सुत्केरी बचाउन ‘हेलिप्याड’ निमार्ण

नेपाली सेनाले निमार्ण गरेको हेलिप्याड गाउँपालिकालाई हस्तान्त्रण गरिदैँ । तस्बिरः मान बहादुर विश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटको शुभकालिका-५ सुकाटियामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजनाअन्तर्गत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो । जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको सहयोगले हेलिप्याड निमार्ण भएको हो ।

भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं. वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण भएको हेलिप्याड दैलेखकी सङ्घीय सांसद सीता रानामार्फत नेपाली सेनाले गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । शमशेर गुल्म मान्मका गुल्मपति सेनानी रन्जित कार्कीले एक महिनाको अवधिमा आफ्नै जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेको बताउनुभयो । सेनानी कार्कीले सुकाटियाको डाँडो सम्याएर हेलिप्याड बनायौँ, जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज सुनाउनुभयो ।

सेनानी कार्कीले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले नेपाली सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर ठुलो सहयोग गरेको बताउनुभयो । अध्यक्ष आचार्यले अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुने सुनाउनुभयो ।

सडकको सहज पहँच नभएको भए पनि गाउँपालिका भित्रका सुत्केरी वा दुर्घघटनामा परेका व्यक्तिलाई अस्पताल पुर्‍याउन ढिलाई भएर अब कसैको मृत्यु भएको खवर सुन्न नपाईने गाउँपालिकाको विश्वास छ । अध्यक्ष आचार्यले गाउँपालिकाको अनुरोधलाई स्वीकार गरेर सेनाले हेलिप्याड बनाइ दिएकोमा धन्यवाद दिँदै हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मत, सुधार गर्ने प्रतिबद्धता गर्नुभयो ।

भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पुर्‍याउन समस्या हुँदै आएको गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताउनुभयो । विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकोले हेलिप्याडको निर्माण पश्चात् उद्धारमा सहज हुने विश्वास गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?