एमाले पार्टीभित्र विस्फोट हुन्छ : खनाल

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले)भित्र विस्फोट र विद्रोह हुने जिकिर गर्नुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने पनि दाबी गर्नुभयो । एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उहाँले उल्लेख गर्नुभयो । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उहाँको भनाइ थियो । नेता खनालले भन्नुभयो, ‘देशव्यापी रूपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ । विभिन्न खालका विस्फोट र विद्रोह हुन सक्छन् । यसकारणले हामी सही कार्यदिशा लिऊँ । सही विचार लिऊँ । र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ । यसलाई व्यापक बनाएर लैजाऔँ ।’

उहाँले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले एमाले राप्रपा, लोसपा र कांग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताउनुभयो । एमाले भयानक अलमलमा रहेको पनि उहाँको टिप्पणी थियो ।

नेता खनालले एमसिसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरू नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरू नेपाल आएर सबभन्दा पहिले तिब्बती शरणार्थीहरूलाई भेटिरहेका उहाँको भनाइ थियो । उहाँले अमेरिकीहरूको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चीनसँग जोडेर पनि हेर्नुपर्ने बताउनुभयो ।

‘पावर ट्रेड एग्रिमेन्ट’का डकुमेन्टहरू जनतासमक्ष ल्याऊँ
एकीकृत नेकपा समाजवादीका नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने ‘पावर ट्रेड एग्रिमेन्ट’ का डकुमेन्टहरू जनतासमक्ष ल्याउन सरकारसँग माग गर्नुभएको छ । उहाँले त्यस्ता डकुमेन्ट जनता र संसद्बाट अनुमोदन गराएर मात्रै गर्नुपर्ने पनि बताउनुभएको छ । नेता खनालले नेपालमा उत्पादन हुने बिजुली किन्न छिमेकी देश चीनसमेत तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको जिकिर गर्नुभयो । खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा समेत सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली भारतलाई बेच्न लागेको सुनिएको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने बताउनुभयो । नेता खनालले चीनलाई समेत बिजुली बेच्न सकिने भन्दै भन्नुभयो, ‘चिनियाँहरूसँग कुरा गर्दा के भन्छन् भने तपाईंहरू कति बिजुली निकाल्नुहुन्छ हामी जम्मै बिजुली किन्छौँ । र, अरूले जति मूल्य दिन्छन् त्योभन्दा राम्रो मूल्य दिन्छौँ भनिरहेका छन् तर हाम्रो प्राथमिकता कता छ ?’, प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘२५ वर्षका निम्ति भारतलाई बिजुली दिने सम्झौता गर्ने भनेको सुनिँदै छ । यो त प्राकृतिक स्रोतसाधन हो । प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा हाम्रो संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने छ । त्यो आकर्षित हुन्छ कि हुँदैन ? यो बारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु आएको छैन ।’

माओवादीमा जान्नँ : वामदेव गौतम
पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफू नेकपा (एमाले) र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र)मा जान नसक्ने बताउनुभएको छ । उहाँले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो । गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनुभयो । उहाँले सशस्त्र युद्ध कालमा राम्रा र नराम्रा काम दुवै भएको भन्दै प्रधानमन्त्री प्रचण्डले पीडितका घरघरमा माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पार्नुभयो ।

राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभई गल्ती भएको उहाँको जिकिर थियो । नेता गौतमले नेकपा (एमाले)ले ७० वर्षे उमेरहद नहटाएको दाबी गर्नुभयो । उहाँले उमेरहद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताउनुभयो ।

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवादभन्दा अरू केही नरहेको उहाँको टिप्पणी थियो । पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसिसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?