पाल्पामा सिजी सिमेन्ट उद्योगको मनपरी, सम्झौता लत्याएर स्थानीयलाई सास्ती

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले मनपरी रुपमा काम गर्ने गरेको पाइन्छ । नेपाल सरकार भौतिक मन्त्रालयसँगको सम्झौता अनुसार काम सुरु गरेको उद्योगले स्थानीयहरुलाई असर नपुग्ने गरि काम गर्ने भनेको भए पनि सम्झौता अनुसार गतिबिधि नगरेको आरोप लागेको हो ।

पहाड नै कुरुप बनाउँदै दैनिक हजारौं टन चुनढुङ्गा र क्लिङ्कर खपत गर्ने उद्योगले न स्थानीयलाई रोजगारीमा महत्व दिएको छ न त उद्योगका कारणले पर्ने वातावरणीय प्रभावका बारेमा केहि सम्बोधन नै गरेको छ । उद्योगबाट निस्किने धूलोधूवा, तीब्र गतिमा टिपर सञ्चालन, जथाभावी फोहोर जस्ता कुराले वातावरणीय प्रदुषण बढ्दै गएकोले स्थानीय मर्कामा परेका छन् । मापदण्ड भन्दा बढी चुनढुङ्गा र क्लिङ्कर बोकेर दैनिक दर्जनौको संख्यामा सञ्चालन हुने उद्योगका टिपरहरुले सडक तहस नहस बनाएको मात्र छैन उद्योग नजिकै रहेका घरहरु समेत बस्न लायक अवस्थामा छैनन् ।

धूलोधूवा नियन्त्रण गरिदिनका लागि पटक-पटक उद्योगसँग आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय केशव पोखरेलले बताउनुभयो । सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको उहाँको गुनासो छ । मेहनत गरेर लगाइएको तरकारीमा समेत सिमेन्टको धुलो पत्रैपत्र भएर बस्छ जसले गर्दा खाना लायक नै नभएको पोखरेलले बताउनुभयो । सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण सञ्चै भएको मान्छे विरामी भएर अस्पताल हिड्नु परेको छ । यहाँ घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले समेत घाँस खान छाडेका छन् । स्थानीयले उद्योग सञ्चालक र प्रशासनलाई पटक-पटक प्रदूषणबारे ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ दुवै पक्षले गरेका छैनन् ।

कम्पनीका महाप्रबन्धक पदमबहादुर सिंहले भने आफुहरुले वातावरण प्रदुषण नहोस् भन्नको लागि सबै किसिमका उपायहरु अवलम्वन गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘शून्य धूलो-धुवाँ होस् भन्ने चाहना स्थानीयको छ, तर उद्योग सञ्चालन भइसकेपछि र गाडी गुड्न थालेपछि त्यस्तो सम्भव हुँदैन तर पनि हामीहरुले वातावरण प्रदुषण नहोस् भन्नका लागि सबै किसिमका काम गरेका छौं, हाम्रोतर्फबाट कुनै कसुर बाँकी छैन ।’

स्थानीयले भने उद्योगले मनपरी ढंगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरी वातावरणीय प्रदुषण बढाएको भन्दै काममै अवरोध गरेका छन् । उनीहरुले शनिबार साँझादेखि उद्योगमा ताला लगाएर काम ठप्प पारेका हुन् । पटक-पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरे पनि कम्पनीले बेवास्ता गरेका कारण उद्योग प्रशासनमा तालाबन्दी गर्नु परेको स्थानीयको भनाई छ । कम्पनीले आफ्ना मागप्रति बेवास्ता गरेकाले तालाबन्दी गर्नु परेको स्थानीय केशव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘कम्पनीले आफ्नो उत्पादनलाई मात्र प्राथमिकता दिएको छ तर मानव स्वास्थ्यप्रति पुरै बेवास्ता गरेकाले स्थानीयहरु एक भएर उद्योग बन्द गराइएको हो ।’ यो समाचार तयार पार्दासम्म उद्योगको ताला खोलिएको छैन ।

उद्योगले जवरजस्ती आफ्नो गतिबिधि अगाडि बढाएका कारण स्थानीय तहका जनप्रतिनिधि पनि दिक्क बनेका छन् । ‘सिमेन्ट प्रालिसँग स्थानीयहरु असन्तुष्ट हुनुहुन्छ ।’ स्थानीयको गुनासो सुनेका रैनादेवी छहरा गाउँपालिकाका-२ वडाअध्यक्ष दानबहादुर पौडेलले भन्नुभयो ‘यहाँको समस्या र गुनासोका विषयमा उद्योगसँग छलफल गरिरहेका छौं, तर पनि सहमति हुन सकेको छैन ।’ उहाँले जनतालाई असर पुग्ने गरी काम नगर्न कम्पनीलाई आग्रह गर्दै आए पनि पटक-पटक समस्या दोहोरिने गरेको बताउनुभयो । स्थानीय र कम्पनी बीच सहमति जुटाउने प्रयास भए पनि त्यो सफल हुन नसकेको उहाँको भनाई छ । पौडेलले भन्नुभयो ‘धूलोधूवाबाट स्थानीय आजित भइसकेका छन्, यसतर्फ कम्पनीले ध्यान दिनुपर्छ ।’

विशेष गरी उद्योग आसपास रहेका रिब्दीकोट गाउँपालिका-१ को जोगिथुम, करेचौंर, भाती, रैनादेवी छहरा गाउँपालिका-२ को सोमादी, सर्देवा, छत्रादी, भूतखोला, भोटानी, सिद्देश्वरलगायतका गाउँका बासिन्दामा प्रत्यक्ष असर गरेको छ । उनीहरुले आफ्ना माग पुरा नहुँदा सम्म काम ठप्प पार्ने चेतावनी दिएका छन् । यहाँका स्थानीयहरुले यस अघि पनि आफ्ना मागहरु राख्दै उद्योगको काम ठप्प पारेका थिए । उनीहरुले प्रभावित क्षेत्रका नागरिकहरुलाई क्षतिपूर्ति दिनुपर्ने, धूलोधूवा नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन् । त्यसो त समय समयमा उद्योगविरुद्ध हुने विरोधहरु अन्तत आर्थिक लेनदेनमा मिल्ने गरेको गुनासो पनि सुनिने गर्दछ । स्थानीय प्रहरी, प्रशासनलाई पनि यस्ता आन्दोलनले आर्थिक लाभ हुने गरेको आरोप समेत लाग्ने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?