नाडाद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष डा. ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न विषयमा छलफल गरेको छ । नाडा अध्यक्ष थापाले सदैव समस्याका रूपमा देखा पर्दै आएको सन्दर्भ मूल्यसूचीबारे तत्काल सरोकारवाला निकायसँग छलफल गरी ययार्थपरक मूल्य कायम गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले सुस्ताएको बजार चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधकका रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकबाट निजी सवारीसाधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमा बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, चालु पुँजी कर्जा सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीसमेतको निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालालाई समेत असर पर्न जाने अध्यक्ष थापाले गुनासो गर्नुभयो । कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि छ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नति नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भन्दै उक्त व्यवस्था तत्काल सच्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले नेपालमा अहिले अटोमोबाइल उद्योगहरू पनि क्रमशः खुल्दै जाने क्रममा रहेका सन्दर्भमा यस्ता उद्योग स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोबाइल उद्योगहरूलाई विशेष क्षेत्रमा वर्गीकरण गरी सोहीअनुरूप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने र काठमाडांै उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिनुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

मन्त्री महतले भने समस्याबारे आफू जानकार रहेको भन्दै समाधानका लागि प्रयास गरिने आश्वासन दिनुभएको थियो । नाडाका अनुसार सो अवसरमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकालको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?