शिक्षासेवी तथा समाजसेवी दाजु देवीचन्द्र जोशीका प्रति

हिमालय टाइम्स
Read Time = 20 mins

✍️ नन्दकृष्ण जोशी

गाउँका पुराना ज्योतिष स्व.हर्कदेव जोशीले दाजु देवीचन्द्र जोशीका बारेमा चिना उतार्दै भनेका थिए रे-‘यो बालक भविष्यमा कि त राजा भएर काम गर्नेछ कि त जोगी भएर भिख माग्नेछ ।’ ज्योतिषको भनाइ कालान्तरमा पुग्न गएछ । बझाङ जिल्लाको उत्तरपूर्वमा तलकोट दरा छ । ठूलो गाउँबस्ती भएको ठाउँलाई प्रशासनिक हिसाबले विसं २०२०/०२२ सालसम्म दरा भनिन्थ्यो । धेरै दराहरू छन् जिल्लामा । आठबीस दरा, पन्ध्रबीस दरा, छबीस दरा, नौबीस दरा आदि । तलकोट दराको विशेषता बेग्लैछ । पूर्वमा बाजुरा, उत्तरमा साइपाल हिमाल, बीचमा हिमनदी सेती, दक्षिणपूर्वमा मालिका भगवती, जताततै हरियाली वन जंगलले बेष्ठित भूभागको नाम हो तलकोट ।

कोटमा परापूर्व कालदेखि रजबारहरूको बस्ती छ । जसको सम्बन्ध कुनै बेला बझाङ्गी राजा र दरबारसँग पनि थियो । पञ्चायतको पूर्वार्धमा गाउँघरका सम्पूर्ण झैझगडा त्यही कोटमा मिलाउने गरिन्थ्यो । एक किसिमको राजनीतिक केन्द्रबिन्दु थियो कोट । भूपूप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ससुराली पनि तलकोटमा नै हो । तत्कालीन तलकोटी राजा जंगबहादुर सिंहले तलकोट खौला नामक ठाउँमा वि.सं. २००६ सालताका बालबालिकालाई जम्मा गरी थलारा प्राइमरी विद्यालय स्थापना गरे । हालको दुर्गा भवानी उच्च मावि त्यही विद्यालयको विकसित रूप हो ।

निडर र हक्की स्वभावका जोशीले हालका साइपाल र तलकोट गाउँपालिकाका धेरै गाउँबस्तीमा ससाना बालबालिकाका लागि विद्यालय स्थापनाको योजना गरिदिनुभयो । त्यसैले पनि जिल्लाभरि शैक्षिक र सामाजिक क्षेत्रमा देवीचन्द्र जोशीको नाम तलकोटवासी र बझाङ जिल्लावासी मर्यादित रूपमा लिने गर्दछन् ।

प्राइमरी स्तरको सो विद्यालयलाई मावि स्तरमा रूपान्तरण गर्नका लागि देवीचन्द्र जोशीले विसं २०३५ सालमा तलकोट दराका जनताको हस्ताक्षर संकलन गरी राजदरबारमा बिन्तीपत्र चढाउनुभयो । तत्कालीन राजा वीरेन्द्रसँग भेट गरी त्यस क्षेत्रको शैक्षिक र सामाजिक अवस्थाका बारे जानकारी पनि गराउनुभयो । विसं २०३७ सालमा शिक्षा मन्त्रालयबाट माविको कोटा हालको दुर्गा भवानी र तत्कालीन दुर्गा भवानी मिडिल स्कुलको नाममा प्राप्त भयो ।

बझाङ जिल्ला सामन्ती संस्कारमा हुर्किएका केही ठूलाबडाले अधिकांश सोझा र गरिब जनतालाई शोषण र दमन गर्दै आएको बाइसे राज्य रजौटाअन्र्तगत पर्ने पिछडिएको जिल्ला थियो । अझ तलकोट त अत्यन्त पछाडि परेको जिल्लाकै गरिब बस्ती भएको ठाउँका कारण सदरमुकाम र सामन्ती संस्कार भएका व्यक्तिले हेप्दै आएकोले दरबारबाट प्राप्त कोटा तलकोटको विद्यालय पुग्न मुस्किल प¥यो । विसं २०३७ सालमा उहाँले सदरमुकाम र जि.शि.नि. कार्यालयमा विद्यालयको मावि कोटाको लागि ठूलो क्रान्ति गर्नुभयो । उहाँलाई दमन गर्ने र पिट्न आउने मान्छेलाई निडरता पूर्वक प्रतिकार समेत गर्नुभयो ।

त्यस बेलाका पञ्चहरूले सो कोटा अन्तै लिन खोजेकाले उहाँले सो कुरा थाहा पाएर सदरमुकाममा क्रान्तिकारी कदम अपनाएको सस्मरण तत्कालीन जिल्ला पञ्चायतका सभापति नवराज जोशी, पछिल्लो अवस्थाका उपसभापति मोतीराम खड्का, केही वर्ष पहिले कांग्रेसमा प्रवेश गरेका नेता दीपकबहादुर सिंहको भनाइ छ । निकै ठूलो चलाखी र विवेकले उहाँले तलकोट दरामा मावि कोटा भित्र्याउनु भयो । दश वर्षसम्म प्रअका रूपमा सेवा गरेका उहाँका कयौ विद्यार्थी नेपालका धेरै ठाउँमा सफल व्यवसायी, प्रशासक र शिक्षासेवी बनेका उदाहरणहरू छन् । विद्यालयमा विद्यार्थी संख्या थोरै थियो । तत्कालीन माविनिलाई विद्यार्थी संख्या देखाउनु पनि थियो ।

यसका लागि गाउँगाउँमा गएर हरेक उमेरका व्यक्तिलाई विद्यालयमा भर्ना गराएर शैक्षिक क्रान्ति गर्नु आफैंमा नमुना थियो । कोटका मैया (रजबार र चौतारीयाका छोरी)लाई बाहेक अरू जातका चेलीबेटीलाई पढाउने चलन थिएन । त्यो प्रचलनलाई उहाँले अन्त्य गरिदिनुभयो । एक घर एक चेलीको अवधारण ल्याएर दुर्गा भवानी माविलाई जिल्लाकै नमूनाका रूपमा देखाउनुभयो । साथै काठमाडौं, दार्जिलिङ, धरान, धनकुटाबाट पनि शिक्षकहरू ल्याएर दुर्गा भवानी माविलाई शैक्षिक चेतनाको मन्दिर बनाएको इतिहास तलकोटवासीले सम्झिरहन्छन् ।

निडर र हक्की स्वभावका जोशीले हालका साइपाल र तलकोट गाउँपालिकाका धेरै गाउँबस्तीमा ससाना बालबालिकाका लागि विद्यालय स्थापनाको योजना गरिदिनुभयो । त्यसैले पनि जिल्लाभरि शैक्षिक र सामाजिक क्षेत्रमा देवीचन्द्र जोशीको नाम मर्यादित रूपमा लिने गर्दछन्, तलकोटवासी र बझाङ जिल्लावासीहरू । करान भेग (अति दुर्गम) बाट काठमाडौंमा उच्च शिक्षा अध्यायनका लागि वि.स. २०२९ सालमा प्रवेश गर्ने उहाँ दोस्रो व्यक्ति हुनुहुन्थो । सानोठिमी क्याम्पस भक्तपुरमा आइएसी एजी, बिएसी एजी उत्तीर्ण गर्दा उहाँले पाएका दुःखको पोको खोल्ने हो भने आँसु खस्छ, मन पग्लिन्छ ।

घरबाट दाजु शुकदेव उपाध्यायले दिएको उच्च मनोबल, काठमाडौं गोकर्णेश्वरस्थित सहयोगी माविका त्यसबेलाका प्रअ स्व.वासुदेव पौडेल र तत्कालीन स्वास्थ्यमन्त्री वीरेन्द्रबहादुर सिंहको सकरात्मक भावनाका कारण दाजु देवीचन्द्रले उच्च शिक्षा हासिल गर्नुभएको थियो । त्यही शैक्षिक बलका कारण जिल्लाको कुनामा रहेको तलकोट दरामा मा.वि. तहको विद्यालय स्थापना गरेर जिल्लामा नै ठूलो ख्याति कमाउनुभयो ।

सामान्य गरिब परिवारमा जन्मेको व्यक्तिले यति ठूलो शैक्षिक क्रान्ति मोल्नु र समाज रूपान्तरण गर्नुलाई ज्योतिष हर्कदेवले बोलेका विचारसँग मेल खाएको देखिन्छ । राजा रजौटा र जिल्लाका प्रशासकहरूसँग कहिले झुक्न नजानेका कारण सर्वसाधारण मात्र होइन बझाङ जिल्लाका बुद्धिजीवी वर्ग पनि उहाँका अभिन्न मित्र बनेका थिए ।

नयाँ सोच र विचारका धनी उहाँलाई काठमाडौंमा आएपछि कपडा उद्योग स्थापना गर्नतिर मन लाग्यो । २०४७ देखि २०५३ सालसम्म लामाटार ललितपुरमा बामदेव कपडा उद्योग स्थापना गरी कार्य गर्नुभयो ।

कैयौं युवाहरूलाई उहाँले रोजगारी दिलाउनु भयो । नेकपा माओवादीको जनक्रान्ति सुरु भएपछि विविध कारणले सो उद्योग बीचैमा नै बन्द भयो । विसं २०५५ सालदेखि २०६५ सालसम्म मध्यमाञ्चल बस व्यवसायी संघको अध्यक्ष भएर राजधानीबाट बाहिर निस्कने र बाहिरबाट राजधानी भित्रिने प्रत्येक बसको र कर्मचारीहरूको पनि व्यवस्था गरिदिनु उहाँको तेस्रो ठूलो सफलता मानिन्छ ।

उहाँ बौद्धिक स्तरको प्रजातन्त्रवादी नेता पनि हुनुहुन्थ्यो । संवैधानिक राजाको पक्षमा जहिले पनि वकालत गर्ने भएकाले गणतन्त्रवादीहरू राजावादी भनेर अलंकार पनि लगाउने गथ्र्ये । तत्कालीन पञ्चहरूले राजालाई निश्चित घेरामा राखेर देशको विकास नभएको हो भन्दै विसं २०४३ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य पदमा विद्रोही बनेर जनतामाझ जानुभयो । कांग्रेसका पूराना नेता लोकराज र ज्योतिप्रकाश जोशीले सामान्तीहरूका अगाडि तपाईं पराजित हुनुहुनेछ भनेका थिए । परिणाम, आखिर त्यस्तै भयो । यो पंक्तिकार नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा भाग लिँदा विसं २०४२ सालमा दश महिना ललितपुरस्थित नख्खु कारागारमा थुनिदा बन्दीहरू बासु रिसाल, जगन्नाथ आचार्य, राधेश्याम जोन्छे लगायतका नेतालाई भेट गर्न बझाङदेखि आउनुभएको याद छ ।

सैगरी देशमा २०५० सालको मध्यावधि चुनावमा जनजागरण अभियानअन्तर्गत बझाङ जिल्ला क्षेत्र-१ बाट लौहपुरुष गणेशमानले यो पंक्तिकारलाई उम्मेदवार उठाउने निर्णय गर्नुभयो । लौह पुरुषको सो निर्यण मैले स्वीकार गरिन । चाक्सीवारीमा हामी दुवै दाजुभाइ गएका थियौं । दाइले मेरो निर्यणको निकै विरोध गर्दै गालीसमेत गर्नुभयो । साथै म उम्मेदवारी दिन्छुसमेत भन्नुभयो । तर, नेता जगन्नाथ आचार्यले दाइको विचार स्वीकार गर्नुभएन । राजनीतिमा यी र यस्तै धरै संवाद, परिसंवादहरू, क्रिया प्रतिक्रिया हामीबीच चलिरहन्थ्यो । उहाँ शेरबहादुर देउवाभन्दा गिरिजाबाबु नजिक हुनुहुन्थ्यो ।

तर, २०३५, २०३६ सालदेखि पंक्तिकारले वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक लाइन छोडिन् । २०४६ सालको जनआन्दोलनमा नेताहरू एनपी साउद, बलदेव बोहोरा, ताराणीदत्त चटौत, स्व.पुरषोत्तम बस्नेत, स्व.टेकबहादुर चोख्याललगायतका नेतालाई आफ्नै निवास जोरपाटी काठमाडौंमा भूमिगत रूपमा राख्नुभएको थियो । जनक्रान्ति सफल गर्न पंक्तिकार भने काठमाडौंको हनुमान ढोकामा राजबन्दीका रूपमा थुनिएका थिएँ । वामपन्थी विचारधाराका कट्टरविरोधी उहाँ बीपी कोइरालाको समाजवाद देशमा के लागू हुन सक्छ त ? भनी प्रश्न गरिरहनु हुन्थ्यो ।

२०६२/०६३ सालको जनआन्दोलनमा पंक्तिकार राजधानी लगायतका धेरै बन्दीगृहमा चार महिनासम्म नजरबन्दमा पर्दा उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । २०५८ सालमा पोखराको सराङकोटमा देउडा खेल्ने क्रममा सडकमा लडेर दाइने गोडा भाँच्चिएका कारण उहाँलाई मेरा बारे पीर परेको रहेछ । दाजुले भाइलाई देखाएको यो माया म भुल्न सक्दिन । चार वर्ष पहिले उहाँलाई कोरोनाले छोयो । मुटु रोगका कारण खानपीनमा निकै होस पनि गर्नुहुन्थ्यो । डा.अवनिभूषणले स्वास्थ्य परीक्षणको क्रममा छातीमा सानो दाग देखिन्छ, जचाँउनु होला भनी सल्लाह पनि दिनुभएको रहेछ । स्वास्थ्य ठीक भएकाले त्यतातिर ध्यान दिनुभएन ।

खुट्टा सकाराको लेकमा हिँडेर डोटीमा पुगी प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु, दुर्गा भवानी विद्यालयको सुविधाका लागि ठाडो डाँडो काटेर समथल बनाउनु, केही बेरोजगार युवाहरूलाई रोजगारी दिलाउनु, निरन्तर प्रजातन्त्रको पक्षमा मत जाहेर गर्नुजस्ता भुल्न नसकिने देनले दाजु देवीचन्द्रलाई अमर बनाउनेछ ।

परिणाम, क्यान्सरले फोक्सोमा र हड्डीमा समेत आक्रमण गरिसकेछ । गत मंसिरमा विविध लक्षण देखा परेपछि परीक्षणका लागि दिल्लीस्थित राजीवगान्धी अस्पतालमा भाउजू सुजना, छोराहरू पवन र मिलन साथमा लिएर उपचार गराउनुभयो । तीन महिनासम्म उपचार गराउँदा सञ्चो हुने लक्षण नभएपछि काठमाडौं फर्किनुभयो र ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा भर्ना गरेर चार महिनासम्म उपचार गरियो । समय-समयमा किमोथेरापी गर्दा उहाँको शरीर गलिसकेको थियो । परिवारका सबै सदस्यहरूले उपचार गर्न कुनै कसर बाँकी राखेका थिएनौं ।

बूढानीलकण्ठस्थित घरमा बडो पीडाको जिन्दगी बिताइरहेको देख्दा हामी सबैलाई पनि असैहृय पीडा बोध हुन्थ्यो । नाकबाट पाइपको सहायतले झोलिलो खानेकुरा पठाएर रोगसँग लडिरहनुभएको दृश्य म भुल्न सक्दिन । दुई महिनादेखि बोली बन्द भयो । हृष्ठपुष्ट शरीर दुब्लाएर हाड र छालामात्र बाँकिरहेको देखिन्थो । क्यान्सर रोगसँग लड्न सक्ने शक्ति पूरै क्षीण भइसकेकाले हामी पनि किंकर्तव्य विमूढ जस्तै भएका थियौं ।

