धादिङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पछिल्लो समय धादिङमा सम्बन्ध बिच्छेदका घटना अत्याधिक मात्रा बढ्दै गएको छ ।

जिल्ला अदालत धादिङका अनुसार पछिल्लो २ दिनको अवधिमा धादिङमा सम्बन्ध बिच्छेदका ८ मुद्दा परेको छ । घरायसी समस्या आएपछि सम्बन्ध बिच्छेद गर्नका लागि अदालत आउनेहरुको सख्या बढ्दै गएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार उपसचिव माधव भण्डारीले आफू सरुवा भएर आएको २ दिनमै सम्बन्ध बिच्छेदका घटना धेरै आउने गरेकोले जिल्लाको अवस्था भयावह रहेको बताउनु भयो ।

वैदेशिक रोजगारीमा गएपछि घरपरिवारबाट बिछट्टीनु, आर्थिक अवस्था कमजोर, घरेलु हिंसा, रक्सी तथा कुलतको कारण सम्बन्ध बिच्छेदको घटना बढ्दै गएको हो ।

जिल्ला अदालतको पछिल्लो १ महिना १३ दिनको अवधिमा देवानी प्रकृतिका ८९ थान मुद्दामध्ये ६३ थान मुद्दा सम्बन्ध विच्छेदको रहेको छ । सम्बन्ध विच्छेदका मुद्दालाई हेर्ने हो भने ७१ प्रतिशत मुद्दा रहेकोले यो अवस्था भयावह नै भएको भण्डारीको भनाइ छ ।

सम्बन्ध बिच्छेदका मुद्दा मध्ये ४५ मुद्दा त मिलापत्रको माध्यमबाट फैसला भएको छ । राजीखुसीले दुबै पक्ष सहमत भएर सम्बन्ध बिच्छेद भएकोले बिस्तारै समय क्रममा कुनै गाउँ सम्बन्ध बिच्छेदको गाउँ बन्ने अवस्था आउने भण्डारीको भनाइ छ ।

धादिङ जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० मा १ हजार ६ सय ९७ थान मुद्दा मध्ये ५ सय ३७ मुद्दा सम्बन्ध बिच्छेदका रहेको छ । एकवर्षमा अदालतको २ सय ५१ कार्य दिनमा हरेक दिन २ जनाभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा रहेको तथ्याङ्क छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?