अथवा विवेक मानिसलाई प्रकृतिको अमूल्य उपहार हो जसको सही प्रयोगबाट मनुष्यले यो जीवनलाई सुखी र शान्त बनाउन सक्छ भने जीव विकासको प्रक्रियालाई छोट्याउन सक्छ । भन्नुको अर्थ मानिसले बुद्धिको सही प्रयोगबाट आफ्नो भाग्यलाई सच्याउन सक्छ । गीताको आवरण चित्रले देखाएको अनुसार इन्द्रियहरू भनेको घोडाजस्तै हुन् जसको विना लगाम कुनै गन्तव्य हुँदैन ।

यी घोडाहरूलाई मनरूपी लागामले खिँचेर राख्नुपर्छ तर मनलाई सजिलै इन्द्रियहरूले बसमा पार्न सक्ने भएकोले मनलाई बुद्धि र विवेकको सही प्रयोगबाट नियन्त्रणमा राख्नुपर्दछ । जब मनुष्यले यो कुरा राम्ररी मनन गरेर बुद्धिको सही प्रयोगबाट विशुद्धताको बाटो समात्छ तब उसले सजिलै आत्म दर्शन पाउँछ । तसर्थ विशुद्धताको बाटोमा बुद्धिको सही प्रयोग र चारित्रिक शुद्धता (चित्तमा रहेको मल हटाउने प्रयास) अत्यन्त महŒवपूर्ण पथप्रदर्शक हुन् । ॐ विशुद्धाए नमः

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Birbhadra Acharya
Birbhadra Acharya
2023-09-01 11:37 am

हाम्रो सरकारले आफ्नो धर्म न निभाउँदा देश यो दुर्दशामा पुगेको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?