नेपाल सरकारले क्यान्सर रोगीको उपचारका लागि दिइने भनिएको सहुलियतका लागि प्र.म.निवास बालुवाटारमा पंक्तिकार लगायत एक प्रतिनिधि मण्डल पुगेर प्र.म.प्रचण्डको हातमा निवेदन र उपचार गर्दाको खर्चको फाइल हस्तान्तरण गरेका थियौं । धेरै पटक फोन सम्र्पक गर्दा पनि प्रधानमन्त्री निवासबाट कुनै जवाफ आएन । आजसम्म आर्थिक सहायतका लागि हालसम्मका कुनै पनि सरकारका अगाडि हात नथापेको हुँदा नूर गिरेको अनुभूति भइरहेछ मलाई ।

नेपालमा दिनप्रतिदिन क्यान्सर रोगी र मुटु रोगी बढिरहेछन् । खानपिनका कारण पनि हुनसक्छ । कृषि प्रधान देश भएर पनि मिसावट खाद्यन्न बाहिरी मुलुकबाट भित्रिनु देशका लागि घातक हो । हरेक कुरामा मिसावटले के नेपालीहरू दीर्घजीवी बन्न सक्छन् र ? केही दिन पहिले नेकाकी महिला नेत्रृ हरिप्रिया पाण्डेको पनि क्यान्सरका कारण दुःखद् निधन भयो । क्यान्सर रोगलाई रोक्नु परिवार, समाज, राष्ट्र र सरकारको पनि कर्तव्य हुन आउँछ ।

दुई महिनायता बझाङ जिल्लामा दुईजना प्रतिष्ठित व्यक्ति प्रदेश-७ का कानुनमन्त्री पृथ्वीबहादुर सिंहको परिवारसहित सडक दुर्घटनामा मृत्यु भयो । यसैगरी समाजसेवी र शैक्षिक क्रान्तिका अगुवा देवीचन्द्र जोशीको क्यान्सर रोगका कारण दुःखद् निधन हुँदा जिल्लाले अपूरणीय क्षति ब्यहोर्नु परेको छ । हालको तलकोट गाउँपालिका वडा-४ वेदकाली गाउँमा विसं २००५ साल चैत १७ गते पिता जगदीश जोशी (तिमिल्सिना) र आमा गंगामतीदेवीका कोखबाट जन्मनुभएका देवीचन्द्र जोशी तलकोटवासीका शैक्षिक र सामाजिक क्षेत्रका अभिभावकका रूपमा हुनुहुन्थ्यो ।

तत्कालीन अवस्थामा डोटी जिल्लामा प्रवेश परीक्षा दिन जानुपथ्र्यो । सदरमुकाम चैनपुरस्थित श्री सत्यवादी माविमा प्रवेशिका परीक्षाको केन्द्र थिएन । खाली खुट्टा सकाराको लेकमा हिँडेर डोटीमा पुगी प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु, दुर्गा भवानी विद्यालयको सुविधाका लागि ठाडो डाँडो काटेर समथल बनाउनु, बडेबडेमानका ढुंगाहरू फोरेर विशाल चौर बनाउन लगाउनु, केही बेरोजगार युवाहरूलाई रोजगारी दिलाउनु, निरन्तर प्रजातन्त्रको पक्षमा मत जाहेर गर्नुजस्ता भुल्न नसकिने देनले दाजु देवीचन्द्रलाई अमर बनाउने छ । यही भाद्र १६ गते बिहान ३ः४५ बजे बूढानीलकण्ठस्थित निजी निवासमा परलोक हुनुभएका दाजुको आत्माको चिरशान्तिको हामी कामना गर्दछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?