काठमाडौं । छिमेकी मुलुक भारतको तुलनामा नेपालको क्रिकेट इतिहास धेरै छोटो छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेकै जम्मा २७ वर्ष भयो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको थियो । भारतले भने अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेकै एक शताब्दी पुग्न लाग्यो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को स्थापना भएको ९५ वर्ष भयो । सन् १९२८ मा बिसिसिआई गठन भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको तीन दशक नपुगेको नेपालले सोमबार करिब सय वर्षे क्रिकेट इतिहास बोकेको बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्यो । भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको हार अपेक्षित नै थियो । जित्ने अपेक्षा नभए पनि ऐतिहासिक खेलमा नेपालले राम्रो क्रिकेट खेलोस् भन्ने स्वाभाविक अपेक्षा थियो ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल भारतमामु पनि धराशायी हुने संशय थियो । नेपालीहरूको अपेक्षा एकातिर भए पनि धेरैले नेपाल १५० रन वरिपरि समेटिने आँकलन गरेका थिए । तर, त्यसो भएन । भारतीय राष्ट्रिय टिमको सामना गर्न पहिलोपटक मैदानमा उत्रेको नेपालले खेल त जितेन । तर, संसारको मन भने जित्न सफल भएको छ । भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन् । हारका बाबजुद नेपालले एउटा बेग्लै ऊर्जा र आत्मविश्वास बटुलेको छ । विश्व क्रिकेटलाई नै ‘रुल’ गरिरहेको भारतविरुद्ध एसोसिएट्स हैसियतको नेपालले आफ्नो क्षमताको एक झलक प्रस्तुत गर्यो ।
पहिलो पावर प्लेमा भारतविरुद्ध हाबी भएको नेपाल त्यसपछि केही धिमा भएको थियो । तर, झण्डै पूरै ५० ओभर खेलेको नेपालले भारतसामु सम्मानजनक स्कोर खडा गर्यो । नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो । वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो । त्यसपछि ‘डकवर्थ एण्ड लुइस’ नियमका आधारमा भारतले नेपाललाई १० विकेटले हराएको हो ।
तारिफयोग्य प्रदर्शनका बाबजुद भारतसँग पराजित भएपछि एशिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणबाटै टुंगिएको छ । नेपाललाई सम्मानजक स्कोरसम्म पु¥याउन नेपाली ब्याट्समेनले राम्रो प्रदर्शन गरे । भारतका मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका बलरहरूलाई नेपाली ब्याट्सम्यानहरूले तारिफयोग्य तरिकाले सामना गरे । भारतका दिग्गज बलरहरूसँग नेपाली ब्याट्सम्यानले डटेर सामना गरे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८, सोमपाल कामी ४८, कुशल भुर्तेल ३८, दीपेन्द्र सिंह ऐरी २९ र गुल्सन झाले २३ रन बनाउनुभयो । अन्य ब्याट्म्यानले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले प्रशंसायोग्य ब्याटिङ गरे पनि बलिङमा भने राम्रो गर्न सकेन । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
कमजोर भौतिक पूर्वाधार र भद्रगोल आन्तरिक खेल संरचनामा हुर्किरहेका नेपाली क्रिकेटरहरूले पटक-पटक विश्वच्याम्पियन रहिसकेका भारत र पाकिस्तानजस्ता क्रिकेट महारथीहरूसँगको प्रतिस्पर्धाबाट आफ्नो उज्ज्वल भविष्यको संकेत गरेका छन् । क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत पनि गरेको छ । युवाहरू भोलि अनुभवले खारिएसँगै नेपालको क्रिकेट स्तर थप माथि उठ्नेमा शंका छैन । तर, त्यसका लागि क्रिकेटको पूर्वाधार विकास र खेलाडीहरूको एक्सपोजर अनिवार्य सर्त हो । अब सरकारले नेपाली क्रिकेटको विकासमा ध्यान पु¥याउन आवश्यक छ । पूर्वाधार निर्माणदेखि आन्तरिक खेल संरचनामा व्यापक सुधार गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।
विराट र राहुलबाट मेडल
एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । सोमबार राति भारतसँग १० विकेटले पराजित भएको नेपालका खेलाडीले भारतीय कोच तथा दिग्गज खेलाडीको हातबाट मेडल थापेका हुन् । भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेका हुन् । सामान्यतया जितेपछि मात्रै मेडल थाप्ने र कप उचाल्ने हुन्छ । तर, पहिलोपटक बलियो भारतसँग खेल्ने क्रममा नेपाली खेलाडीले ब्याटिङमा उच्च प्रदर्शन गरेको भन्दै हौसला बढाउन मेडल लगाइएको हो ।
नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई भारतीय हुनुहुन्छ । यसैले ब्याटिङमा राम्रो प्रदर्शन गर्नुभएका आशिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीबाट मेडल लगाउने प्रबन्ध मिलाउनुभएको हो । भारतविरुद्ध ५८ रन बनाउनुभएका आशिफलाई कोहलीले, ४८ रन बनाउनुभएका कामीलाई पाण्ड्याले र २९ रन बनाउनुभएका ऐरीलाई प्रशिक्षक द्रविडले मेडल लगाइदिनु भएको हो । मोन्टीले सोमपाल स्टार अलराउण्डर र दीपेन्द्र स्टार फिल्डर भन्दै भारतीय खेलाडीलाई चिनाउनुभएको थियो ।
आज स्वदेश फर्किँदै
एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) काठमाडौं आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाली क्रिकेट टोली काठमाडौं आइपुग्ने जनाएको छ । एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो । कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो । नेपालले मुल्तानमा १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । श्रीलंकाको क्याण्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो ।
नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय छ र क्षमता पनि : भारतीय पूर्वक्रिकेटर चोपडा
भारतीय पूर्वक्रिकेटर एवं हिन्दी कमेन्ट्रिटर आकाश चोपडाले भारतले नेपाली क्रिकेटलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । भारतले घरेलु संरचनामा समेट्दै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । भारतीय ‘ए’ टोलीलाई नेपाल पठाएर घरेलु संरचनासँग सामेल गराउनुपर्ने उहाँको धारणा छ । नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय रहेको र खेलाडीमा पनि क्षमता रहेको बताउनुभएको छ । ‘भारतले नेपाली क्रिकेटलाई अंगीकार गर्नुपर्छ र उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने आफ्नो जिम्मेवारी बनाउनुपर्छ । ‘ए’ टोलीलाई नेपाल पठाउनुहोस् । उनीहरूलाई भारतको घरेलु संरचनामा सामेल गर्नुहोस् (मलाई याद छ कि भारत–ए ले वेस्ट इण्डिजमा पूर्ण प्रथम श्रेणीको सिजन खेलेको थियो),’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय छ र तिनीहरूसँग क्षमता पनि छ ।’
सरकारले जग्गा उपलब्ध गराओस्, रंगशाला बनाउन महानगरले पहल गर्छ : मेयर बालेन
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताउनुभएको छ । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुग्नुभएका बालेनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोड रुपैयाँमै बन्न सक्ने उहाँको भनाइ छ । ‘त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमै बन्छ सायद,’ उहाँले भन्नुभएको छ, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’ यस्तो रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच