नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : नैनसिंह महर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको  त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र  नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल(चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताउनु भयो। उहाँले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने धारणा राख्नुभयो ।

'चीन नेपालको असल छिमेकी हो । तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,' उहाँले भन्नुभयो, 'सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ।'

उहाँले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताउनु भयो। एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने उहाँको धारणा थियो।

‘नेपालको सार्वभौम संसद्‌ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्सा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?