सन् २०२३ मा दुई लाख श्रीलंकाली रोजगारीका लागि विदेश पलायन

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यसवर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलंकाली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यसवर्ष पनि त्यति नै संख्यामा श्रीलंकाबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताउनुभयो ।

यसैबीच विदेशमा रहेका श्रीलंकालीहले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् ।
कामदारहरूको विप्रेषण श्रीलंकाको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाहृय क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।

श्रीलंकाको केन्द्रीय बैंकले व्याजदर बढाउनु र अत्यावश्यक वस्तुहरूको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता वस्तुहरूको कमीले जीवन कष्टकर भएपछि श्रीलंकाली नागरिक आन्दोलित भएका थिए ।

आन्दोलनका भरमा श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले राजिनामा दिनुपरेको थियो भने लामो राजनीतिक अनुभव सम्हाल्नुभएका वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ । सुधारका संकेत देखिएका छन् । मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन् । यद्यपि, आर्थिक संकटले पारेका घाउहरू निको हुन समय लाग्ने देखिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?