आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

चूडामणि कोइराला/हिटा
काठमाडौं । आज कृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी देशभर मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमी (आजकै) दिन यो पर्व मनाउने गरिन्छ । भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्रीजयन्ती वा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

वाल्मीकि विद्यापीठका प्राध्यापक तोयराज नेपालका अनुसार जुन दिनको मध्यरातमा अष्टमी तिथि पर्छ, त्यसैदिन कृष्णाष्टमीको व्रत गर्नु भन्ने शास्त्रीय र ज्योतिषीय मान्यता रहेको छ । रोहिणी नक्षत्र परेमा जयन्तीयोगसमेत परी अझ उत्तम हुन्छ भन्ने वचन शास्त्र भएको हुँदा यस वर्ष भाद्र २० गते बुधबार ३५.४७ घडीपछि अर्थात् रातको ८.४ बजेसम्म सप्तमी रही त्यसपछि रातभर अष्टमी तिथि रहने र रातको १०.२८ बजेपछि कृत्तिका नक्षत्र सकिएर रोहिणी नक्षत्रसमेत लागी जयन्ती योगसमेत परेको हुँदा भाद्र २० गते श्रीकृष्ण जन्माष्टमीको व्रत हुने उहाँ बताउनुहुन्छ ।

प्राचीन इतिहासअनुसार अवतार धारण गरेर उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरूको पञ्जामा फसेर वीभत्स भएको मानवताको उद्वारका लागि भगवान् कृष्णले वैकुण्ठको मोह त्यागेर कंशको कारागारमा बन्दी भएर अवतार धारण गर्नुभएको थियो । सोही भावका आधारमा श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै आइएको शास्त्रमा उल्लेख छ ।

कसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्मभएको धार्मिक मान्यता छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वासका रहँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?