तरकारी बेचेरै स्वावलम्बी बनेका महिलाहरु भन्छन् : घर खर्चलाई श्रीमानको मुख ताख्नु पर्दैन

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । ग्रामीण महिलाहरुको प्रमुख आयश्रोतको माध्यम मौसमी तथा बेमौसमी तरकारी बनेको छ ।

बाल बच्चा पढाउन, घर खर्च धान्ने कुनै बिकल्प नभएपछि स्थानिय महिलाहरू गमगढी बजारमा हरियो साग बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं ४ कार्कीवाडा गाउँकी राज्यलक्ष्मी सेजुवालले वर्ष भरी साग बेचेर लाखाैँ रूपयाँ आम्दानी गर्दै आउनु भएको छ ।

एका विहानै गमगढी बजारमा आएर तरकारी साग बेच्ने उहाँको दैनिकी बनेको छ । बजारबासीका घर तथा पसलहरुको दैलो, दैलो गएर साग बेच्दै पैंसा कमाउने गर्नुभएको छ ।

बर्ष भरी साग बेचेर साढे ३ लाख भन्दा बढी रकम कमाई हुने सेजुवाल बताउनु हुन्छ । घरमा सबै बेरोजगार भएपछि आफुले तरकारी, साग खेती रोजेको उहाँ भन्नुहुन्छ बालबच्चा पढाउन, र घरको सबै खर्च तरकारी बेचेरै चलाउँछु ।

छायाँनाथ रारा वडा नं ५ ढुमकै अर्की कृषक राममाया रोकायाले पनि तरकारी खेतीबाट बर्सेनि लाखौ रूपयाँ कमाउँदै आउनु भएको छ । 'मैले ३ हजार बर्गमिटर क्षैत्रफलमा बन्दा लसुन, साग, प्याज,गाँजर खेती गर्दै आएको छु, दुःख गरे अनुसारको कमाईले गाउँमा घर बनाएको र घर परिवारको सम्पूर्ण खर्च यही तरकारी बेचेर आएको आम्दानीले धानेको छ,' उहाँ सुनाउनु हुन्छ ।

'तरकारी खेती गरेको बर्षौ बित्यो तर कतैबाट बिउ, बिजन, मल, ग्रिन हाउसका पाल, लगाएत अन्य कृषि औजारको सहयोग कुनै सरकारबाट पाएको छैन' रोकायाको गुनासो छ ।

हिउँदमा त तरकारी नकुहिने भएकाले कोल्ड स्टोरको आवश्यकता पर्दैन तर वर्षा ऋतुमा तरकारी धेरै हुँदा जग्गा मै लाखौंको तरकारी कुहिने समस्याले बर्सेनि ठुलो घाटा बेहोर्दै आएको दुखेको सुनाउँदै रोकाया भन्नुहुन्छ 'कतैबाट चिस्यान घरको सहयोग पाए तरकारी स्टोर गरि राख्दा सजह हुने थियो र जहिले पनि तरकारी बजारमा बेच्न सकिने थियो ।'

कोल्ड स्टोरको लागि धेरै संघ संस्था धाँए तर कतैबाट सहयोग पाईएन रोकायाले गुनासो गर्नुभयो ।

बजार अलि टाढा भएकाले डोकोमा तरकारी बोकेर जाँदा असजिलो हुने र बिक्रि नहुन्जेल थाप्लोमा दिनभर डोको बोक्नु पर्छ, सरकारले हामी कृषकले उत्पादन गरेका कृषि उपजहरू बेच्नको लागि गमगढीमा हाडबजारको ब्यबस्था गरेको खण्डमा सहज हुने रोकायाको थप भनाई रहेको छ ।

छायाँनाथ ३ निगाले गाउँकी कृषक पन्चा देबी खड्काले सागपात बेचेर बर्षमा ४ देखि ५ लाख जति कमाई हुने गरेको बताउनु भयो । मौसम अनुसारको दिनभर साग , काउली , बन्दा फुलकाउली, भाजी, चमसुल, पालुङ्गो बन्दा तरकारी लसुन ,प्याच, तितेकरेला, बोडी, काक्रा गाँजर, सागको उत्पादन गरि डोकोमा बोकेर एक घण्टा गमगढी पुगी बेच्ने गरेको खड्काले बताउनु भयो ।

मिहिनेत गरे कसैको मुख ताक्नु पर्दैन,श्रीमानसँग खर्च माग्नु नपर्ने हुँदा समस्या टार्न अत्यन्तै सजिलो भएको छ तरकारी बेचेर कमाएको पैसाले आफ्नो ६ जनाको परिवारको खर्च गरी बाँकी बचेको पैसा बैङकमा जम्मा गरेकी छु खड्का भन्नुभयो ।

छायाँनाथ ४ पातर खोलामा तरकारीका खेती गर्ने कविराज रावल र युवराज रावलले पनि तरकारीबाट लाखौको आम्दानी गरेको र घर खर्च धानी बाल बच्चाको पढाइ लेखाइ गर्दै आएकोले कोही कसैको मुख ताक्नु नपरेको सुनाउनु भयो ।

पातर खोला तरकारी बालीको पकट क्षेत्र बन्न सक्ने प्रवल सम्भावना भएको भएपनि हालसम्म त्यहाँका कृषकहरूले सरकारी अनुदानका केही पनि सुबिधा नपाएको गुनासो छ ।

प्रदेश तथा स्थानिय सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरूले वास्तविक कृषक पहिचान गरि सहयोग गर्नुपर्ने देखिन्छ । जिल्लामा बेरोजगारीको समस्या बढ्दै गएपछि छायाँनाथ राराकी महिलाहरूले तरकारी खेतीलाई प्रमुख व्यवसायको रुपमा अंगाल्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?