नयाँ एयरलाइन्समा कम्तीमा तीन जहाज अनिवार्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’ को १०औँ संशोधन गर्दै विभिन्न नयाँ मापदण्ड कायम गरेको छ । जसअन्तर्गत ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने भएका छन् । त्यस्तै, वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्नेछ भने सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको संख्या न्यूनतम पाँचवटा पुर्‍याउनुपर्नेछ । मर्जरमा गएर पनि जहाज संख्या बढाउन सकिनेछ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रूपमा व्यक्त गर्न नहुने जनाइएको छ ।

त्यस्तै, वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य अर्थात् टुर एण्ड ट्राभल्सलगायतमा संलग्न हुन नपाउने, वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मतसम्भार तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था गरिएको छ । पाइलट पनि उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

त्यसैगरी प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व एवं निजी वायुसेवा कम्पनीले जिम्मेवार म्यानेजर र पोष्ट होल्डर नियुक्त गर्न नपाउने, प्राधिकरणले वायुसेवा कम्पनीको अकाउन्ट टेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरिने बताइएको छ । हाल समिट एयरसँग चार, तारा एयरलाइन्ससँग तीन र सौर्य एयरलाइन्ससँग दुईवटामात्रै जहाज छन् ।

नयाँ व्यवस्थाप्रति वायुसेवा सञ्चालक संघले असन्तुष्टि जनाएको छ । सरोकारवालासँग छलफल नै नगरी नयाँ व्यवस्था गरेर क्यानले वायुसेवा क्षेत्र नै बन्द गर्न खोजेको संघको आरोप छ । संघका प्रवक्ता योगराज कँडेलले कुनै निर्देशिका तथा नियमहरू संशोधन गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने व्यवस्था भए पनि क्यानले एकलौटी रूपमा निर्णय गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?