नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा ‘विजयोत्सव’ निकालिँदै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा भोली विहीबार पाल्पाको तानसेनमा निकालिँदै छ । वि स १८७१ देखि १८७२ भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाईदै आएको हो ।

कहिंँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी बिजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारको क्रममा हिंडेको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली विरताको इतिहांस रचेको थियो ।

पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताको साथ लडाई लडेर विजयको झण्डा फहराएको हो । नेपालले वि.सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको संम्झनामा वि.स. १८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ ।
कर्णेल उजिर सिंह थापाले जितगढीमा विजय प्राप्त गरें पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्नेछु भनी भाकल गरेको र लडाई जितेपछि १८७६ मा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गर्नुभएको थियो ।

हरेक वर्ष कुमाल समुदाय बाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवती जात्रा हेर्नका लागि गाउँ–गाउँबाट मानिसहरुको आउँदै छन् । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै आजको दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । तानसेनमा छिमेकी जिल्ला गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, कविलवस्तु लगायतका स्थानहरुबाट भगवती रथको दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ । यस बर्षको रथजात्रामा प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको विशेष उपस्थिति रहने छ । यस अघि भगवती व्यवस्थापन समितिले राष्ट्रपति रामचन्द्र पौड्याल आउने भनिए पनि अस्वस्थताका कारण नआउने हुनुुभएको छ । यो बर्ष दुई सय ३ औं विजयउत्सव मनाउँन लागिएको समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनुुभयो ।

विजय उत्सवको अघिल्लो दिन ८ बजे देखि मन्दिरमा विधिवत पुजा शुरु गर्ने, भजन कृर्तन गर्ने, राती साढे ११ बजे देखि पौनी १२ बजे भित्र बजार घुमाउने रथलाई ३ पटकसम्म परिक्रमा गराउने र भगवतीको मुर्ति राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ । भदौ २१ गते साढे १२ बजे देखी १ बजेको बिचमा विजय उत्सव स्वरुप भगवतीको रथ उठाइने छ ।

जात्रालाई भव्य बनाउन सवारी साधन चढेर आउने यात्रुहरुको लागि आते जातेमा ५० प्रतिशतसम्म छुट गरिएको छ भने होटलको खाना र बस्नको लागि १५ प्रतिशतसम्म छुट गरिएको अध्यक्ष महर्जनले बताउनुुभयो । जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरेको थियो । निश्चित जात्रा निकाल्ने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको प्रदेश सरकारले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?